काठमाडौं : आइतबार बिहान पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको जहाज आज बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । घटनास्थलबाट शव संकलन गरी काठमाडौं ल्याइँदै छ ।

शवहरु अनुहार चिनिने खालका छन् । शव काठमाडौं ल्याएपछि प्रक्रिया पूरा गरी आफन्तलाई जिम्मा लगाइने नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरुले बताएका छन् ।

१९ यात्रु र चालक दलका ३ सदस्यसहित आइतबार बिहान ९ :५५ बजे पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको नाइन एन एईटी जहाज सम्पर्कविहीन भएको थियो ।

खोजी गर्दै जाँदा आज बिहान थासाङ गाउँपालिका–२ सानुसरे डाँडाको १४ हजार ५०० फिट उचाइमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो ।

नाइन एन–एईटी कलसाइनको जहाजमा २ विदेशी, ४ भारतीय र १३ नेपाली यात्रु सवार थिए । जहाज दुर्घटनामा धनुषाको मिथिला नगरपालिका–११ लोटाका एकै परिवारका सात सदस्य पनि परेका छन् ।

क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएको जहाजमा कोपाइलट उत्सव पोख्रेल र विमान परिचारिका किस्मी थापा थिइन् । दुर्घटनास्थलमा कोही पनि जीवित फेला परेका छैनन् ।

सम्पर्क विहीन भएको उक्त जहाज खोजीकार्यको लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर ३३ गुल्म मुस्ताङबाट सशस्त्र प्रहरी निरीक्षक मिन बहादुर केसीको कमाण्डमा २५ जनाको टोली सोमबार बिहान १०ः५५ बजे सो ठाउँमा पुगेर उद्धार कार्यमा जुटेको थियो । उद्धारकार्यमा नेपाली सेनाका टोली पनि संलग्न थियो ।

आइतबार नेपाली सेनालाई मानापाथी हिमालको फेदीमा पहिरो गइरहेको स्थानमा आगो लागिरहेको देखेको भन्दै स्थानीयले खबर गरेका थिए । तर खोजी तथा उद्धारमा खटिएको टोली आइतबार त्यहाँसम्म पुग्न सकेको थिएन ।

सोमबार बिहान त्यही क्षेत्रमा यार्सागुम्बा संकलनमा गएका किसानहरुले दुर्घटनाग्रस्त हवाई जहाज फेला पारेर फोटो पठाएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए । नेपाल नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रका अनुसार फिस्टेल एयरको ९ एन एजेआर हेलिकोप्टर आज बिहान ८ः१० बजे दुर्घटनास्थलमा अवतरण गरेर जहाज दुर्घटनाको पुष्टि गरेको थियो ।

उनका अनुसार मानापाथी हिमालको फेदीमा २८ कात्तिकमा हिमपहिरो गएकै स्थान नजिकै दुर्घटनाग्रस्त अवस्थामा जहाज भेटिएको हो । खोज तथा उद्धारमा नेपाली सेना, एयर डाइनेष्टी, कैलाश हेलिकोप्टर र फिस्टेल एयरको हेलिकोप्टर परिचालन गरिएको थियो । साभार: अनलाइनखबर

२०७९ जेष्ठ १६, सोमबार १४:३२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय