
काठमाडौं : प्रमुख राजनीतिक दलहरुले गणतन्त्र र लोकतन्त्रको रक्षाका लागि एकजुट भएर लाग्ने प्रतिबद्धता जनाएका छन्।
सिंहदरबारमा बसेको सर्वदलीय बैठकले पछिल्लो समय संविधान र शान्ति प्रक्रियाबाट प्राप्त उपलब्धिविरुद्ध जनतामा उत्तेजना फैलाउने र यसका नेतृत्वकर्तामाथि लाञ्छना लगाउने क्रम बढेको निष्कर्ष निकालेको छ।
बैठकपछि माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले शान्ति र संविधानमाथिको प्रहारलाई मिलेर प्रतिवाद गर्ने निचोड निस्किएको बताइन्। उनले भनिन्, ‘यदाकदा पानीको फोकाजस्तो छिटफुट देखापरेका प्रहारविरुद्ध मिलेर प्रतिवाद गर्ने सर्वसम्मत निष्कर्ष निस्कियो । जीवनभरी लडेका परिवर्तन गरेका नेताहरू गणतन्त्रको रक्षा गर्नेमा प्रतिवद्ध छौं।’
यस्तै, एमाले सचेतक महेश बर्तौलाले व्यवस्थामाथि जसरी जनस्तरबाट नकारात्मक टिप्पणीहरु गराउने खेतिभइरहेको बताए। बैठकमा सामाजिक सञ्जालको दुरुपयोग गर्न खोजिएको विषयमा पनि छलफल भएको बताए।
एमालेले सरकारका अकर्मण्यताले छाडातन्त्र मौलाएको भन्दै त्यस विषयमा ध्यानाकर्षण गराएको उनले उल्लेख गरे।
‘हामीले पनि सरकारका कतिपय कामहरुका कारणले गर्दा मुलुकमा छाडातन्त्र मौलाएको छ। विद्यामान साशकीय प्रणालीहरुमाथि चुनौती सिर्जना हुने काम भइरहेको छ,’ उनले भने, ‘गृह प्रशासन कमजोर भएको मुकदर्शक भएको, दिनदहाडै विभिन्न खालको जघन्य प्रकृतीका हिंसात्मक घटनाहरु अगाडि बढिरहेका छन् । यी सबै पक्षमा विशेषगरि शान्ति, संविधान, विद्यामान व्यवस्था जसरी एकपछि अर्को जनतामा निराशाजनक प्रस्तुतिहरू भइरहेको विषयमा ध्यानकर्षण गरायौं।’
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई लगायतका नेताहरूको उपस्थिति थियो । छलफलमा सहभागी दलकानेताहरुले संघीय लोकतान्त्रिक गणतन्त्रप्रति बलियो प्रतिबद्धता व्यक्त गरेका थिए।
एमालेले सरकारको कामकारबाही सन्तोषजनक नरहेको भन्दै कार्यशैली परिवर्तन गर्न सुझाव दिएको थियो। नेताहरुले परिवर्तनको रक्षा र विकास गर्ने कुरामा प्रतिबद्धता जनाएका थिए।
यस्तै जनतालाई प्रभावकारी सेवा प्रवाह गर्नुपर्नेमा सबैको जोड थियो। छलफलमा जनतामा देखिएको असन्तुष्टिमा खेलेर अराजकता फैलाइएको भन्दै गंभिर चिन्ता समेत व्यक्त गरिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार १२ बुँदे समझदारी पक्षधर दलहरुका शीर्ष नेताहरुको बैठक बोलाएका थिए।
छलफलमा प्रधानमन्त्री प्रचण्डले भनेका थिए, ‘विभिन्न ठाउँमा सामाजिक सद्भाव भड्काउने कोसिस भइरहेको छ। जसलाई जे मन लाग्छ, त्यही भन्न थाले। संघीय लोकतान्त्रिक गणतन्त्र निकै ठूलो संघर्ष गरेर ल्याएका हौं । ठूलो फोर्स त होइन, तर समाज विगारिरहेका छन् । जरुरी प¥यो भने मुखरित भएर जानुपर्छ कि?’
नेपाली कांग्रेसका सभापति देउवाले जनतामा देखिएको असन्तुष्टिलाई सम्बोधन गर्ने गरी अघि बढ्नुपर्नेमा जोड दिएका थिए। छलफलमा सामाजिक सञ्जाललाई दुरुपयोग गरी गणतन्त्रविरुद्ध भ्रम फैलाइएको बिषयमा पनि छलफल गरिएको जनाइएको छ।
बैठकमा सहभागी दलका नेताहरुले जनतामा भएको असन्तुष्टिलाई सम्बोधन गर्नुपर्नेमा जोड दिएका थिए। समाजमा फैलाउन खोजिएको अश्लिलता र अराजकताको समयमै नियन्त्रण गर्न समेत उनीहरुले सरकारलाई आग्रह गरेका थिए।