नेपालवाणी डटकम
जनकपुरधाम, फाल्गुन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन प्रसाद सिंहले गुणस्तरीय स्वास्थ्य सेवामा जनताको सहज, सुलभ र समान पहुँच सुनिश्चित गर्ने संवैधानिक दायित्व निर्वाहनका लागि मधेश सरकार सदैव तत्पर रहेको बताए । उनले साझा अधिकार भित्र पर्ने स्वास्थ्य क्षेत्रको स्थितिमा गुणात्मक तथा परिणात्मक फड्को मार्न सरकार प्रवद्र्धनात्मक, प्रतिकारात्मक, उपचारात्मक तथा पुनस्थापकीय स्वास्थ्य सेवाको स्तरोन्नतिमा विशेष जोड दिँदैआएको बताए ।

उनले भने, ‘स्वास्थ्य क्षेत्रलाई आवश्यक कानुन तथा नीति निर्माणसँगै व्यवस्थापकीय कार्यका माध्यमले प्रदेश सरकार पछिल्ला दिनमा दुरवस्थामा रहेको मधेश प्रदेशको स्वास्थ्य अवस्थामा आशातीत सुधार ल्याउँदैछ । यद्यपि यो अवस्था भने अपेक्षित र पूर्ण सन्तोषजनक छैन । अर्थात् स्वास्थ्य क्षेत्रको सुधार प्रयासलाई द्रुत गतिमा अघि बढाउनुपर्ने चुनौती हामीसामु छँदैछ ।’

स्वास्थ्य क्षेत्रमा पद्धति तथा प्रणाली स्थापना तथा तिनको प्रभावकारी परिचालन गर्नका लागि आफुले सकभर सुधार्ने प्रयास गरिरहेको बताए । स्वास्थ्य मन्त्री सिंहले भने, ‘साधन श्रोत एवम् मानव संशाधन व्यवस्थापनमा देखाएको अग्रसरताले नै आधारभूत र विशिष्टीकृत स्वास्थ्य सेवाको पाटोमा हामी सशक्त बन्ने क्रममा छौं । स्वास्थ्य सम्बन्धी सूचकहरुलाई मजबुत बनाई मानव विकास सूचकांकमा सिङ्गो प्रदेशको स्थिति सुदृढ बनाउन तत्पर छौं ।’

‘स्वस्थ जनशक्तिबाट मात्र उत्कृष्ट मानवीय मूल्यका आधारमा जीवन सम्भव छ भन्ने बोधले हामी सबैखाले रुग्नता विरुद्ध पुनः स्थापकीय स्वास्थ्यसेवमा जोड दिएका छौं ।’, स्वास्थ्यमन्त्री सिंहले भने, ‘आर्थिक व्यवस्थापन, उपकरण सहितको भौतिक पूर्वाधार र उच्च सेवाभाव तथा मनोबल सहितको दक्ष जनशक्तिको परिचालनबाट स्वास्थ्य सेवाको सुधार गर्नुपर्ने विषय अपरिहार्य छ ।’

स्वास्थ्यमन्त्री सिंहले चार वर्षको समय नपुग्दै प्रतिष्ठान एउटा विश्वसनीय प्राज्ञिक संस्था बनेकोमा सम्पूर्ण प्रतिष्ठानकर्मीहरुलाई बधाई तथा शुभकामना दिदै दक्ष चिकित्सक तथा स्वास्थ्य सेवामा संलग्न रहने जनशक्ति उत्पादन गर्ने उपादेयताका दृष्टिले मात्र प्रतिष्ठानको गौरव नखोजी यसलाई प्रदेशका गरिब र असहाय बिरामीका लागि उत्कृष्ट चिकित्सकीय केन्द्रका रुपमा विकसित गर्न जरुरी रहेको बताए ।

२०८१ फाल्गुन १६, शुक्रबार १५:१६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय