नेकपा (एमाले) भित्र महोत्तरीका कार्यकर्तामा गुञ्जबहादुर खड्का स्वभावले भद्रमात्र होइन, पार्टी कामलाई महत्व दिने नेतामा गनिन्छन् । पञ्चायतकालका कठोर दिनमै सङ्गत र उठबसले वाम राजनीतिमा डोरिएका खड्का यद्यपि राजनीतिक कामबाट थाकेका देखिदैनन् । । आसन्न स्थानीयतह निर्वाचनमा महोत्तरीको बर्दिबास नगरपालिकाको प्रमुख पदमा चुनाव लड्न पाउँभन्ने खड्काको आकांक्षा देखिन्छ । पञ्चायतकालका असजिला दिनमै भर्भराउँदो किशोरवयमै कम्युनिष्ट आन्दोलनमा आबद्ध भएका ५२ वर्षीय खड्कासँग आसन्न स्थानीयतह निर्वाचनको सेरोफेरोमा हाम्रा सहकर्मी नविन साहले कुराकानी गरेका छन् । विगतमा नेकपा (एमाले) को बर्दिबासका सचिब र अध्यक्ष रही सकेका खड्का अहिले पार्टीको मधेश प्रदेश कमिटी सदस्य र पार्टीको जनसङ्गठन नेपाल भूमिहीन सुकुम्बासी सङ्गठनका केन्द्रीय उपाध्यक्ष छन् । हाम्रा सहकर्मी साह र नेता खड्कासँग भएको कुराकानीको सारसंक्षेप यहाँ प्रस्तुत छ । —सम्पादक ।

⃝  गुञ्जजी, स्थानीयततहको निर्वाचन त अब संघारमै आइपुगे जस्तै छ । के छ त नेकपा (एमाले) को तयारी ?
—खै पार्टी संस्थागत रुपमा के गर्दैछ ? म अलि अलमलमा पर्दैछु । चुनावको तयारी भन्नासाथ पार्टीभित्र संस्थागत छलफल सघन र झन बढी व्यापक पार्दै लानु पर्ने मेरो बुझाइ छ । पार्टीको स्थानीय र जिल्ला नेतृत्वका साथी केही त गर्दै होलान् । तर, के गर्दैछन् , म सरहका साथीले थाहा पाउने अवस्था छैन । चुनावको मुखमा पार्टी गतिविधि झन्झन् गुटगत र अपारदर्शी बन्दै गएका यहाँका आम साथीलाई पर्न थालेको छ । यसले कार्यकर्ता पङ्तिमा निरासा पो बढ्ने हो कि भन्ने चिन्ता छ । कार्यकर्ता पङ्तिभित्रको यो चिन्ता नेतृत्वले समयमै सम्बोधन गर्न सक्नुपर्छ । यद्यपि नेतृत्वको ध्यान त्यता गएको देखिदैन ।

⃝ तपाईंले त चुनावको मुखमा निरासा पो पोख्नु भयो त ! साँच्चै पार्टी के गर्दैछ ? यहाँ तपाईं जतिका जिम्मेवार कार्यकर्ताले थाहै नपाएको स्थिति हो त ?

