
काठमाडौं : ‘कुमारी आमा’ निहारिका राजपुतको बच्चा र बलात्कार आरोपी शिवराज श्रेष्ठको डीएनए टेस्टको लागि नमूना संकलन गरिएको छ । आज खुमलटारस्थिति विधिविज्ञान प्रयोगशालामा एकैपटक दुवैको नमूना लिइएको हो ।
आफ्नो बच्चा र आरोपीको डीएनए म्याचिङ गराउनुपर्ने माग राख्दै निहारिकाले लामो समयदेखि विभिन्न संघर्ष गर्दै आएकी थिइन् । उनको मागबमोजिम केही दिनअघि जनकपुर उच्च अदालतले डीएनए परीक्षणका लागि आदेश दिएको थियो ।
आज डीएनए टेस्टका लागि निहारिका बच्चा लिएर खुमलटार पुगेकी थिइन् । प्रहरीले आरोपी शिवराजलाई पनि उपस्थित गराएको थियो । बच्चा र शिवराजको थुक र रगत डीएनए परीक्षणका लागि संकलन गरिएको छ । प्रहरीका अनुसार डीएनए परीक्षणको रिपोर्ट आउन तीन साता लाग्छ ।
निहारिकाले भने डीएनए परीक्षणको रिपोर्ट वास्तविक आउनेमै शंसय व्यक्त गरेकी छन् । यदि रिपोर्टमा कुनै गडबडी गरिएको खण्डमा आफूले अर्को संघर्ष सुरु गर्ने उनले बताइन् ।
‘एउटी आमालाई थाहा हुन्छ, आफ्नो बच्चाको बाबु को हो भन्ने । यदि डीएनए परीक्षणमा कुनै चलखेल गरियो भने म मेरो मुद्दालाई अन्तर्राष्ट्रीयकरण गर्नेछु,’ उनले भनिन् । साभार : नेपालप्रेस