जनकपुरधाम : नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले चित्त बुझे पनि नबुझे पनि गठबन्धनले गरेको निर्णयलाई सबैले मान्नुपर्ने बताएका छन्।
नेपाली कांग्रेस धनुषाले जनकपुरधाममा आयोजना गरेको सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उनले गठबन्धनको खिलाफमा बोल्नेलाई कारबाही गर्ने चेतावनी दिएका छन्।
‘कुनै पार्टीलाई कहीँ चित्त बुझ्ला, कुनैलाई कहीँ चित्त नबुझ्ला। निर्णय भइसकेको सबैले कुरा मान्नुपर्छ। सबैजना पार्टीको अनुशासनमा बस्नुपर्छ,’ उनले भने।
उनले आफ्नो पार्टीमा निर्णय नमान्नेलाई साधारण सदस्यता नै खारेज हुनेगरी कारबाही गरेको बताए। ‘गठबन्धनको खिलाफमा बोल्नेलाई पनि कारबाही गर्नुपर्ने अवस्था आएको छ,’ उनले भने, ‘जसरी हुन्छ गठबन्धनलाई टिकाउनु जरुरी छ। यो गठबन्धनले बनाएको प्रधानमन्त्रीको कर्तव्य हो।’
प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष केपी ओली निरंकुशताको बाटोमा हिँड्न खोज्दा सत्ता गठबन्धन जन्मिएको बताए। ‘ओलीले फेरि षड्यन्त्र सुरु गरेको, अर्को ज्ञानेन्द्र राजा बन्न कोसिस गरेको आरोप लगाए।
उनले तराईका जनताको नागरिकतासम्बन्धी समस्या चाँडै समाधान हुने र नागरिकताबाट कुनै पनि नागरिक वञ्चित हुनुनपर्ने विश्वास उनले दिलाए। ‘यहाँ नागरिकताका समस्या छन्। आमाबुवाले नागरिकता पाए छोराछोरीले पाएका छैनन्,’ उनले भने, ‘नागरिकता नपाएका छोराछोरीले नागरिकता पाउँछन् पाउँछन्।’
प्राप्त अधिकार संस्थागत गर्न र निरंकुश प्रवृतिलाई अन्त्य गर्न गठबन्धनलाई विजयी बनाउनु आवश्यक रहेको उनले बताए।