—यो निरासा पोखेका हैन । यहाँको स्थिति बताएको मात्र हुँ । पार्टीभित्र आआफ्ना महत्वाकांक्षाका भुण्ड देखिन्छन् । यो अस्वभाविक र छलछामयुक्त गतिविधिले चुनावमा अपेक्षित नतिजा नदिने हो कि भन्ने चिन्ता हो । तपाईंले पञ्चायतकालको उत्तराद्र्धतिर खुबै प्रयोगमा आएको ‘भूमिगत गिरोह’ भन्ने शव्दावलि सुन्नु भएको होला । अहिले त्यो श्वदावलिको मलाई सम्झना भइराखेको छ । हेर्नोस् न, जनता एमाले वरिपरि गोलबन्द हुँदैछन् , यतिबेला पार्टी नेतृत्व फराकिलो सोचका साथ सबैका धारणा समेटेर अघि बढ्न पर्ने हो । तर, दुःखका साथ भन्नुपर्छ, हाम्रो जिल्ला र बर्दिबास नगर नेतृत्व झन्झन् सङ्कुचित हुँदो देखिदो छ । बर्दिबास नगरभित्रै १२/१३ जना प्रदेश कमिटी सदस्य छन् , पार्टीका स्थानीय गतिविधि अधिकांश साथीले थाहा नै पाउँदैनन् । आखिर जिल्ला र नगर नेतृत्वले पार्टी कुन् बाटोमा लान खोज्दैछ ? यो कुने र कोठे कानेखुशी अनि आफ्नाअनुकूल मान्छेमात्रै चलाएर चुनावको सामना कसरी गर्ने होलाभन्ने लाग्छ । ढिलो त भइसक्यो, तर सुध्रिन्छु भन्नेलाई त समय सकियो भन्ने त हुन्न । त्यसैले अझैपनि चुनावलाई मध्यनजर गर्दै नगरभित्रका सबै पार्टी केन्द्रीय नेतृत्वका निकायका सदस्य, पार्टी प्रदेश कमिटीका सदस्यहरु, जिल्लाका पुराना नेताहरु र नगरकै यसअघि नेतृत्वका साथीलाई गोलबन्द गरेर स्थितिको आँकलन गरिन पर्‍यो । को उमेद्वार बन्न सक्छन् ? कसको उमेद्वारी असरदार बनाउन सकिन्छ ? खुलाखुलस्त छलफल चलाउन पर्‍यो नि ! यसबारे केही बुझ्न चाह्यो, जिम्मेवार नेताहरु तर्कन्छन् । बिग्रेपछि त बिग्रने हो । पार्टी सङ्गठनदेखि चुनावसम्मका परिणामबारे योजनाबद्ध काम नबढाए हामीसँगै सिङ्गो आन्दोलनलाई नै क्षति हुने हो । जनता त माया दिन सक्लान् , तर जनताको माया सँगाल्ने तत्परता त देखाउन पर्‍यो नि ! अहिलेको नेतृत्व यसबाट विमुख भएको जस्तो लाग्छ । यो स्थिति अन्त्य गर्न पर्‍यो ।

⃝  भनेपछि स्थानीय (जिल्ला/नगर) नेतृत्वले तपाईंलगायतका केहीको वास्ता गर्न छाडेछ हैन ? तपाईं त विगतमा नगर नेतृत्वमा रही सक्नु भएको छ । तपाईंले त्यतिखेर पेलेकाहरुले अहिले बदला सधाएका त हैनन् ?

—मेरो वास्ताको प्रश्न छैन । म त अहिलेपनि पार्टीको प्रदेश कमिटी सदस्य छु, पार्टी जनसङ्गठनको केन्द्रीय उपाध्यक्ष छु । मेरा कुरा त ठाउँमा पुग्लान् , यतिले चित्त बुझाउने कुरा हुँदैन । यहाँका आम साथीले वास्ता पाउन पर्‍यो । उनिहरुले यो मेरो पार्टीभन्ने आत्मवोध गर्न पाउनु पर्‍यो । त्यो मञ्चले दिने हो । झन् अहिले चुनावका मुखमा त नेतृत्वमा अझ लचकता देखिन पर्छ । तपाईंले बदला सधाएका प्रसङ्ग कोट्याउनुभयो , मसहितका साथीहरु नगर नेतृत्वमा रहेका बेला अपारदर्शी कोठे कानेखुशीले पार्टी निणर्य बनेनन् । हुनसक्छ, कुनै व्यक्तिको सोचअनुसार निणर्य भएन होला, तर खुलाखुलस्त छलफल र तत्काल अवलम्वन गरिएका विधिबाटै त्यसको लोकतान्त्रिक तरिकाले समाधान खोजिएका थिए । हाम्रो पालाको उदाहरण अहिले कोट्याउनु उपयुक्त हुँदैन । अहिले बिग्रदैछ भन्दा ‘अघि तेरो पालामा नि !’ भन्ने प्रतिप्रश्न जायज हुन्न । यसको समाधान अहिलेको नेतृत्व लचक बनेरै पहिल्याउन पर्छ । मेरो बिनाकुनै आग्रह नेताहरुसँग स्थिति सच्याउनुहोस् भन्ने अनुरोध हो ।

