बर्दिबास । लोपोन्मुख पक्षी गिद्धको बासस्थान फेला परेपछि महोत्तरीका सामाजिक सङ्घसंस्थाले सोबारे सार्वजनिक चासो बढाएका छन् । जिल्लाका चुरे पर्वत श्रेणिमा पर्यटन विकासको सम्भावना खोजी गर्न पदमार्ग यात्रा थालेका सामाजिक सङ्घसंस्थाले बर्दिबास-३ को राईमण्डल धार्मिकक्षेत्रको शिरअवस्थित चुरे शृङ्खलाको थुम्कोमा गिद्धको बासस्थान फेला परेपछि यसको संरक्षणबारे सार्वजनिक चासो बढाएका हुन् । बर्दिबास उद्योग वाणिज्य सङ्घ, होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरी र बर्दिबास नगर पत्रकार सञ्जालले यसै फागुनदेखि संयुक्त रुपमा थालेका साप्ताहिक (सातामा एक दिन) पदमार्ग (पैदल यात्रा) का क्रममा गिद्ध बासस्थान फेला परेपछि यसको संरक्षणबारे चासो बढेको हो ।

तराईका फाँटमा गिद्ध बस्ने ठूलठूला सिमलका रुख मासिनसँगै हराएको यो पक्षी बर्दिबास-३ को राईमण्डल धार्मिकक्षेत्रको चुरे पर्वत श्रेणिको थुम्कोमा बथानमै देखा परेको छ । जताततै मासिदै हराउँदै गएका बेला गिद्धको बासस्थान देखिएपछि अब यिनको संरक्षणबारे सोच्न आवश्यक भएको पदमार्ग यात्रामा सहभागी बर्दिबास उद्योग वाणिज्य सङ्घका अध्यक्ष विष्णु खड्का बताउनुहुन्छ ।

“गिद्धको बासस्थान नजिकका गुफा (पाखाका खोप) र रुखहरुको संरक्षणमा अब योजनाबद्ध पहलकदमी आवश्यक देखिन्छ” खड्का भन्नुहुन्छ, “यसबारे वनसम्बद्ध र बर्दिबास नगर कार्यपालिकाको कार्यालयले चासो बढाउन पर्छ ।” पाहाडि थुम्कोमा अहिले लोपोन्मुख पक्षी गिद्ध १०० भन्दा बढी सङ्ख्यामा रहेका पदमार्ग यात्राका सहभागीको भनाइ छ ।

पदमार्ग यात्राका सहभागीले पहिलोपटक गिद्ध बासस्थान देखेपनि राईमण्डल शिरका बासिन्दा यो गिद्धको पुरानो थातथलो रहँदै आएको बताउँछन् । दुई दशक पहिले यहाँ फुल (अण्डा) पार्न र बच्चा कोरल्न बस्ने र अन्य समय आहाराको खोजीमा यहाँका गिद्ध बाहिर जाने गरेका राईमण्डलका बासिन्दा ६० वर्षीय दिलबहादुर राना मगर बताउनुहुन्छ । पहिले निकै ठूलो बथान भएपनि चर्न जाँदा सिनोमा विषादीको असरले धेरै मरेपछि गिद्धको सङ्ख्या निकै खस्केको रानाको भनाइ छ ।
दुई दशकअघिसम्म महोत्तरीका भारतीय सीमावर्ती बस्तीसम्मै बाक्लै देखिने गिद्ध अब देखिदैनन् । मरेका पशुबस्तुको सिनो मुख्य आहारा र ठूलठूला सिमलका रुख बासस्थान गिद्धको हुनेगथ्र्यो । पछिपछि सिमलका रुख सबै मासिएपछि गिद्ध हराउँदै गएर अब देखिनै छाडेका जिल्लाका मध्य र दक्षिणीक्षेत्रका बासिन्दा बताउँछन् ।
मकै खेती गर्ने किसानले बोटमै घोगा खोसलेर दुःख दिने स्याल नियन्त्रणका लागि बगरमा फालिएको सिनोमा विषादी मिलाउँदा त्यसको असरले सयौं गिद्ध मरेका १५ वर्षअघिको घटना भङ्गाहा-५ सीतापुर धतियाटोलका ७० वर्षीय योगेन्द्र यादव सम्झनुहुन्छ । “त्यसयता त गिद्ध खै देखिएकै छैनन् , सिमल पनि मासिए” पदमार्ग यात्रीका कुरा सुन्नुभएका यादव भन्नुहुन्छ , “अहिले बर्दिबासको राईमण्डलतिर बथानमै गिद्ध देखिएका सुनिन्छ, अहिले बर्दिबासमा बथान भेटिएको सुन्दा हेर्न जाउँ जाउँ लागेको छ ।”

