नेपालावाणी नेटवर्क
जनकपुरधाम फाल्गुन

मधेश प्रदेशमा पहिलो पटक सरकारी स्तरबाट एमबिबिएसको पढाई सुरुवात गराउन सफल भएको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्नो चौथो वार्षिकोत्सव मनाएको छ । लामो संघर्ष र अथक मेहनतले जनकपुर अञ्चल अस्पतालबाट प्रादेशिक हुँदै हाल मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान बनेको मधेशको स्वास्थ्य तथा शिक्षाको हबको रुपमा स्थापित प्रतिष्ठानले आफ्नो चौथो वार्षिकोत्सव भव्यताका साथ मनाएको छ ।

वार्षिकोत्सवको अवसरमा प्रमुख अतिथिको आसनबाट मधेश प्रदेशका मुख्यमन्त्री सतिष कुमार सिंहले स्वास्थ्य सेवामा नागरिकको पहुँचवृद्धि तथा आधारभूतसंगै विशिष्टीकृत स्वास्थ्य सेवामा सहज उपलब्धता र गुणस्तर कायम गर्ने सरकार तत्पर रहेको बताए । उनले देशकै सन्दर्भमा राम्रो गर्न निक्कै कठिन र चुनौतीपूर्ण भएपनि सरकारी स्वास्थ्य संस्थाको पूर्वाधार विकास तथा विस्तार, दक्ष तथा सीपयुक्त जनशक्ति व्यवस्थापन, आधुनिक स्वास्थ्य उपकरणको पर्याप्त उपलब्धता आदि क्षेत्रमा तिव्रताका साथ मधेश सरकारले काम गरिरहेको बताए ।

उनले भने, ‘मधेशको स्वास्थ्य सेवा व्यवस्थित, प्रभावकारी र परिणामुखी हुन नसकेको स्थितिमा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले सुलभ तरिकाले भरपर्दो एवम् विश्वसनीय स्वास्थ्यसेवा प्राप्त गर्ने नागरिकको आवश्यकता तथा संविधान प्रदत्त अपेक्षा समग्रतामा पुरा गरिरहेकोमा धन्यावाद ज्ञापन गर्दछु । मधेश सरकार अत्यन्त गम्भीर तथा संवेदनशील भएर स्वास्थ्य क्षेत्र र चिकित्सा सेवाको प्रभाव एवम् परिणामलाई उच्च, सकारात्मक र उपलब्धिमूलक बनाउन कानुनी तथा नीतिगत व्यवस्था, त्यसअनुरुप योजना तथा कार्यक्रम कार्यान्वयनका लागि दत्तचित भएर लागेको छ ।’

मुख्यमन्त्री सिंहले स्वास्थ्य सेवा मापन गर्ने सूचकको दृष्टिले पछिल्ला दिनमा देखिएका सुधार पनि सरकारी प्रयासकै एउटा उदाहरण रहेको बताए । उनले मधेशमा चिकित्सा सेवामा नागरिकको पहुँच तथा सेवाको गुणस्तर सुनिश्चित गर्न सरकार उत्तरदायी एवम् जवाफदेही भएर अग्रसर भएको बताए । मुख्यमन्त्री सिंहले भने, ‘चिकित्साक्षेत्रमा दक्ष जनशक्ति उत्पादन जरुरीको बेलामा प्रतिष्ठानका शैक्षिक कार्यक्रमबाट प्रदेशका लागि व्यावसायिक तथा नैतिक आदर्शबाट प्रेरित चिकित्सक एवम् स्वास्थ्यकर्मीहरुको व्यवस्थापन हुनेछ । ’

उनले भने, ‘यसले प्रतिष्ठान चिकित्साविज्ञानको क्षेत्रमा एउटा सबल, सक्षम र प्रतिस्पर्धी अध्ययन केन्द्र तथा स्वास्थ्यसेवा प्रदायक संस्था बन्दै गएको र आउँदा दिनमा प्रदेशकै चिकित्सा क्षेत्रको बलियो खाम्बो बन्ने निश्चित छ । म यस अतुल्य उपलब्धिका लागि प्रतिष्ठानका उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रार लगायत पदाधिकारी, प्राध्यापक चिकित्सक र कर्मचारीहरुलाई बधाई दिन चाहन्छु ।’

प्रतिष्ठानबाट चिकित्सासेवामा सुधार एवम् विस्तार भई विशिष्टीकृत सेवा प्राप्तिका लागि अन्य प्रदेशसम्म पुग्नुपर्ने बाध्यताको अन्त्य हुने स्थिति बन्ने मुख्यमन्त्रीको भनाई थियो । उनले स्वास्थ्य सेवा इन्झटिलो, खर्चिलो प्रकिया पार गर्नुपर्ने प्रदेशवासीको दिक्दारी कम हुने बताउँदै प्रतिष्ठानका अध्येता एवम् अन्वेषक जनशक्तिबाट हुने जटिल रोगको उपचार तथा अध्ययनले देशकै चिकित्सा प्रणालीलाई दिशानिर्देश गर्ने बताए ।

२०८१ फाल्गुन १६, शुक्रबार १४:२७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय