
महोत्तरी : अनादिकालमा भगवान शिवले आफैं स्थापित गर्नुभएको मानिने महोत्तरीको जलेश्वर नगरपालिका-१ स्थित श्री जलेश्वरनाथ शिवलिङ्गको परिचय विस्तारका लागि भारतको धार्मिक यात्रा गरिएको छ ।
धार्मिक महत्ता , जनविश्वास र आस्थाको धरोहर रहेर पनि राज्यको समुचित वास्ता पाउन नसकेको भन्दै जलेश्वरका उत्साही युवाले यो शिवलिङ्गको महिमा प्रचारका लागि भारतको धार्मिक यात्रा गरिएको बताएकाछन् ।
“जलेश्वरनाथ प्राचीन मिथिलाक्षेत्रको प्रसिद्ध तीर्थस्थल रहेको शास्त्रहरुमा वणर्ित छ, तर यसको महत्ताअनुसार राज्य र अन्य सम्बद्धपक्षबाट समुचित वास्ता नपाएपछि यसको प्रचारप्रसारका लागि हामीले भारतका प्रसिद्ध तीर्थस्थलहरुको भ्रमण गरेका छौं” भर्खरै भारतका बिभिन्न तीर्थस्थलमा जलेश्वरनाथ शिवलिङ्गको महिमा प्रचार गरेर फर्कनु भएका जलेश्वर-१ का शिवम् साहले भन्नुभयो ।
यसै जेठको पहिलो साता भारतको उत्तरप्रदेशको काशीस्थित प्रसिद्ध द्वादश ज्योतिर्लिङ्गमध्येको श्री विश्वनाथ मन्दिर, काशीका बिभिन्न धार्मिकस्थल, प्रयागराज र उत्तराखण्डका हरिद्वार, ऋषिकेष, रुद्रप्रयाग र श्री केदारनाथसहितका धार्मिकस्थलको भ्रमण सकेर जलेश्वरको युवाटोली फर्केको हो ।
“हामीले सबै तीर्थस्थलमा जलेश्वरनाथको महिमा, यसको उत्पति र महत्ताबारे दर्शाउँदै यो शिवलिङ्गको दर्शनका लागि भारतीयलाई आमन्त्रण गर्यौ” भ्रमणटीमका अर्का सहभागी जलेश्वर-८ का चन्दन पाठकले भन्नुभयो, “जलमा विराजमान श्री जलेश्वरनाथको परिचय र वणर्न सुनेपछि भारतीयले यहाँको भ्रमणबारे चासो बढाएका छन् ।” जलेश्वरनाथको प्रसार उद्देश्यसाथ भारतका बिभिन्न धार्मिकस्थलको भ्रमण गर्ने जलेश्वरको युवाटोलीमा शिवम् साह र चन्दन पाठकका अतिरिक्त सुजन अधिकारी, सुभासकुमार साह, वादल गुप्ता र सौरभ नागवंशीलगायतका सहभागी हुनुहुन्थ्यो । टोलीले सबै ठाउँमा जलेश्वरनाथको महिमा सुनाउँदै जलेश्वर भ्रमणको निम्ता दिइएको जनाएको छ ।
भ्रमण क्रममा श्री केदारनाथका मुख्य पुजारी र पण्डाहरुले श्री जलेश्वरनाथबारे चासोपूर्वक जिज्ञासा राखेका भ्रमणटोलीका युवाको भनाइ छ । उमेरले २० देखि ३५ वर्ष उमेर समूहभित्रका यी युवाको चासोप्रति जलेश्वरबासीले सकारात्मक प्रतिकृया जनाएका छन् ।
“हाम्रो जलेश्वरको सम्भावना भनेकै धार्मिक पर्यटन हो, यस्ता पाहुना भारतीय नै हुनसक्छन् , यहाँका युवाले यसै पक्षलाई उजागर गर्न भारत भ्रमण गरेछन्” जलेश्वर-१ का बासिन्दा स्थानीय उद्यमी गोपालकुमार महतो भन्नुहुन्छ, “युवाहरुको यो चासोले नगरपालिका, उद्योग वाणिज्य सङ्घ र अन्य धार्मिक तथा सामाजिक सङ्घ संस्थाको साथ पाउन पर्छ ।”
जलेश्वरनाथ शिवलिङ्गलाई ‘महालिङ्ग’ भनिएको छ । शिवपुराणसहितका प्रसिद्ध ग्रन्थमा ‘जलेश्वरो महालिङ्गो श्री शिव स्थापित स्वयं’ प्रसङ्ग उल्लेख रहेको यस भेगका बुद्धिजीवी बताउँछन् । मिथिला अत्यन्त पावन भूमि रहेको मिथिला माहात्म्यमा वणर्ित छ । सोही मिथिला माहात्म्यमा जलेश्वरनाथ शिवलिङ्गलाई सर्वसिद्धिकारक भनिएको छ । मिथिला माहात्म्यमा ‘सर्वसिद्धिकरं लिङ्गं वारुण्याश्च जलेश्वरम्’ (मिथिलाको वायव्य (पश्चिमदक्षिण ) दिशामा सर्वसिद्धिकारक श्री जलेश्वरनाथ हुनुहुन्छ) । श्री जलेश्वरनाथलाई जलाधिनाथ पनि भनिने मिथिला क्षेत्रका प्रसिद्ध साहित्यकार पूर्वप्रशासक जलेश्वर बखरीका बासिन्दा महेश्वर राय बताउनुहुन्छ ।
पछिल्लो पटक धार्मिक नगरी जलेश्वरको परिचय विस्तारमा स्थानीय युवाले देखाएका चासोमा राज्यका बिभिन्न निकाय, बृहत्तर जनकपुर क्षेत्र विकास कोष र अन्य सम्बद्ध संस्थाहरुले थप पहलकदमी लिई दिन पर्ने जलेश्वरबासीको धारणा छ ।