
नेपालवाणी / जनकपुरधाम
भगवान रामको जन्मभूमि अयोध्या देखि जानकीको जन्मस्थल जनकपुरधाम सम्म जोड्ने सडक मार्ग निर्माण हुने भएको छ । भारत सरकारले राम जन्मभूमि भारत उत्तर प्रदेशको अयोध्या देखि नेपालको मधेश प्रदेशको मुकाम जनकपुरधाम स्थित सीताको जन्मभूमि जनकपुरधाम सम्म चारलेन रामजानकी मार्ग सडक निर्माण गर्ने भएको हो ।
भारत सरकारको केन्द्र सरकारका सडक परिवहन एवं राजमार्ग मन्त्री नितिन गडकरीले बिहार सरकारका पथ निर्माण विभाग मन्त्री नितिन नवीनलाई पत्र लेखेर यसको जानकारी गराएका हुन् । पीएम प्याकेज बिहार–२०१५ अन्तर्गत यस मार्गको २०० किलोमिटर उक्त भागलाई चार लेनको सडक बनाउने काम एनएचआईले गरिरहेको छ । जसको लागि बिहार सरकारले केन्द्र सरकारसँग स्वीकृति मागेको थियो । जसको स्वीकृति सहितको पत्र केन्द्र सरकारले विहार सरकारलाई जानकारी गराएको हो ।
बिहार राज्यको राम जानकी मार्गको ४ लेनको मापदण्ड अनुसार विकास गरिने छ । राम जानकी मार्ग उत्तर प्रदेशमा भगवान रामको जन्मस्थल अयोध्याबाट शुरु भएर जनकपुरमा अन्त्य हुनेछ । माता सीताको जन्मस्थल बसन्ती बहालगंज बिहार राज्यको महराउना घाट, सिवन चाकिया, सीतागढी, भिठामोड हुँदै जनकपुरमा अन्त्य हुने पत्रमा उल्लेख गरिएको छ ।
‘रामजानकी मार्गको धार्मिक महत्व र तपाईंको अनुरोधलाई स्वीकार गर्दै यस राजमार्गको बिहार राज्यको सम्पूर्ण भाग ४ लेनको बनाउने निर्णय भएको छ भन्ने कुरा खुशीका साथ जानकारी गराउन चाहन्छु’ पत्रमा लेखिएको छ । रामजानकी मार्ग उत्तर प्रदेशको सिमानामा रहेको मेहरौनाबाट सुरु भएर सीतामढी जिल्लाको नेपाल भारत सीमाको भिठामोड सम्म यसको लम्बाइ लगभग २४० किलोमिटर हुनेछ ।