⃝  भनेपछि आसन्न स्थानीय निर्वाचनका मुखमा तपाईंको दलमा किचोला बढेछन् भन्ने त देखियो नि ! यसले चुनावी परिणाममा असर पर्नसक्ने सम्भावना त रह्यो नि । एउटा जिम्मेवार कार्यकर्ताको हैसियतमा तपाईंमाथि पनि प्रश्न त उठ्ने भए , कि कसो ?

—हो, मेरो चिन्ता यहीं छ । यहाँ बन्ने, बिग्रने दुबै कुरामा यहाँका साथीमाथि प्रश्न त भईहाल्छन् । तर मूल कुरा नेतृत्वको हो । मलाई यति कुरा पनि तपाईंसँग राख्नुपर्दा असजिलो त भएको छ , तर कोही सोध्न नआएपछि आफ्ना कुरा कहाँ राख्ने ? निकास त चाहियो नि ! त्यसैले सबैले आत्मसमीक्षा गरुन् , सच्चिउन् भनेर सार्वजनिक अपिल नै गर्न चाहेँ । मलाई कसैप्रति आग्रह पूर्वाग्रह छैन, लामो समयदेखि आन्दोलनमा जोडिएको हुँदा पार्टीप्रतिको चिन्ता व्यक्त गरेको हुँ । जनता एमालेको मुख ताकेका छन् , एमालेका नेताहरु चाँही आआफ्ना ‘गुट’ मात्रै देख्न थाले , चुनावमा के होला हालत ? अनि वैशाख ३० पछि पनि काठमाण्डौं त जाने होला…, अनि नेताहरुलाई के रिपोर्टिङ्ग गर्ने ? ‘त्यो त फलानोले गर्दा’ भनेर उम्कने ? ‘चुगली’ लगाएर आपूm साखुल्ले बन्ने ? एकछिन मानौं, नेताअघि त साखुल्ले बन्लान् रे..! आफ्नो माटो (ठाउँ) सँग गरेको गुटबन्दीले बिग्रेको राजनीतिक चेहरा कसरी देखाउने ? के यी विषयमा हामी गम्भीर बन्नु पर्दैन ? अझै सच्चिदा पनि राजनीति केही त सचिन्छ । बेलैमा सबैलाई ‘होश’ होस् । पार्टी जमे न नेताहरुको पनि ‘साख’ बन्ने हो । यो कुरा हामी सबैले बुझौ, खासमा नेताहरुले बुझुन् भन्ने मेरो विनम्रतापूर्वकको अनुरोध हो ।

⃝  आसन्न स्थानीय निर्वाचनमा तपाईं पनि बर्दिबासमा मेयरको आकांक्षी हुनुहुन्छ भन्ने सुनिन्छ । स्थानीय नेताहरुबाट समर्थन नपाउनु भएको आक्रोस पो पोख्नु भएको हो की ?

—म पञ्चायतकालदेखि नै सङ्गठित जीवनमा बाँधिएको हुँ , फुत्त कतैबाट निस्केको भुईफुट्टा कार्यकर्ता हैन । मलाई वाम राजनीतिमा डोर्‍याउनेमध्ये आदरणीय शारदाप्रसाद ढुङ्गाना केही दिन पहिले बित्नुभयो । मेरा त्यसै कोटीका अगुवा गुरुमध्येका भानुभक्त पोखरेल अहिले पनि जिउँदो साक्षी हुनुहुन्छ । कति समकक्षी साथी बिभिन्न क्षेत्रमा लागे, कति अझै आन्दोलनमै हुनुहुन्छ । नगरमा प्रमुख पदको आकांक्षा नै राख्न नहुने बबुरो हैन म । हो, मैले पनि आकांक्षा राखें । यद्यपि लड्ने त एक जना हो पार्टीबाट । को उपयुक्त हुनसक्छ ? कसरी अघि बढ्ने होला ? यो कुरा कसले समन्वय गर्नु पर्ने हो ? जिम्मेवार नेताहरु आआफ्नो ‘डम्पूm’ बजाउनमै व्यस्त । भन्न पर्‍यो नि, ‘मित्र तपाईंभन्दा फलानो साथी उपयुक्त हुनुहुन्छ, उहाँका लागि वातावरण बनाउ ।’ मैले त्यस्तो छलफलमा टाङ् अडाए न मेरो दोष हुने हो । म खुला छु , साथीहरुलाई आफ्नो दाबीबारे सहमत भइदिन अनुरोध गर्न र साथीहरुको रायमा आफ्नो दाबी छाड्न । अनि त्यो दाबी छाड्ने मञ्च त जिम्मेवार नेताहरुले दिन पर्‍यो नि । कसैलाई भित्ता टेकाउने सपना किन देख्नु ? यो त खुलाखुलस्त छलफलबाट सहजै निष्कर्षमा पुग्न सकिने कुरा हो जस्तो लाग्छ । फेरि भन्छु, दाबी छाड्न तयार छु सहमतीका लागि, तर भनी त दिनोस् , कसलाई छाड्न पर्ने हो…। अनि एउटा अपेक्षा पनि हो, म दाबी छाड्न तयार भए झैं अन्य साथीले पनि ‘गुञ्जलाई एकपटक सोधौं’ त भनुन् । यो गुञ्जमा मात्र हैन , अरु साथीमा पनि लागु होस् ।

⃝  भनेपछि यहाँ (बर्दिबाससहित महोत्तरी) एमालेभित्र गञ्जागोल नै बढ्दै गएको हो त ?

—हैन, गञ्जागोल किन हुन्छ एमाले ? यो त सिमित नेताहरुको चालढालले असहज बनेको परिस्थितिमात्र हो । आकासमा बादल लागेर एकछिन चन्द्रमा ढाकेजस्तो । बादल फाट्छ, फेरि चन्द्रमाको आलोक फिजिन्छ । बस् , छलछाम, जालझेल र गुटपरस्त गतिविधि साम्य होस् , एमालेको झण्डा दशगजादेखि हिमालसम्म फहरिन्छ । जालीझेली आफैं वस्त्रविहीन हुनेछन् । समयको प्रतिक्षा छ ।

⃝  हामीसँग कुराकानीका लागि तयार भएर स्पष्ट विचार राखी दिनुभएको छ । प्रकाशनको तर्फबाट आभारसहित धन्यवाद भन्दछु । अन्त्यमा केही शव्दबाट कुराको ‘बिट’ मारी दिनोस् न गुञ्जजी…,

—स्थानीयतह निर्वाचन अब त केही दिन बाँकीमा झरीसक्यो । मुलुकको अग्रगति र विकासका लागि अहिले एमालेमात्र जनताको विकल्प हो । हामी गोलबद्ध भएर अघि बढौं, जनतालाई ‘सूर्य’ चिन्हमा मतदानका लागि अभिप्रेरित गरौं । मैले माथि केही कुरा पोखें । त्यो राम्रो परिणामको अपेक्षाका लागि हो । हामी साझा बन्न सकौं । हामी सबैका बन्न सकौं । नयाँ वर्ष २०७९ हामी सबैका लागि उत्प्रेरक बनोस् । सबैमा हार्दिक शुभकामना । कुराकानीका लागि मौका प्रदान गर्नुभयो ।

२०७९ बैशाख ३, शनिबार ०९:२०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय