जनकपुरधाम : धनुषा जिल्लामा यसपटक मतदानस्थल घटेको निर्वाचन कार्यालय धनुषाले जनाएको छ । मतदानस्थल घटे पनि मतदान केन्द्रहरुको संख्या भने वृद्धि भएको पाइएको छ ।

गत २०७४ सालमा भएको स्थानीय निर्वाचनमा जिल्लामा ३ सय २७ मतदानस्थल र ५ सय ४८ मतदान केन्द्र स्थापना गरिएकोमा यसपटक मतदानस्थल घटेर ३ सय २३ पुगेको छ भने मतदान केन्द्र वृद्धि भइ ५ सय ९६ पुगेको छ । त्यसैगरी स्थानीय तहको निर्वाचनमा धनुषामा मात्रै ४ लाख ६७ हजार ३ सय २८ मतदाता संख्या रहेका छन् । सो मध्ये २१ लाख ८ हजार ५ सय ४२ महिला तथा २४ लाख ८ हजार ८ सय ४० पुरुष र अन्य समूहका ६ जना मतदाता रहेको छ । कार्यालयका अनुसार जिल्लामा प्रमुख निर्वाचन अधिकृतको कार्यालयको साथै पालिकामासमेत निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकिएको छ भने प्रमुख निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतसमेत तोकि सकिएको छ ।

निर्वाचन कार्यालय धनुषाका प्रमुख श्रीधर पन्थीले निर्वाचनका लागि स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ७ बमोजिम धनुषा जिल्लाका लागि जिल्ला अदालत धनुषाका जिल्ला न्यायाधीश व्रजेश प्याकुरेललाई २०७८ चैत २९ गतेदेखि लागू हुने गरी मुख्य निर्वाचन अधिकृत तोकिएको बताए । त्यस्तै, निर्वाचन आयोगले औरही गाउंपालिकामा उपसचिव राजेश शशि, कमला नगरपालिकामा जिल्ला न्यायाधिवक्ता धर्म अवतार कोइराला, क्षीरेश्वरनाथ नगरपालिकामा धनुषा जिल्ला अदालतका स्रेस्तेदार विकास बस्नेत, गणेशमान चारनाथ नगरपालिकामा अधिकृत रुपेश कुमार साह, जनकनन्दनी गाउंपालिकामा उपसचिव ठूलोबाबु दाहाललाई निर्वाचन अधिकृत तोकिएको छ ।

त्यसैगरी धनुषाधाम नगरपालिकामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् को कार्यालयका अधिकृत चिरञ्जीवी गौतम, धनौजी गाउंपालिकामा उच्च सरकारी वकिल कार्यालय जनकपुरधामका उपन्यायाधिवक्ता पोषराज खनाल, नगराइन नगरपालिकामा मुख्य न्यायाधिवक्ताको कार्यालयका उपन्यायाधिवक्ता सुदीप कुमार दंगाल, बटेश्वर गाउंपालिकामा उच्च अदालत जनकपुरका उप रजिष्ट्रार उद्धव ढोडारी, मिथिला नगरपालिकामा न्याय परिषद् का उपसचिव दीपक धिताल, मुखियापट्टी मुसहरनिया गाउंपालिकामा सर्वोच्च अदालतका इजलास अधिकृत शिवहरी पौड् याललाई निर्वाचन अधिकृत बनाइएको छ ।

त्यस्तै लक्ष्मीनिया गाउंपालिकामा शिक्षा विकास निर्देशनालयका उपसचिव चुडामणि फुँइयाल, मिथिला बिहारी नगरपालिकामा उच्च अदालत जनकपुरधामका उपरजिष्ट्रार राजु पराजुली, विदेह नगरपालिकामा गृह मन्त्रालयका उपसचिव अनुज भण्डारी, शहीदनगर नगरपालिकामा परराष्ट्र मन्त्रालयका विशाल भट्टराई, सबैला नगरपालिकामा सर्वोच्च अदालतका इजलास अधिकृत बासुदेव पाण्डे र हंसपुर नगरपालिकामा सर्वोच्च अदालतका इजलास अधिकृत कर्णबहादुर राईलाई निर्वाचन अधिकृत तोकिएको छ । निर्वाचनका लागि धनुषा जिल्लामा राष्ट्रिय मान्यता प्राप्त दल सहित ३२ वटा दलहरू दर्ता भएका छन् ।

राष्ट्रिय मान्यता प्राप्त दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी सहितका ३२ वटा दल दर्ता छ ।

२०७८ चैत्र १६, बुधबार ०८:५६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय