काठमाडौं: निर्वाचन आयोगले अब हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनलाई मध्यनजर गरी पुनः मतदाता नामावली संकलन गर्ने कार्य अघि बढाउने तयारी गरेको छ ।

आगामी मंसिरमा हुने भनिएको दुवै तहको निर्वाचनको मतदाता नामावली संकलन कार्यक्रम अघि बढाउने तयारी भइरहेको आयोगले जनाएको छ । दुवै तहको निर्वाचनलाई लक्षित गरी मतदाता नामावली संकलन गर्ने कार्य अघि बढाउन लागिएको जानकारी दिँदै आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले नेपाल समाचारपत्रसँग भन्नुभयो–‘आयोगले चाँडै निर्णय गरेर नाम दर्ता प्रक्रिया अघि बढाउने गृहकार्य थालेको छ ।’

हालै सम्पन्न स्थानीय तह निर्वाचनमा कतिपय मतदाताले इच्छा हुँदाहुँदै पनि मतदाता नामावलीमा नाम नभएका कारणले गर्दा मतदान गर्न पाएन । उमेर पुगेकाहरूले मतदान गर्न पाउने अधिकारलाई सम्बोधन गर्नका लागि नाम दर्ता खोल्नुपर्ने स्थिति रहेकोले आयोगले नाम दर्ता खोल्ने योजना बनाएको सहायक प्रवक्ता अर्यालले बताउनुभयो ।गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा १८ वर्षमाथिका १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता रहेका थिए । अब आयोगले त्यस अवधिसम्म नाम छुटेका र त्यसपछि १८ वर्ष भएका नेपाली नागरिकहरूको नाम मतदाता नामावलीमा समेट्ने छ । छुटेका मतदाताको नाम संकलनका लागि स्थानीय तहमा अभियान सञ्चालन गर्ने तयारी भइरहेको आयोगले जनाएको छ ।

आयोगले यस अघि स्थानीय तहमा गएर नामावली संकलन गरेको थियो । त्यसका अतिरिक्त इलाका प्रशासन कार्यालय र जिल्ला प्रशासन कार्यालयबाट हुने मतदाता नामावली संकलनसम्बन्धी कार्य पनि गर्दै आएको थियो । यस पटक पनि नामावली संकलनको लागि सोही विधि अवलम्बन गर्नेबारे छलफल भइरहेको पनि सहायक प्रवक्ता अर्यालले बताउनुभयो ।निर्वाचनको मिति घोषणा गरेपछि मतदाता नामावली अद्यावधिक गर्न नहुने कानुनी बाध्यता रहेको जनाउँदै आयोगले प्रदेश र संघको निर्वाचनको लागि मतदाता नामावली अद्यावधिक गर्ने कार्यलाई अहिलेको मुख्य प्राथमिकतामा राखेको छ ।

मतदाता नामावलीसम्बन्धी ऐन, २०७३ को दफा ४ मा निर्वाचनको घोषणा भइसकेपछि सो निर्वाचन प्रयोजनका लागि मतदाताको नाम दर्ता गर्न नमिल्ने प्रावधान रहेको छ । आसन्न प्रदेशसभा सदस्य र प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मतदाता नामावली अद्यावधिक गर्न डेढदेखि बढीमा दुई महिनाको समय उपलब्ध हुनेछ ।

निर्वाचनको मिति घोषणा भएको दिनदेखि नाम दर्ता गर्ने काम रोकेर मतदाता नामावली प्रशोधनको काम शुरू गर्ने र सो कामसहित समग्र निर्वाचनको तयारी गर्न आयोगलाई १ सय २० दिन समय लाग्ने छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन ऐनको आधारमा निवार्चित भएको अवधिबाट कार्यकाल पाँच वर्ष भनिएकोले आयोगले मंसिर २२ लाई कार्यकाल सकिने दिन भनेको छ । यसले गर्दा मंसिर १५ गतेभित्र निर्वाचन गराउनुपर्ने प्रस्ताव आयोगले अघि सारेको छ ।


२०७९ जेष्ठ २३, सोमबार ०७:२७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय