
बर्दिबास : जनता समाजवादी पार्टी (जसपा) निर्वाचनको तयारीमा जुटेको छ ।
सोमबार बर्दिबासमा मधेश प्रदेश परिषदको बैठकमा पार्टीका अध्यक्ष उपेन्द्र यादवले गठवन्धन होस वा बेग्ला बेग्लै निर्वाचनमा जानु परोस हरेक परिस्थितिकोलागि तयार रह्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।
विगतका निर्वाचनहरुमा जसपा बेग्ला बेग्लै मैदानमा रहेपनि राम्रै प्रदर्शन गरेको चर्चा गर्दै आगामी दिनमा पनि हरेक परिस्थितिकोलागि तयार रहन नेता कार्यकर्तालाई निर्देशन दिए । उनले कसैको आगाडि आत्मसमर्पण नगर्ने बताउँदै मधेश प्रदेशमा सवै भन्दा बढी सीट जसपालाई चाहिएको उल्लेख गरे ।
मधेश प्रदेशका पालिकाहरुमा जसपाको विगत भन्दा राम्रो संगठन रहेको चर्चा गर्दै अध्यक्ष यादवले भने–‘मधेश जसपाको हो, यसलाई कसैले आफ्नो विर्ता नठाने हुन्छ ।’ विभिन्न समयमा भएको आन्दोलनको चर्चा गर्दै अध्यक्ष यादवले सहीदहरुको सपना सकार गर्न जसपालाई मधेशमा क्लीन स्वीप चाहिएको र यसमा नेता कार्यकर्ताहरुलाई अहोरात्र खट्न निर्देशन समेत दिएका थिए ।
बैठकमा आगामी स्थानीय तहको निर्वाचनमा जसपाले खेल्ने भूमिका र जनतामा जादा आउन सक्ने सम्भावीत प्रश्नहरुको बारेमा समेत छलफल भएको थियो ।