महोत्तरी, २० जेठ । बर्खा मौसम सुरु हुनपूर्व महोत्तरीमा विपद् प्रतिकार्य अभ्यास सघन बनाइएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले नजिकिदो बर्खायाममा हुनसक्ने कटान, डुवानसहितका विपद्मा सुरक्षाका लागि अप्नाउन सकिने प्रतिकार्य अभ्यास सघन बनाएको हो । समितिले मटिहानीको लक्ष्मीसागर तलाउमा यस्तो अभ्यास यसै साताभित्र दुई पटक गराएको छ ।

“अहिले प्रचण्ड राप छ, यसैबेला पनि आपद् आइपर्न सक्छन् , अब बर्खा नजिकिदै छ, बर्खामा प्रत्येक वर्ष बाढीले धनमाल क्षति हुँदै आएको विगत छ” समितिका अध्यक्षसमेत रहनुभएका प्रमुख जिल्ला अधिकारी दिपककुमार पहाडी भन्नुहुन्छ, “प्राकृतिक विपद् र आकष्मिक आइपर्ने आपद्का घटनामा सुरक्षाका उपाय अवलम्बन गर्न दक्ष जनशक्ति तयार राख्न प्रतिकार्य अभ्यास सघन बनाइएको हो । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका जवान , राष्ट्रिय सेवा दल र रेडक्रसलगायतका सामाजिक सङ्घसंस्थाका प्रतिनिधि प्रतिकार्य अभ्यासमा छन् । प्रतिकार्य अभ्यासमा मटिहानी नगरपालिकाले सहयोग गरेको छ ।

मधेशमा बर्सेनि बर्खाका समयमा बाढीले धनजनको क्षति बढी गर्दै आएको हुँदा अहिले त्यसको प्रतिकार्य अभ्यास बढाइएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ । भवितब्य घटना र विपद्का बेला धनजनको क्षति हुनबाट बचाउन आम सर्वसाधारणलाईसमेत सचेत र सकृय बनाउन अभ्यास कार्य जिल्लाका बिभिन्न क्षेत्रमा आयोजन गर्न थालिएको प्रमुख जिल्ला अधिकारी पहाडीको भनाइ छ । यस्ता प्रतिकार्य अभ्यासमा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीका अधिकृत , रेडक्रससहितका सामाजिक सङ्घसंस्थाका प्रतिनिधि र स्थानीयतहका जनप्रतिनिधिको सहभागिता हुँदै आएको प्रजिअ पहाडीले जानकारी दिनुभयो । यस्ता प्रतिकार्य अभ्यासमा स्थानीयतहको आयोजना र नेतृत्व भए अझ बढी प्रभावकारी हुने विश्वास गरिएको छ ।

२०८० जेष्ठ २०, शनिबार १६:१७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय