
बर्दिबास (महोत्तरी), ८ जेठ । मधेश प्रदेशमा बौद्धिक अपाङ्गता भएका हरुले अब पढ्न पाउने भएका छन् । महोत्तरीको बर्दिबासमा सी आशा फाउण्डेसनले स्थापना गरेको ‘आशा विशेष पाठशाला तथा पुनःस्थापना केन्द्र’ ले अब बौद्धिक अपाङ्गता भएका हरुका लागि चाँडै पठनपाठन सञ्चालनको तयारी अघि बढाएको हो । फाउण्डेशनका कार्यकारी निर्देशक रुपा कार्कीले अहिले मधेश भरिमै रहेका बौद्धिक अपाङ्गता भएका व्यक्तिको खोजी गर्ने प्रारम्भिक चरणको काम थालिएको बताउनुभयो ।
फाउण्डेसनले सोमबार बर्दिबासमा आयोजना गरेको विद्यालय सञ्चालनका लागि पूर्वतयारीको अन्तर्कृयामा कार्यकारी निर्देशक कार्कीले वौद्धिक अपाङ्गता (बोल्न नसक्ने, बोली लटपटिने र इसाराले आफ्ना कुरा बुझाउनेजस्ता अपाङ्गता भएका) भएका हरुको लगत सङ्कलन र सम्पर्क विस्तारमा सहयोग गर्न अपिल गर्नुभयो । “अहिले पठनपाठन सुरु गरिनअघि पहिलोपटक यस्ता कतिजना हुन्छन् भन्ने यकिन आवश्यक छ, यो सङ्ख्या यकिन भएपछि शिक्षक, भौतिक व्यवस्थापन के कति गर्न पर्छ भन्ने निश्चित हुन्छ” कार्कीले भन्नुभयो ।
कार्यक्रममा फाउण्डेसनका शिक्षाविद् दिवाकर चापागाँईले बौद्धिक अपाङ्गता भएका हरुलाई कमसेकम आफ्नो आवश्यकता बुझ्न, यसका लागि प्रयत्न गर्न, गुणस्तर सुधार गर्न र क्रमशः क्षमता बढाउँदै लान आपूmहरुको प्रयत्न हुने स्पष्ट पार्नुभयो । बौद्धिक अपाङ्गता भएका हरुलाई पठनपाठन र विभिन्न अभ्यास गराइने पाठशालाको पाठ्यक्रम सामान्य रुपमा बुझिने कक्षागत पाठ्यक्रम नभइ व्यक्तिपिच्छे फरक हुने बताउनुभयो ।
“बौद्धिक अपाङ्गता भएका फरकफरक अवस्थाका हुन्छन् , तसर्थ प्रत्येकको आवश्यकता बुझेर व्यक्तिपिच्छे पाठ्यक्रम बनाइन्छ” चापागाँईले भन्नुभयो, “त्यसैले एक शिक्षकमा बढीमा १० जना हुनसक्छन् ।” यसअनुसार कुनै एउटा कक्षामा सातदेखि १० जनासम्म राख्न सकिने उहाँको भनाइ छ । फाउण्डेसनले मकवानपुरमा दुई र ललितपुरमा एकसहित हाल तीनवटा यस्ता विद्यालय सञ्चालन गरीसकेको छ । बर्दिबास केन्द्र सञ्चालनमा आएपछि यो सङ्ख्या चार पुग्ने फाउण्डेसनले जनाएको छ ।
कार्यक्रममा बर्दिबास नगर कार्यपालिकाको कार्यालयको शिक्षा तथा खेलकुद शाखाका प्रमुख गणेशप्रसाद दाहालले बौद्धिक अपाङ्गता भएका हरुका लागि सञ्चालनको तयारीमा रहेको पाठशालामा गरिब र सीमान्तकृत समुदायलाई प्राथमिकता दिइन सुझाव दिनुभयो । यसैगरी शिक्षाविद् पोषण थापा, बर्दिबास उद्योग वाण्ज्यि सङ्घका अध्यक्ष विष्णु खडका, सामाजिक अभियानी नागदेव यादव र जनता माध्यमिक विद्यालय बर्दिबास- ३ गौरीडाँडाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजन ढुङ्गानासहितका व्यक्तिले बर्दिबासमा स्थापित यो पाठशाला प्रदेशभरिकै लागि उपलब्धीपूणर् हुने विश्वास व्यक्त गर्नुभयो ।
बर्दिबासमा वौद्धिक अपाङ्गता भएका हरुका लागि २०७८ साल असारमा पाठशाला बन्ने काम सुरु भएको हो । पाठशालाका लागि बर्दिबास नगरपालिकाले एक बिघा जग्गा उपलब्ध गराएको हो । पाठशाला निर्माणमा मधेश सरकारले सहयोग गर्दै आएको छ । पाठशालाका लागि आठ कोठे आबासीय भवन अहिले निर्माण सम्पन्न हुने चरणमा छ । मधेश प्रदेश सरकारले चार करोडको लागतमा तयार हुनेगरी थालेको भवन निर्माणको काम अब चाँडै सम्पन्न हुने बताइएको छ । पाठशाला निर्माणस्थलमा चारैतिर पर्खाल लगाउने कामभने सम्पन्न भइसकेको छ । जम्मा १०० वौद्धिक अपाङ्गता भएका हरुका लागि आवास, भोजन, स्वास्थोपचार र अन्य पठनपाठनसँग सम्वन्धित सुविधासहित पाठशाला सञ्चालन गरिने फाउण्डेशनले जनाएको छ ।
आपूmहरुको उद्देश्य वौद्धिक अपाङ्गता भएका हरुलाई शिक्षा, सीप र आत्मविश्वास बढाएर नयाँ आशा जगाउनु रहेको कार्यकारी निर्देशक कार्की बताउनुहुन्छ । पाठशालामा आधारभूत तहको शिक्षा र थप सीपमूलक तालिम दिइने कार्कीले स्पष्ट पार्नुभयो । पाठशाला सञ्चालनमा आएसँगै मधेश प्रदेशका आठवटै जिल्लाका वौद्धिक अपाङ्गता भएका हरुले नयाँ जीवनको रुपरेखा तयार गर्ने अवसर पाउने कार्कीको भनाइ छ ।