बर्दिबास : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले मधेश प्रदेशका बहुसङ्ख्यक स्थानीयतहमा जित हासिल गर्ने दाबी गरेको छ । महोत्तरीको बर्दिबासमा आज मङ्गलबार साँझ सम्पन्न पार्टीको मधेश प्रदेश कमिटीको पूणर् बैठकले प्रदेशका बहुसङ्ख्यक स्थानीयतहमा निर्वाचन जित्ने निष्कर्ष निकालेको हो । मधेश अबको स्थानीय निर्वाचनमा ‘लालकिल्ला’ बन्ने एमाले बैठकले दाबी गरेको हो ।

“हाम्रो पार्टीको प्रदेश बैठकको निष्कर्ष बहुसङ्ख्यक स्थानीयतह जित्ने भन्ने हो” पार्टीका स्थायी कमिटी सदस्य प्रभु साहले सञ्चारकर्मीसँग भन्नुभयो, “आसन्न स्थानीयतह निर्वाचनमा हाम्रो जितको कुरा त सत्तागठबन्धनबीचको काकोहोलोले नै बताइ रहेको छ ।” एक्लो एमालेसँग भिड्न पाँच दलीय सत्तागठबन्धन असिनपसिन भएर लाग्नुले चुनावी नतिजाको पूर्वआँकलन गरेको नेता साहको भनाइ छ ।

“सुन्नु हुँदैछ नि, परमादेशी सरकारको गठबन्धन दलहरु स्थानीय निर्वाचनमा गठबन्धन नभए एमालेले सिनित्तै पार्छ भन्दैछन्” पूर्वमन्त्री रहीसक्नु भएका नेता साहले भन्नुभयो, “उमेद्वारी दर्ता नहुँदै गठबन्धन दलहरु थुरथुरी कामेका छन् , विचराहरुको कन्तविजोग त वैशाख ३० को नतिजाले अझ मुखरित गर्नेछ ।”

नेकपा विभाजनयता पहिलो पटक सम्पन्न एमाले प्रदेश कमिटी बैठकले आसन्न स्थानीय निर्वाचनका लागि ‘चुनावी कार्य योजना’ नै पारित गरेको छ । अहिले ३२५ सदस्यीय प्रदेश कमिटीले पारित गरेको योजनामा चुनावी प्रचार कौशल, मतदाता सचेतना, प्रतिष्पर्धी दलहरुको शक्ति आँकलन, सम्भाव्य तालमेल र व्यवस्थित मतदानदेखि मतगणना र परिणाम घोषणासम्मका गतिविधि व्यवस्थित गरिन योजना बनेको सो दलको प्रदेश कमिटी सचिवालय (पदाधिकारी) ले जनाएको छ । सचिवालयमा प्रदेश अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिवसहित पाँच जना छन् ।

सम्पन्न बैठकले स्थानीयतहबारे जिल्लाजिल्लाबाट प्राप्त रिपोर्टका आधारमा जितको सुनिश्चितता भएका , कडा प्रतिष्पर्धा हुने, सम्मानजनक मत प्राप्त गर्न सकिने, अन्य बिभिन्न लोकतान्त्रिक शक्तिसँगको तालमेलले सम्मानजनक स्थान प्राप्त हुनसक्ने र अत्यन्त कमजोर जनाधार रहेका स्थानीयतहको वर्गीकरण गरेको जनाइएको छ । यसै वर्गीकरणका आधारमा तालमेल र जनशक्ति परिचालन गर्ने नीति अख्तियार गरिने एमाले प्रदेश उपाध्यक्ष रेवती पन्त बताउनुहुन्छ ।

amale_madhesh_pradesh_nepalvani (1)

प्रदेशमा एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिकासहित १३६ स्थानीयतह छन् । गत २०७४ सालको स्थानीयतह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा अपेक्षाकृत कमजोर उपस्थिति देखिएको एमालेले यसपालि मधेशमा आफ्नो पक्षमा जनलहर बढेको निष्कर्ष निकालेको छ । “२०७४ को स्थानीयतह निर्वाचनताका अनेकानेक भ्रम फैलाएर हामीलाई पस्नै नदिनेसम्मका हर्कत थिए” दलका प्रदेश उपसचिव आरती भण्डारीले भन्नुभयो, “यसपालि पर्सादेखि पूर्व सप्तरीसम्मै हाम्रो पक्षमा जनलहर छ ।” यस अवधि (२०७४ निर्वाचनयता) मा मधेशी जनतालाई भ्रमित पार्नेहरुको जालो जनताले उघारी सकेका हुँदा आपूmहरु पक्षमा जनमत हुने भण्डारीको दाबी छ ।

पार्टीका प्रदेश अध्यक्ष रामऔतार यादवको अध्यक्षतामा सम्पन्न बैठकमा पार्टीका केन्द्रीय सचिव रघुवीर महासेठ, प्रदेशबाट प्रतिनिधित्व गर्ने पार्टीका स्थायी कमिटी सदस्यहरु, पोल्युटब्युरो र केन्द्रीय कमिटी तथा केन्द्रीय आयोगका पदाधिकारी एबम् सदस्यहरुको उपस्थिति थियो । बैठकले आउँदो वैशाख-७ गतेसम्म सबै उमेद्वारबारे अन्तिम छिनोफानो गरी सकिने गरी तालिका पारित गरेको सो दलको प्रदेश सचिवालयले जनाएको छ ।


२०७८ चैत्र २९, मंगलवार २०:५५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय