महोत्तरी, १३ मङ्सिर ।

चुनावको दिन नजिकिदै गर्दा महोत्तरीको रामगोपालपुर-२ का वडाअध्यक्ष पदका उमेद्वार मतदातासँग सघन भेटघाटमा छन् । यही आउने आइतबार (मङ्सिर १६) मतदान हुने तालिकाको उपनिर्वाचनमा यहाँका १८ जना उमेद्वार चुनाव जित्ने दाबीसहित मतदातासँग सघन भेटघाटमा व्यस्त भएका हुन् । जिल्लामा एक वडाअध्यक्ष पदका लागि रामगोपालपुर-२ मा मात्र अहिले स्थानीयतहको उपनिर्वाचन हुँदैछ । खुला प्रचारमा जान पाउने समय सकिनै लाग्दा दल र उमेद्वारले मतदातासँगको भेटघाट झन सघन बनाउँँदैछन् ।

मतदानको दिन नजिकिदै गर्दा दलहरु आआफ्ना उमेद्वार जित्ने दाबी गर्दैछन् । यहाँ दलका सात र स्वतन्त्र ११ गरी १८ जना उमेद्वार मैदानमा छन् । यसअघि २०७९ को स्थानीयतह निर्वाचनमा जितेको नेकपा माओवादीकेन्द्र त्यो जित कायम राख्ने दवावमा छ । यो दलले यसअघि चुनाव जितेका मुकेशकुमार यादवकी पत्नी आइतीकुमारी यादवलाई उमेद्वार बनाएको छ । मुकेशको गत भदौमा एक दुर्घटनामा निधन भएपछि हुन लागेको उपनिर्वाचनमा आम मतदाता अहिलेपनि आफ्नो दलका उमेद्वारलाई जिताउन चाहीरहेका नेकपा माओवादीकेन्द्रका जिल्ला इञ्चार्ज राजु खड्का बताउनुहुन्छ ।

इञ्चार्ज खड्काको दाबीमा सही थाप्दै सो दलका उमेद्वार आइतीकुमारी यादवले आपूmलाई यहाँका मतदाताले यसअघिका वडाअध्यक्ष मुकेशले थाल्नु भएका कामको निरन्तरताका लागि मत दिने विश्वास दिलाएका बताउनुहुन्छ । “मेरा स्वर्गीय पति मुकेशले थाल्नु भएका विकास प्रयत्नलाई निरन्तरता दिन मैले उमेद्वारी दिएकी हुँ , दलले मप्रति गरेको विश्वास र जनताको स्नेहले मेरो जित सुनिश्चित हुदैछ ।”

यसैगरी यहाँका नेपाली काँग्रेसका उमेद्वार मोहम्मद जनिफ खाँ आसन्न उपनिर्वाचनमा आपूm जित्ने दाबी गर्नुहुन्छ । “म गत २०७९ को निर्वाचनमा जित्दाजित्दै हारेको थिएँ, त्यतिखेर म निकटतम प्रतिष्पर्धी भए , अहिले अवस्था फेरिएको छ , आम मतदाता मलाई हौसला दिदैछन्” उहाँ भन्नुहुन्छ, “यसपालि मेरो जित हुनेमा ढुक्क छु ।” आफ्नो दल मुलुककै अहिलेको सबैभन्दा ठूलो दल भएको र स्थानीय विकास प्रयत्नमा सधैं अघि रहेर जनतासँगको सम्बन्धमा रहेको हुँदा यसपालि आपूm जित्ने उहाँको दाबी छ । २०७९ मा ५८ मतले पछि परेको आपूm यसपालि निकै फरक मतले जित्ने उहाँ बताउनुहुन्छ ।

यसैगरी गत २०७९ को निर्वाचनमा जसपा नेपालको उमेद्वार भइ तेस्रो स्थानमा रहनुभएका सकिबुल खाँ यसपालि नेकपा (एमाले) का उमेद्वार हुनुहुन्छ । सकिबुलको चुनाव प्रचारको समन्वय गरीरहनु भएका मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री सरोजकुमार यादव सोही वडाको मतदाता हुनुहुन्छ । यादव मधेश प्रदेशसभामा एमाले संसदीय दलको नेता पनि हुनुहुन्छ । आफ्नै वडामा आफ्नो दलको उमेद्वार जित्नु पर्ने उहाँमाथि प्रतिष्ठाको विषय बनेको एमाले निकटका मतदाता बताउँछन् । सकिबुल दलका नेताहरुको बलियो साथ र जनताको विश्वासले यो उपनिर्वाचन आपूm जित्ने दाबी गर्नुहुन्छ ।

“गत निर्वाचनयता यहाँका जनसरोकारका योजनाहरु हाम्रो अगुवाइमा अघि बढेका छन् , यहाँको विकासका लागि एमाले जित्नुपर्छ भन्ने मतदाताले बुझेका छन्” सकिबुल भन्नुहुन्छ, “त्यसैले यसपालि चुनाव जित्ने हामीले हो ।”

यता आसन्न उपनिर्वाचन आफ्नो दलले जित्ने जसपा नेपालको दाबी छ । मधेशका मुद्दाहरु उजागर गर्दै विभेदविरुद्ध उभिएको दल आफ्नो भएको हुँदा आसन्न उपनिर्वाचन आपूmले जित्ने सो दलका उमेद्वार मोहम्मद नजामुद्दिन खाँ बताउनुहुन्छ । “जनताले विगतदेखि अहिलेसम्मको मुल्याङ्कन गर्दैछन् , हाम्रो दललाई जनताको निणर्यमा भरोसा र विश्वास छ” उहाँ भन्नुहुन्छ, “चुनाव प्रचारमा घरघरै पुग्दा जुन विश्वास हामीले पाएका छौ, त्यसले जित सुनिश्चित गर्दोछ ।”

यी चारबाहेक राप्रपा, रास्वपा र राजपा (राष्ट्रिय जनता पार्टी) पनि दलगत रुपमा चुनावी मैदानमा छन् । राप्रपाबाट मोहम्मद मनान खाँ, रास्वपाबाट खुरसेद खाँ र राजपाबाट राजेशकुमार यादव उमेद्वार हुनुहुन्छ । यी दलका नेता, कार्यकर्ता पनि अहिले उपनिर्वाचन परिणाम आफ्नो पक्षमा हुने दाबीसाथ उमेद्वार लिएर घरघरै मतदाता भेट्दैछन् ।

यसबाहेक उपनिर्वाचनमा ११ जना स्वतन्त्र उमेद्वार छन् । स्वतन्त्र उमेदवार पनि दलका उमेदवार आफ्ना दलप्रति पक्षपाती हुने भएकाले निस्वार्थ रुपमा जनताको सेवा आपूmहरुले गर्नसक्ने बताउँछन् । आसन्न उपनिर्वाचनमा यहाँ मुकेश्वर ठाकुर, मोहम्मद इमामुद्दिन खाँ, अशोककुमार यादव, नजामुद्दिन खाँ, धीरेन्द्रप्रसाद यादव, मोहम्मद अरमान रजा खाँ, गङ्गाप्रसाद यादव, राकेशकुमार यादव, राजदेव यादव, रामऔतार यादव र विजयकुमार सिंह उमेद्वार हुनुहुन्छ । यसपालिको उपनिर्वाचनमा यहाँ २० जनाले मनोनयनपत्र दर्ता गराएका थिए । तर पछि जनमत पार्टीका ललिन्द्रकुमार साह र स्वतन्त्र विवलेन्द्रकुमार यादवले उमेद्वारी फिर्ता लिएपछि अब चुनावी प्रतिष्पर्धामा १८ जना बाँकी रहेका हुन् ।

अहिले उमेद्वार र दलका नेताहरु घरदैलो गर्दैछन् । जिल्लामा एकमात्र ठाउँमा उपनिर्वाचन भएको हुँदा सबैजसो दलका केन्द्र, प्रदेश, जिल्ला र अन्य स्थानीयतहसम्मका नेता कार्यकर्ता जम्मा हुँदा यहाँको राजनीति अहिले निकै तातेको छ । यहाँको चुनावी प्रचारमा नेकपा माओवादीकेन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ , मधेश प्रदेश इञ्चार्ज लीलामणि पोखरेलसहितका नेता सहभागी हुनुभएको छ । जिल्ला इञ्चार्ज खड्का त दैनिक प्रचार संयोजन नै गरीरहनु भएको छ । यसैगरी नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उमेद्वारसँगै घरदैलो पुग्दै मतदाता भेट्नु भएको छ । नेकाका जिल्लातहका नेताहरु अहिलेपनि रामगोपालपुरमै रहेर प्रचार संयोजन गरीरहेका छन् ।

यता सोही वडाको मतदाता रहनुभएका नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा मधेश प्रदेश सरकारका वरिष्ठ मन्त्री सरोजकुमार यादव नियमित मतदातासँगको भेटघाटमा व्यस्त हुनुहुन्छ । एमालेका पोल्युटब्युरो सदस्यहरु , अन्य केन्द्रीय सदस्यहरु, प्रदेश कमिटीका पदाधिकारी र जिल्लाका पदाधिकारीहरुको सघन आउजाउ छ । यस्तै जसपा नेपालका नेता तथा पूर्वराज्यमन्त्री डा. सुरेन्द्रकुमार यादव आफ्नो दलको तर्फबाट चुनावी प्रचारको संयोजन गरीरहनु भएको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पनि चुनावी प्रचार अभियानमा सरिक भई मतदातासँग आफ्ना उमेद्वारलाई मतदान गर्न अपिल गरीसक्नु भएको छ ।

रामगोपालपुर-२ मा यसअघि २०७९ को स्थानीयतह निर्वाचनमा विजयी हुने मुकेशकुमार यादवले ४३३, निकटतम प्रतिष्पर्धी नेकाका जनिफ खाँले ३७५, जसपाका सकिवुल खानले ३४२ र एमालेका कादिर हुसैनले २८७ मत प्राप्त गर्नुभएको थियो । सो वडामा अहिले एक हजार २०१ पुरुष र ९४० महिलासहित दुई हजार १४१ मतदाता छन् ।

उपनिर्वाचन शान्तिपूर्वक सम्पन्न गर्न जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले सम्बद्ध सबैपक्षसँग अपिल गरेको छ । उपनिर्वाचनका लागि सुरक्षा प्रबन्धदेखि अन्य प्रयोजनको जनशक्ति व्यवस्थापन भएको छ । आम मतदातालाई ढुक्क भइ मतदान गर्न मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले अपिल गर्नु भएको छ ।

२०८१ मंसिर १३, बिहीबार २१:१४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय