
ममता अर्याल,
बर्दिबास (महोत्तरी) : नदी र नदीउकास क्षेत्रमा गैरकानुनी उत्खनन् कार्यमा प्रयोग गरिएका यान्त्रिक उपकरण महोत्तरीमा प्रहरीले धमाधम नियन्त्रणमा लिन थालेको छ । जिल्लाका रातु र जङ्घा नदी तथा यिनै नदीका उकास क्षेत्रमा गैरकानुनी तवरले उत्खनन् कार्यमा प्रयोग गरिएका एस्काभेटरसहितका यान्त्रिक उपकरण प्रहरीले लिएको हो । पछिल्ला दुई दिनभित्र यस्ता ११ वटा उपकरण नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको हो ।
आज शनिबार रातु नदी क्षेत्रमा उत्खनन् कार्यमा प्रयोग भएका दुईवटा एस्काभेटर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । स्वीकृत कार्यविधि र मापदण्डविपरित उत्खनन् कार्यमा प्रयोग गरिएका दुईवटा एस्काभेटर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक प्रकाश मल्लले जानकारी दिनुभयो । यसअघि हिजो शुक्रबार प्रहरीले जिल्लाकै जङ्घा नदी उकास क्षेत्रमा गैरकानुनी उत्खनन् कार्यमा प्रयोग गरिएका नौ वटा एस्काभेटर प्रहरीले नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिइएका यान्त्रिक उपकरणका नम्वरसमेत लेखिएका छैनन् ।
जिल्लामा नदी र नदी उकास क्षेत्रमा निरन्तर मापदण्डविपरित उत्खनन् बढेको गुनासो बढेपछि प्रहरीले अनुगमनमा सकृयता बढाएको छ । जिल्ला समन्वय समिति महोत्तरी, जिल्ला प्रशासन कार्यालय महोत्तरी र जिल्ला प्रहरी कार्यालय महोत्तरीले सरोकारवालापक्षलाई सरिक गराउँदै उत्खनन् क्षेत्रको स्थलगत अनुगमन बढाएका छन् ।