
महोत्तरी, १८ फागुन
भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जिवकुमार साहले नगर कार्यपालिकाको कार्यालय र नगरका नौ वटै वडा कार्यालयका दैनिक कामकाज आफैंले ठप्प पार्नुभएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत नपठाइदिदा दिनदिनै अप्ठ्यारो झेल्नु परेपछि सबै कार्यालय खुलेको अर्थ नहुँदा बन्द गर्नुपरेको नगरप्रमुख साहले बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत नहुँदा विकास निर्माणदेखि कार्यालयबाट सम्पादन हुनपर्ने जनताका काम हुन नसक्दा आफू नगरप्रमुख भएको आत्मग्लानीले आज सबै कार्यालय बन्द गराएको उहाँको भनाइ छ । “म आफैं प्रमुख प्रशासकीय अधिकृत पठाइ दिन कैयौंपटक मन्त्री ज्यू र सचिब ज्यूलाई भेटेर अनुरोध गरेको छु” आज कार्यालयकाे साँचाे जिल्लाका प्रमुख अधिकारीको टेबलमा राख्दै साहले भन्नुभयो, “तपाईँ जिल्लामा सरकारका मुख्य प्रतिनिधि हुनुहुन्छ, अब तपाईँले नै नगर कार्यपालिकाको र वडाका कार्यालय सञ्चालन गरी दिन पर्यो ।” कार्यालय सबै बन्द गरेर जिल्ला सदरमुकाम जलेश्वर पुग्नुभएका साहले प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीसँग यसबारे आवश्यक समन्वय गरी दिन आग्रह पनि गर्नुभयो ।
आफूले मन्त्री ज्यू र सचिब ज्यूसँग उपसचिब नै पठाइदिन आग्रह गरेको र सो व्यवस्थापनमा समय लाग्ने भए तत्काल कामकाज सञ्चालन भइराख्न कार्यालयकै वरिष्ठ कुनै अधिकृतलाई तोकीदिन अनुरोध गरेको साहको भनाइ छ । “न उपसचिब पठाइयो, न कसैलाई तत्काल कार्य सञ्चालनको जिम्मा दिइयो, ल, भन्नोस् अब त्यहाँ कार्यालय खुलेको के अर्थ हुन्छ ?” साहले प्रजिअ अधिकारीसँग भन्नुभयो, “बगावत (विद्रोह) गर्न आएको हुइँन, सरकारलाई ससम्मान साँचो बुझाउन आएको हुँ ।”
नगरप्रमुख साहसँग कुरा गर्दै प्रजिअ कवारीले नगर कार्यपालिकाको कार्यालयको साँचो आफूले जिम्मा लिन नमिल्ने बताउँदै परेको अप्ठ्यारोबारे उपल्लो तहमा तत्काल समन्वय गर्ने प्रतिबद्धता जनाउनुभयो । कवारीले नगरप्रमुख साहकै अगाडि गृह मन्त्रालयका सचिबलाई फोन गरेर नगरप्रमुख साहको गुनासो सम्बोधनका लागि समन्वय गरीदिन अनुरोध गर्नुभयो ।
बर्सेनि केही महिनामै प्रमुख प्रशासकीय अधिकृत सरुवा गरी दिदा नयाँ आउने टुङ्गो नहुँदै पहिलेका गइहाल्ने चलनले धेरै कठिनाइ खेप्नु परेको साहको गुनासो छ । अहिले प्रमुख प्रशासकीय अधिकृत नहुँदा निर्माण कार्य सम्पन्न गरेका उपभोक्ता समितिका पदाधिकारीले दिनहुँ आफूलाई टोकेसो गरीरहेका साहले बताउनुभयो ।
मुख्य हाकिम (प्रमुख प्रशासकीय अधिकृत) नहुँदा कर्मचारीले तलव लिन पाएका छैनन् । पछिल्लो पटक नगर कार्यपालिकाको कार्यालयसँगै सबै वडा कार्यालयमा पनि नगरप्रमुखले नै तालाबन्दी गरेपछि अब त आम जनताका दैनिक प्रयोजनका सिफारिस र पञ्जीकरणका कामसमेत रोकिएका कामप्रयोजनले नगर कार्यपालिकाको कार्यालय पुग्नुभएका भङ्गाहा–४ का ३० वर्षीय युवा रामईश्वर ठाकुरको गुनासो छ ।
२०८१ फाल्गुन १८, आईतवार २२:४८मा प्रकाशित