
ममता अर्याल,
बर्दिबास,२८ वैशाख । साहित्य सिर्जन र गतिविधिमा उल्लेख्य योगदान पुर्याउने स्रष्टाहरुलाई सम्मानित गरिएको छ ।
विश्व नेपाली साहित्य महासङ्घ महोत्तरीले आज शुक्रबार बर्दिबासमा आयोजना गरेको एक विशेष समारोहमा गौरीशङ्कर मिथिला वाङ्मय प्रतिष्ठानका अध्यक्ष प्रेम घिमिरे ‘अग्निकवच’ र प्रगतिशील लेखक सङ्घ मधेश प्रदेश समितिका अध्यक्ष नारायण घिमिरेलाई सम्मानित गरिएको हो । कार्यक्रममा दुबै सम्मानित व्यक्तित्वलाई दोसल्ला ओढाइ सम्मानपत्र प्रदान गरिएको छ ।
घिमिरेद्वयले नेपाली साहित्यको सिर्जन , साधना र विकासमा लेखन, अभ्यास र व्यवस्थापकीय योगदान गरेवापत सम्मान गरिएको आयोजक संस्था विश्व नेपाली साहित्य महासङ्घ महोत्तरीले जनाएको छ । बर्दिबासस्थित होटल गौरीशङ्करमा सम्पन्न कार्यक्रममा एक दर्जन बढी साहित्य साधकले आआफ्ना रचना वाचन गर्नुभयो ।
कार्यक्रममा वरिष्ठ स्तम्भकार सुमन कर्माचार्य, कविहरु विपीराज दाहाल, लिलानाथ गौतम, नारद काफ्ले, गोपाल यादव , रामचन्द्र पौडेल र भीमकुमार राउतसहितले रचना वाचन गर्नुभयो ।
आयोजक संस्था विश्व नेपाली साहित्य महासङ्घ महोत्तरीका अध्यक्ष उद्धव अविचलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शुभेच्छा घिमिरेले स्वागत गर्नुभयो ।