
जनकपुरधाम : मधेस प्रदेशमा आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले आइतबारका लागि घोषणा गरेको सार्वजनिक बिदाको आलोचना भएको छ ।
आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत प्रसाद साहले जनयुद्ध दिवसको अवसरमा आइतबार सार्वजनिक बिदा घोषणा गरेका हुन् ।
शुक्रबार साँझ मन्त्री साहको निजी सचिवालयले एक विज्ञप्ति जारी गर्दै २७ औं जनयुद्ध दिवसको अवसरमा मधेस प्रदेशभर सार्वजनिक बिदा दिइएको जनाएको छ ।
विज्ञप्तिमा बि.सं २०७८ साल फागुन १ गते आइतबारका दिन २७ औं जनयुद्ध दिवसको अवसरमा मधेस प्रदेशभर सार्वजनिक बिदा दिइएको उल्लेख छ । पत्र संख्या र चलानी नम्बर बिनाको सो प्रेस विज्ञप्ति मन्त्री साहको निजी सचिवालयले जारी गरेको छ ।
मन्त्रीपरिषद्को निर्णयबाट घोषणा हुनुपर्ने बिदा कुनै मन्त्रीको सचिवालयले जारी गरेको विज्ञप्तिको आधारमा हुनु आपत्तिजनक रहेको लोसपाका नेता उमेश मण्डलले बताए ।
उनले भने,‘माओवादी जनयुद्ध दिवसमा बिदा दिन हुने नहुने बहसको विषय हुन सक्छ । सबै विद्रोह दिवसहरु मनाउने हो कि ? तैपनि के एउटा मन्त्रीलाई बिदा घोषणा गर्ने अधिकार छ ? सरकारको निर्णय हुनु नपर्ने ? मन्त्रीको निजी सचिवालयबाट यसरी फरमान जारी गर्नु अनाधिकार भयो । पदको चरम दुरुपयोग भयो ।’
यस सम्बन्धमा प्रदेश सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले कार्यविभाजनमा बिदा घोषणा गर्ने अधिकार आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको रहेको जानकारी दिए । उनले मन्त्री साहले बिदा घोषणा गरेपनि यससम्बन्धमा मन्त्रीपरिषद्मा समेत जानकारी गराउनु पर्ने आवश्यकता रहेको बताए ।
मधेस प्रदेश सरकारले पहिलोपटक आइतबार जनयुद्ध दिवस मनाउन लागेको छ ।प्रदेश सरकारले विगत तीन वर्षदेखि माघ ५ गतेलाई मधेस बलिदानी दिवसका रूपमा मनाउँदै आए पनि जनयुद्ध दिवस पहिलोपटक मनाउन लागेको हो ।
दिवसको अवसरमा सहिद परिवारलाई सम्मान र आर्थिक सहयोग प्रदान गरिने भएको छ ।मधेसी सहिद प्रतिष्ठानले आयोजना गर्ने कार्यक्रमलाई पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
नेपालमा गणतन्त्र स्थापना तथा परिवर्तन हुनुमा माओवादी जनयुद्धको ठूलो भूमिका रहेकाले जनयुद्ध दिवस मनाउन लागिएको मुख्यमन्त्री लालबाबु राउतले बताए ।मधेस प्रदेश सरकारले दिवसका अवसरमा जनयुद्धका सहिद परिवारलाई जनही ३ लाख रुपैयाँ सहयोग उपलब्ध गराउने मन्त्री साहका प्रमुख स्वकीय सचिव विजय यादवले जानकारी दिए ।
पहिलो चरणमा प्रदेशका आठवटै जिल्लाबाट जनयुद्धका ५÷५ जना सहिदका परिवार गरी ४० परिवारलाई जनही एक लाख रुपैयाँ र सम्मानपत्र प्रदान गरिने यादवले बताए ।
पहिलो चरणमा ४० जना सहिदका परिवारलाई १ लाख र छुटेका जनयुद्धका परिवारलाई दोस्रो चरणमा २–२ लाख गरी ३ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको उनले जानकारी दिए ।अहिलेसम्म प्रदेशमा ५४३ जना सहिद तथा परिवार पहिचान भएको मन्त्री साहले बताए । उनले प्रदेशमा झन्डै ६ सय जना सहिद रहेको जानकारी दिए ।
४० परिवारको छनोट भने मधेसी सहिद प्रतिष्ठानले गरेको छ ।जनयुद्ध दिवस सरकारले मनाउन लागेकोले एक दिन सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत प्रसाद साहले जानकारी दिए ।
उनले मन्त्रिपरिषदको निर्णय अनुसार नै जनयुद्ध दिवस मनाउने र सार्वजनिक बिदा दिने घोषणा गरिएको बताए ।