गिद्ध र यिनका बासस्थान संरक्षणका लागि अब मुख्य रुपले स्थानीयतहले पहलकदमी लिन पर्ने पदमार्ग यात्रामा सहभागी बर्दिबास नगर पत्रकार सञ्जालका सचिब विशाल बस्नेतको भनाइ छ । “पश्चिमतिर (नवलपरासी, दाङ) गिद्ध संरक्षणमा योजनाबद्ध काम थालिएको सुनिन्छ, त्यसको अवलोकन गरेर यहाँ पनि सिको गर्नसके यी लोपोन्मुख पक्षीको संरक्षणमा वल पुग्नेछ” बस्नेत भन्नुहुन्छ, “स्थानीयतह, वनसम्बद्ध निकाय र स्थानीय सामाजिक सङ्संस्थाले पहलकदमी लिए यो सम्भव छ ।” बथानमै गिद्ध देखिएपछि नवलपरासीमा सञ्चालनमा रहेको जटायु रेस्टुरेन्ट र त्यहाँ हुने गिद्धको चहलपहल अवलोकन गर्ने रहर जागेको बस्नेत बताउनुहुन्छ ।
यसपालि फागुन लागेसँगै सुरु गरिएको चुरे पर्वत श्रेणिको पदमार्ग यात्राका क्रममा पर्यटन प्रबद्र्धनका धेरै सम्भावना देखिएमध्ये गिद्धको बासस्थान मुख्य भएको होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीका अध्यक्ष गुञ्जबहादुर कार्कीको भनाइ छ ।

“पदयात्राका क्रममा हामीले यहाँको पर्यटन प्रबद्र्धनका कैयौं सम्भावना देख्यौं, जसमा राईमण्डल धार्मिकक्षेत्र , सिद्धगुफा, परेवापाखा , दुर्लभ जडीबुटीका लामो फाँट, पाहाडी रहनसहन र स्थानीय लोकपरम्परा छन्” कार्की भन्नुहुन्छ, “यससँगै बथानमै भेटिएका गिद्ध पक्षी , मयूर र अन्य वन्यजन्तुको संरक्षणका विषय छन् , ठाउँ छन् , हामीले तत्परता देखाउन सक्नुपर्‍यो ।”

पदमागर् यात्रीले सप्ताहको एक दिन चुरे पर्वत श्रेणिको पैदल यात्रा थालेका छन् । यस क्रममा बर्दिबास-१, ३ , ४, ५, १० र ११ मा पर्ने चुरे शृङ्खला क्षेत्र पर्छन् । अहिलेसम्म तीन साताको पदमार्ग यात्रामा बर्दिबास-१ र ३ मात्र सकिएको छ । महोत्तरीमा पर्ने चुरे सबै बर्दिबास नगरक्षेत्रमै पर्छ । पूर्वपश्चिम राजमार्गमा जिल्लाको दुरी १८ किलोमिटर (किमी) मात्र भएपनि पाहाडी खोचमा यो दुरी झण्डै ४० किमी दुरीको छ । पाहाडी गोरेटो बाटो छिचोल्दै स्थानीय जनजीवन बुझेर पर्यटकीय सम्भावनाबारे अध्ययन , छलफल गर्दै हिडिदा आपूmहरुको यात्रा पुरा हुन दुई महिना लाग्ने पदमार्ग यात्रीको आँकलन छ ।
पदमार्ग यात्रामा सहभागी तीनवटै संस्थाले यो टुङ्गिएपछि स्थानको परिचय, महत्व र सम्भावनाबारे प्रतिवेदन बर्दिबास नगर कार्यपालिकाको कार्यालय, मधेश प्रदेश मन्त्रीपरिषद सचिवालय र प्रधानमन्त्री कार्यालयसँगै पर्यटनसम्बद्ध निकायहरुमा बुझाइने जनाएका छन् । आपूmहरुको मुख्य मक्सद (चाहना) नै यहाँका सम्भावनाबारे चासो बढाउनु रहेको पदमार्ग यात्राका सहभागीको भनाइ छ ।


२०८० फाल्गुन २९, मंगलवार २०:१९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय