महोत्तरी, ५ फागुन ।

आफ्नो घरझुप्रा भएका र भोगचलनमा रहेको जग्गा अर्कैको नाउँमा दर्ता हुँदा विरक्तिएका महोत्तरीको भङ्गाहा-४ थारुटोल बनराका सुकुम्बासीमा अब केही राहत पाइने आश जागेको छ । आफ्नै ठाउँबाट धपिनु पर्ने पीडा प्रधानमन्त्री पुष्पकमल दाहाललाई सुनाउन पुगेका त्यहाँका सुकुम्बासीमा सरकारले जग्गासम्बन्धी छानविन गरिने प्रतिबद्धता जनाएपछि जग्गा आफ्नै नाउँमा दर्ता हुन्छ कि भन्ने झिनो आश पलाएको हो ।

“हामी करिब २५ वर्षदेखि आफ्नो जग्गा अर्कैले उडाइ दिएपछि रोइकराई गर्दैछौ” सुकुम्बासी बस्तीका कैलाश चौधरी थारुले भन्नुभयो, “बल्ल यसपालि प्रधानमन्त्रीले जग्गा कसरी बाहिरी मान्छेका नाउँमा दर्ता भयो, सोबारे छानविन आयोग बनाउन सम्बद्ध अधिकारीलाई निर्देशन दिनुभएको छ ।’’ प्रधानमन्त्रीको यो निर्देशनले आफूहरूको जग्गा अर्कैले दर्ता गर्ने गराउने प्रपञ्चमा सामेलहरुको खोजी हुने र वास्तविक घरझुप्रा भएका र भोगचलन भएका हरुको नाउँमा आइहाल्छ कि भन्ने आश जागेको चौधरीसहितका थारुटोल बनराका सुकुम्बासी बस्तीका बासिन्दा बताउँछन् ।

पहिलेकै रातु नदीको नदीउकास क्षेत्र र कदम्खाडी जलाधार क्षेत्र ओरीपरी विक्रम सम्वत् २००० सालदेखि बसोबास गर्दै आएका आदिबासी थारु एबं मुसहर, बाँतर, चमार र खत्बेलगायतका दलित परिवारका अहिले चौथो पुस्ताका सन्तान यहाँ बस्छन् । विक्रम सम्वत् २०५१ सालमा सरकारले सुकुम्बासी समस्या समाधान आयोग बनाएर लालपूर्जा दिने बताइँदा उत्साहित भएका सो बस्तीका सर्वसाधारण पछि आफ्नो जग्गा त अर्कैको नाउँमा दर्ता भएको सुनेर खङ्रङ्ग भए ।

’’पहिले त चालचुल पाइएन, १०/१२ वर्षपछि नचिनेका बाहिरी मान्छे हाम्रो घर भएको ठाउँ मेरो जग्गाभन्दै आउन थाले“ सो बस्तीकी ७५ वर्षीया रामसुनरदेवी थारु भन्नुहुन्छ, “अनि बल्ल जग्गा कसले कसरी उडाएछन् भन्ने खोजीनीति हुन थाल्यो ।” यस क्रममा भौतारिन थालेको झण्डै एकदशकपछि अब प्रधानमन्त्री स्वयंले तत्परता लिनुभएको हुँदा जग्गाबारे खोजविन हुने विश्वास बढेको सो बस्तीकै दलित अगुवा राम महरा बताउनुहुन्छ ।

थारूटोल बनरामा चार पुस्तादेखि घरझुप्रा बनाएर बसोबास गर्दै र पर्ति जग्गा खनजोत गर्दै आएका १८७ परिवारको जग्गाजति अर्कैको नाउँमा दर्ता भएपछि विचल्ली भएको छ । “हाम्रो टेक्ने समाउने केही आधार रहेन” सो बस्तीका जुर्मी बाँतर भन्नुहुन्छ, “देशकै सरकार जागेपछि अब केही होला कि भन्ने आश जागेको छ ।”

विक्रम सम्वत् २०५४ मा जिल्लाका लागि पुनर्गठित सुकुम्बासी आयोगका अध्यक्ष विश्वनाथ लाल कणर् र आसपासका कर्मचारीको मिलोमतोमा जलेश्वरमै बसेर मनलागी व्यक्तिका नाउँमा जग्गा दर्ता गरेपछि यहाँका सुकुम्बासी बेघर हुने स्थितिमा पुगेका हुन्।

“कोई भोजपुरका आउछन..कोई वीरगञ्जका आउछन् र मेरो जग्गा भन्छन् ,हाम्रा ओठ मुख सुके“ थारुटोल बनराका ७५ वर्षीय रामऔतार सिंह थारु भन्नुहुन्छ, ’’हामी आफ्नै ठाउँमा बेघर बन्यौ ।’’ लामो समयदेखि आफूहरुमाथी परेको मार्काबारे भर्खरै प्रधानमन्त्रीले चासो लिनु भएपछि अब आफ्नो माटो पाइन्छ कि भन्ने विश्वास जाग्दै गरेको थारु बताउनुहुन्छ । बनराको सुकुम्बासी बस्तीको जग्गा सिडियोसा’बका ड्राइभर, विभिन्न कार्यालयका कर्मचारी र आयोगकै पदाधिकारीका परिवारका नाउँमा दर्ता भएको पाइएको थारु बताउनुहुन्छ ।

यसअघि काठमाण्डौ माइतीघर मण्डलामा जग्गाबारे छानविनको माग गर्दै आन्दोलनमा उत्रेका सुकुम्बासी उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको आश्वासन पाएपछी घर फर्केका थिए । अहिले पछिल्लो पटक मिटरब्याजी र सुकुम्बासीको जग्गा हड्पनेविरुद्ध सामाजिक आन्दोलनको अगुवाई गर्नुहुने भङ्गाहा-४ रामनगरका सन्तोस दाहाल(सङ्घर्ष)को समन्वयमा सुकुम्बासीहरुले बिहीबार प्रधानमन्त्रीसँग भेट पाएका हुन् । थारुटोल बनराको सुकुम्बासी बस्तीको जग्गा दर्ताबारे छानविन हुन पर्ने, जग्गा दर्ता गराउने अधिकारी र भूमाफियाविरुद्ध कार्वाही हुनपर्ने, बाहिरी मान्छेका नाउँमा दर्ता भएको स्वामित्व खारेज हुनपर्ने र घरझुप्रा बनाएर बसेका सुकुम्बासी र खनजोत गर्दै आएका भूमिहीन गरिबका नाउँमा जग्गा दर्ता गरिन पर्ने थारुटोल बनराका सुकुम्बासीको माग छ । सुकुम्बासीका जायज मागप्रति प्रधानमन्त्री अत्यन्त गम्भीर पाएको भेटघाटका समन्वयकर्ता सन्तोस दाहाल (सङ्घर्ष)बताउनुहुन्छ ।

“प्रधानमन्त्रीले विषयको गम्भीरतालाई बुझेर सम्बद्ध निकाय र अधिकारीलाई छानविन प्रकृया अघि बढाउन निर्देशन गरीसक्नु भयो’’ सङ्घर्ष भन्नुहुन्छ, “निष्पक्ष छानविन भएपछि सत्य आफै उद्घाटित हुन्छ ।”

यसपालि चाहिँ प्रकृयाले गति लिएपछि थारुटोल बनराका १८७ परिवार सुकुम्बासीमा आफ्नो घरझुप्रो भएको जग्गाको लालपूर्जा पाउने आश जागेको छ । सुकुम्बासी बस्तीकी दुलारीदेवी सदा भर्खरै प्रधानमन्त्रीले आफ्नो घरजग्गाबारे चासो लिनुभएको कुराले आपूmहरुले न्याय पाउने दिन आउनेभए भन्ने आश जागेको बताउनुहुन्छ ।

२०८० फाल्गुन ५, शनिबार १८:२०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय