
अनिल कुमार साह
जनकपुरधाम / फाल्गुन ।
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको प्रादेशिक अस्पताल जनकपुरधामले मुटुरोग सम्बन्धी उपचारका लागि आवश्यक पर्ने क्याथ ल्याब सेवाको शुरुवात गरेको छ । उक्त क्याथ ल्याब सेवाको शनिवार मुख्यमन्त्री सरोज कुमार यादव र स्वास्थ्य तथा जनसंख्या मन्त्री बीरेन्द्र सिंहले संयुक्त रुपमा उद्दघाटन गरेका हुन् । सो अवसरमा मुख्यमन्त्री यादवले आफूले गुणस्तरीय स्वास्थ्य सेवाको सुनिश्चितता र संरचनागत तथा व्यवस्थापकीय सेवा सुधारका लागि काम समेत बताए ।
उनले उपचार नपाएर अकालमा मृत्युवरण गर्न नपरोस् तथा यहाँबाट मुटु रोगीले समयमै उचित उपचार पाउने मूल अभिप्रायका साथ क्याथ ल्याब सेवा सुचारु गरिएको बताए । उनले अस्पतालका उपकरण छिटो बिग्रने कुराप्रति आफ्नो ध्यानाकर्षण भएको र भविष्यमा यस्तो हुन नदिने समेत उनले बताए ।
उदघाटनमा समारोहमा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार डा. विनोद कुमार यादवले काठमाण्डौं तथा बिरगञ्ज र धरान रेफर गर्नुपर्ने मुटुरोगीको ठुलो समस्या समाधान भएको बताए । मधेशको राजधानीमा कम्तिमा एउटा क्याथ ल्याब आवश्यक हुन्छ भन्ने भएर यो सेवा विस्तार गरिएको बताए । त्यस अवसरमा उनले ओपिडी र सर्जरीको लाइन घटाउने सरकारको मूल लक्ष्य भएकाले त्यस कार्यका लागि तत्काल कार्ययोजना बनाएर अगाडि बढ्न समेत अस्पताललाई निर्देशन दिएको बताए ।
रजिष्टार डा. विनोद कुमार यादवले मुटुको उपचारका लागि अतिआवश्यक क्याथ ल्याब सेवा शुरु गरेर जनताले यहाँ मुटु रोग सम्बन्धी उपचार गर्दा अति कम शुल्कमा क्याथ ल्याब सेवा लिन सक्ने उनले बताए ।
सो अवसरमा अस्पतालका निर्देशक डा. रामनरेश पण्डितले हाल प्रादेशिक अस्पतालमा मासिक करिब ५० जना भन्दा बढी क्याथ ल्याब आवश्यक भएका बिरामी अस्पताल आइपुग्ने र उनीहरुले अब यो सेवा पाउने बताए ।
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापनाकौ तेश्रो वर्षमै धेरै दुःख गरेर आफूहरुले नयाँ प्रविधियुक्त सेवा दिन सफल भएको रजिष्टार डा. यादवले बताए । उनले भने, ‘जनकपुरमै बिरामीको सेवाको लागि केही गर्नैपर्छ भन्ने उद्देश्यले हामीले यो सेवा सुरु गरेका हौं,’ उनले भने, ‘यसले बिरामीलाई मात्र नभई कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई पनि महत्वपूर्ण उपलब्धि हुने छ ।’
क्याथ–ल्याव प्रविधिबाट मुटुको एन्जियोग्राफि, एन्जियाप्लाष्टि, मुटुका साँघुरो भल्भ खोल्न मद्दत गर्नुका साथै मुटु बाहिरका रक्तनलीहरुमा रगत ‘ब्लक’ भएको छ छैन भनि जाँच र उपचार गर्न समेत सकिने अस्पतालले जनाएको छ । अस्पतालका सेवाहरुबारे संक्षिप्त जानकारी लिँदै मुख्यमन्त्री यादवले प्रादेशिक अस्पतालकै विभागहरु विशिष्टीकृत अस्पतालको रुपमा बिस्तारै बन्दै गएको दाबी गरे ।