काठमाडौं : नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ । एक महिनाअघि सम्पन्न जनगणनाको प्रारम्भिक तथ्यांकअनुसार कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको बुधबार तथ्यांक विभागले जानकारी दिएको हो ।

तथ्यांकअनुसार महिलाको संख्या पुरुषको भन्दा बढी छ। महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ र पुरुष १ करोड ४२ लाख ९१ हजार ३११ छ।

अघिल्लो पटकको तुलनामा जनसंख्या वृद्धिदर घटेको विभागले जनाएको छ । विभागका अनुसार यसपटक ०.९३ प्रतिशत वृद्धिदर छ । अघिल्लोपटक एक प्रतिशतभन्दा बढी जनसंख्या वृद्धिदर थियो ।

जनघनत्व १९८ जना प्रतिवर्गकिलोमिटर छ । विभागका अनुसार विदेशमा बसोबास गर्ने नेपालीको संख्या २१ लाख ६९ हजार ४७८ छ ।

विभागले यो वर्ष दुई चरण गरेर देशको जनगणना सम्पन्न गरेको थियो । यसका लागि ५० हजारभन्दा बढी जनशक्ति खटाइएको थियो ।

जनगणनाबाट सबैभन्दा बढी परिवार मधेश प्रदेशमा पाइएको छ भने सबैभन्दा कम परिवार गण्डकी प्रदेशमा छन्।

अघिल्लो पटकको जनगणनामा नेपालको जनसंख्या २ करोड ६४ लाख थियो ।


२०७८ माघ १२, बुधबार ११:३३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय