
गोविन्द महतो / जनकपुरधाम
सामान्यतया दुर्घटनामा मृत्यु भएका व्यक्तिको पहिचान नगरी नभए पहिचानको लागि मृतकको शारिरीक पहिचान, फोटोग्राफ, लत्ताकपडा, परिचयपत्र लगायतको विवरणसंग हराईरहेको वा मृत्यु भएका व्यक्तिको विवरणसंग तुलना गरी सनाखत गर्ने प्रचलन छ । पहिचान नभएका तथा वेवारिसे शव व्यवस्थापन निर्देशिका, २०७८ अनुसारको बुँदा नं. ३ (१) मा कुनै स्थानमा पहिचान नभएको तथा वेवारिसे अवस्थामा शव रहेको जानकारी प्राप्त हुन आएका त्यस्तो शवको उचित व्यवस्थापनको लागि स्थानीय प्रहरी कार्यालयले शवलाई सुरक्षित राखि सम्बन्धित स्थानीय तह तथा वडालाई जानकारी गराउनुपर्ने प्रावधान छ ।
साथै (२) को उपदफा (१) मा वेवारिसे अवस्थामा शव प्राप्त भएपछि स्थानीय तहको प्रतिनिधि र सम्भव भएसम्म स्थानीय नागरिकको रोहवरमा मुचुल्का खडा गर्नुपर्ने उल्लेख छ तर ईलाका प्रहरी कार्यालय गौशालाले दुर्घटनामा ज्यान गुमाएका एक व्यक्तिको पहिचान यकिन नगरि, स्थानीय तह वा जनप्रतिनिधिलाई जानकारी नै नदिई शव अन्त्येष्टि गरेको गरेको पाईएको छ ।
घटना गत पुष १६ गते गौशाला सम्सी सडक खण्डमा पर्ने गौशाला नगरपालिका वडा नं. १ जंगलको हो । मोटरसाईकलको ठक्करबाट घाईते भएका अन्दाजी ३० वर्षका पुरुषको उपचारको क्रममा मृत्यु भएपछि प्रहरीले बेवारिसे शव भन्दै शवको पहिचान हुनै नदिई अन्त्येष्टि गरिएको रहस्य बाहिर आएको छ । शवलाई हतार–हतारमा पोष्टमर्टम गराई पहिचान खुल्नै नदिई शदगत गरिनु शंकास्पद र रहस्मय रहेको स्थानीय देवनारायण यादवको भनाई छ ।
बर्दिवास अस्पतालको शव गृहमा राखेको मृतकको हुलिया सम्बन्धित निकायमा परिपत्र गरिएको अवस्थामा पनि दावी गर्न कोहि नआएपछि जनप्रतिनिधिको रोहवरमा कानुनत मृतकको अन्त्येष्टि गरेको ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी नायव निरिक्षक मनोज कुमार यादलले बताए । तर स्थानियले भने दुर्घटनालाई गुपचप बनाउन प्रहरीले मृतकको शव जलाउन हतार गरेको आरोप लगाएका छन् । अनुसन्धान पुरा नहुँदै र मृतकको पहिचान नखुल्दै प्रहरीले मृतकको सदगत गर्नु ठिक नभएको स्थानियको भनाई छ ।
बर्दिवास अस्पतालको शव गृहमा राखेको मृतकको हुलिया सम्बन्धित निकायमा परिपत्र गरिएको अवस्थामा पनि दावी गर्न कोहि नआएपछि जनप्रतिनिधिको रोहवरमा कानुनत मृतकको अन्त्येष्टि गरेको ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी नायव निरिक्षक मनोज कुमार यादलले बताए । तर स्थानियले भने दुर्घटनालाई गुपचप बनाउन प्रहरीले मृतकको शव जलाउन हतार गरेको आरोप लगाएका छन् । अनुसन्धान पुरा नहुँदै र मृतकको पहिचान नखुल्दै प्रहरीले मृतकको सदगत गर्नु ठिक नभएको स्थानियको भनाई छ ।
बर्दिवास अस्पतालकी प्रमुख डा. कृष्णा महर्जनले बेवारीसे शवहरु ७ दिनसम्म अस्पतालकै शवगृहमा रहने गरेको हुँदा अस्पतालले लास बुझ्न कुनै अनुरोध नगरेको बताईन् । तर अस्पतालको विपरित ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरिक्षक मनोज यादवले अस्पतालको शव गृहमा शव राख्ने व्यवस्थापन राम्रो नभएका कारण शवको अन्त्येष्ठि गर्न प्रहरी बाध्य भएको स्विकार गरेपनि अस्पतालले शव लगेको बारे अस्पताललाई कुनै जानकारी नभएको जनाएको छ । अस्पतालकी प्रमुख डा. कृष्णा महर्जनले ‘चिसो मौसम भएकाले लास कुहिहाल्ने अवस्था पनि थिएन’ उनले भनिन्, ‘हामीले लगिहाल्नुस भनेका पनि थिएनांै, शवको पहिचान नहुँदै कसरी लग्नु भयो । हामीलाई थाहा पनि छैन् । शवलाई त नियम र प्रक्रिया पु¥याएर पो शदगत गराउने हो । वेवारिसे शव भन्दैमा जे पनि गर्न पाईदैन, शवको पनि आफ्नै अधिकार हुन्छ ।’
यता घटना लगतै वडामा लासको सदगत गरिदिन ईलाका प्रहरी कार्यालय गौशालाबाट परिपत्र आएपनि शवको अन्त्येष्टि भए नभएको जानकारी नभएको गौशला १ का वडा अध्यक्ष नविन साहले बताए । उनले भने, ‘दुर्घटना भएको पनि मलाई थाहा छैन, कसरी प्रहरीले के ग¥यो मलाई थाहा छैन् । दुर्घटनामा कस्को मृत्यु भयो, म कहाँ केही पनि आएको छैन न त शव पहिचानको कुनै सूचना नै टाँस भएको मलाई जानकारी छ ।’
तत्कालिन जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक प्रकाश मल्ले मृतकको फोटो, भिडियो, मुचुल्काका आधारमा अनुसन्धानको भईरहेको बताए पनि ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षकले घटना लुकाउन र ठक्कर दिने व्यक्तिसंग मोटो रकमको बार्गेनिङ्ग गरेको रहस्य बाहिर आएको हो । मृतकलाई ठक्कर दिने ज ६ प ४८४६ नम्बरको मोटरसाईकल चालक गौशाला ५ का ३८ वर्षका गणेश प्रसाद साहलाई बचाउन र घटना लुकाउन रकमको बार्गेनिङ्ग भएको श्रोतको भनाई छ । घटना लुकाउन र ठक्कर दिएका व्यक्ति साहलाई बचाउन हत्तार–हत्तार शवको शदगत गराईएको श्रोतको भनाई छ ।
घटना लुकाउन १७ गते ठक्कर लागेर मृत्यु भएका शवको शदगत गराई आरोपिलाई २२ गते मात्र पक्राउ गरेको थियो ।
यता मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको प्रादेशिक अस्पतालले शव पहिचान नभएसम्म शवगृहमा राखेर पहिचानको सम्पुर्ण प्रक्रिया पुरा गरेर मात्र शदगत गराईने प्रावधान रहेको जनाए । यता गौशाला प्रहरी निरिक्षक मनोज यादवले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा २० उपदफा उपदफा (८) बमोजिम प्रहरी कर्मचारीले सरकारी खर्चमा लाशको सदगत गराएको दाबी गरेपनि पहिचान नभएका तथा वेवारिसे शव व्यवस्थापन निर्देशिका, २०७८ ले अनिवार्य रुपमा स्थानीय तह वा स्थानीय जनप्रतिनिधि वा स्थानीय नागरिकको रोहवरमा भनेपनि त्यस विपरित हत्तारमा शदगत गराईएको देखिएको छ ।
घटना लुकाउन ठक्कर दिएका परिवार र आफन्तसंग बार्गेनिङ्ग गरिरहेकै अवस्थामा मिडियामा समाचार आएपछि ठक्कर दिने ज ६ प ४८४६ नम्बरको मोटरसाईकल चालक गौशाला ५ का ३८ वर्षका गणेश प्रसाद साहलाई पक्राउ गरिएको थियो । घटना सम्बन्धनमा थप बुझ्न प्रहरी निरिक्षक मनोज यादवलाई पटक–पटक फोन गर्दा फोन उठाएनन् ।
प्रहरी निरिक्षक मनोज यादवले नेपाल प्रहरीको ‘वस्तुनिष्ठ अपराध अनुसन्धान, मानव अधिकारको सम्मान’ नारालाई धज्जिया उडाउँदै जिल्ला प्रहरी कार्यालय महोत्तरी वा ईलाका प्रहरी कार्यालय गौशालाले कुनै पनि प्रकारबाट सूचना बाहिरिन दिएको छैन । नेपाल प्रहरीको वेवसाईटमा समेत गौशाला–सम्सी सडक खण्ड घटनाको विवरण राखिएको छैन् ।
यता जिल्ला प्रहरी कार्यालय महोत्तरी तत्कालिन प्रहरी नायव उपरिक्षक दिलिप गिरीले शवको पोष्टमार्टम देखि शदगतको सम्म सबै प्रक्रिया पु¥याएर गरिएको दाबी गरे । उनले भने, ‘शव लान अस्पतालले ताकेता गरेपछि हामीले शव उठाएका हौं, मर्ने मान्छे मरेर गैसके । फेरी शव राख्ने व्यवस्थित ईक्युपमेन्ट पनि छैन् । शवलाई सुरक्षित राख्ने गृह काठमाण्डौं यता कहि छैन, त्यो पनि दिनको २५ हजार रुपैयाँ लिन्छ । हामीले घटनामा दोषि भएकोलाई पक्राउ गरिसकेको छौं, मुद्दा पनि चलाईएको छ, क्षतिपुर्ति रकम पनि जिल्ला प्रशासन कार्यालयमा जम्मा भएको छ । आफन्त कोही आए क्रिया अर्च सहित क्षतिपुर्ती रकम उनीहरुलाई उपलब्ध गराईनेछ ।’
बेवारिसे शवको पहिचान खोज्ने अभ्यास
नेपालमा प्रहरीले बेवारिसे शवको पहिचानको लागि छुट्टै मापदण्ड बनाएको छ । धेरै दिन शव राख्ने सुविधा नभएका अस्पतालहरुले एकाध दिन राखेर कसैले सम्पर्क गरेनन् भने सिधै बेवारिसे घोषणा गर्ने गरेका छन् । प्रहरीले घटनास्थल गई मृतकको हुलिया विवरण, फोटो सहितको मुचुल्का, साक्षीको भनाइ लगायतको प्रतिवेदन तयार गरेर पहिचान नखुलेको शवलाई जिल्ला सरकारी अस्पतालमा पठाउनु पर्ने व्यवस्था छ ।
त्यसपछि पोस्टमार्टम तथा भिसेरा प्रतिवेदनको लागि जिल्ला अस्पताल लाई पत्र लेखी पठाउनुपर्ने कानुनी व्यवस्था छ । तेश्रो चरणमा पहिचान नखुलेको शवको अनुसन्धान र मुद्दा दर्ताको लागि अनुसन्धान अधिकृत तोक्नुपर्ने, यसरी तोकिएको अनुसन्धान अधिकृतले जिल्ला सरकारी वकिल कार्यालयलाई प्रारम्भिक प्रतिवेदन पठाउनुपर्ने व्यवस्था छ ।
त्यसपछि शवको पहिचान खुलाउने प्रयास स्वरुप मृतकको हुलिया र फोटो सहितको विवरण आफ्नो क्षेत्रका प्रहरी कार्यालयमा परिपत्र गर्नुपर्ने, पहिचान नखुलेका शवको सम्बन्धमा दर्ता भएको फाइललाई घटना भएको दुई वर्षभित्र फाइल बन्द गरिदिन घटनास्थलका पहिलेका साक्षी वा स्थानीय व्यक्तिहरुको सहमति सहितको पत्र जिल्ला अदालत पठाइसक्ने तर कालगतिले मृत्यु नभएको अवस्थामा बीस वर्षसम्म फाइल सुरक्षित राख्नुपर्ने कानुनी व्यवस्था छ ।