काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत दोस्रो खेलमा पपुवा न्युगिनी (पिएनजी) माथि नेपालले सानदार जित निकालेको छ। आज बिहान भएको खेलमा नेपालले पीएनजीलाई ८५ रनको फराकिलो अन्तरले पराजित गरेको हो।

नेपालले दिएको १ सय ९९ रनको लक्ष्य पछ्याउने क्रममा पिएनजीले १७ औं ओभरमा अलआउट हुनुअघि १ सय १७ रन मात्र बनाउन सक्यो । मध्यक्रममा हिरी हिरीले २८ तथा ओपनर टोनी उराले १३ र सेसे बाउले २१ रन जोड्नुबाहेक अन्य ब्याटरले खासै योगदान दिन सकेनन्।

कुशल भुर्तेलले ४ ओभरमा १२ रन खर्चेर ४ विकेट लिए। प्रतिश जिसीले २, आकाश चन्द र गुल्सन झा ले समान एक/एक विकेट हात पारे। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९८ रन बनाएको थियो।

नेपालका लागि कुशल भुर्तेल र सन्दीप जोराले अर्धसतक बनाए। भुर्तेलले आउट हुनुअघि ३९ बल खेल्दै ५९ रन बनाए। उनले ४ चौका र ४ छक्का प्रहार गरे।

यस्तै जोरा २६ बलमा ५६ रनको योगदान दिए। लोकेश बमले ६ बलमा १४ रन बनाए। आउट हुनुअघि उनले २ छक्का प्रहार गरे। विवेक यादवले ४ बलमा १९ रन बनाउँदा ३ छक्का प्रहार गरे। यसअघि विनोद भण्डारी २७ रन बनाए।

पिएनजीका असाद भालाले २ तथा जोन कारिको, नोर्मन भनुआ र नोसेना पोकानाले समान १/१ विकेट लिए। जितसँगै नेपाल फाइनलमा प्रवेश गरेको छ।

आजै हुने लिग चरणको अन्तिम खेलमा पिएनजीले घरेलु टोली हङकङसँग खेल्नेछ। सिरिजको फाइनल बुधबार हुनेछ।


२०८० फाल्गुन २९, मंगलवार ११:१८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय