
काठमाडौं : साउथ इन्डियन (मलयालम) फिल्म ‘थिरिमाली’ ले नेपालमा राम्रो हाइप बनाएको छ ।
नेपाली अभिनेत्री स्वस्तिमा खड्काले नृत्य गरेको ‘रंग विरंगी’ गीतपछि फिल्मको चर्चासँगै विवाद पनि तीव्र छ । एकातिर स्वस्तिमाको नृत्यको चौतर्फी प्रशंसा हुँदा अर्कोतिर नेपाललाई कोठीको रुपमा प्रस्तुत गरिएको भन्दै गीतको आलोचना भइरहेको छ । फिल्मको ठूलो हिस्सा नेपालमा खिचिएको छ ।
प्रदर्शन मिति घोषणा नगर्दै टिजर र गीत सार्वजनिक गरिसकेको निर्माण टिमले बिहीवार दोस्रो गीत ‘थेदुन्नू’ सार्वजनिक गरेको छ । गीत नेपाली र मलयाली भाषामा बनेको छ । मलयालम भागको शब्द विवेक मुजक्कुन्नूले लेखेका छन् भने नेपाली रचनाकारमा अनुप न्यौपाने छन् । गीतको मलयालम पार्ट श्रीजीत एडवानाले गाएका छन् । नेपाली भाषामा भने सागर कामीको स्वर रहेको छ ।
गीतको भिडियोमा फिल्मका तीन मुख्य कलाकारहरु कसैको खोजीमा काठमाडौंदेखि पोखरासम्म भौतारिरहेको देख्न सकिन्छ । गीतको अडियो बलियो छ । एक नेपाली साथीको खोजीमा भारतबाट नेपाल आएका तीन जना साथीको कथामा निर्माण भएको फिल्ममा नेपाली कलाकारहरु माओत्से गुरुङ र उमेश तामाङको विशेष भूमिका छ । स्वस्तिमा भने एक गीतमा मात्र देखिनेछिन् ।
राजीव शेठ्ठीको निर्देशनमा तयार भएको ‘थिरिमाली’ लाई गत वर्ष नेपालको पोखरा, काठमाडौं, लुक्लामा छायांकन गरिएको थियो । हिन्दी, मलयालम, कन्नड, तमिल र तेलूगू भाषामा रिलिज हुने फिल्ममा भारतीय कलाकारहरु विविन जर्ज, जोनी एन्टिवनी, सलिम कुमार, इनोसेन्ट, सोहन सीनुलाल, हरीश कणरण, अन्ना राजनको अभिनय छ । फिल्मलाई फजल अलीले छायांकन गरेका हुन् ।