
गाेपाल बराल,
बर्दिबास, २६ वैशाख ।
मधेश प्रदेश सरकारले पर्यटन बोर्ड गठनको तयारी बढाएसँगै यहाँका होटल तथा पर्यटन व्यवसायी उत्साहित भएका छन् । प्रदेश सरकारको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयले बोर्ड गठनको तयारी अघि बढेको जनाएसँगै प्रदेशका होटल तथा पर्यटन व्यवसायीले अब पर्यटन प्रबर्द्धनका कामले गति लिने आस बढाएका हुन् ।
“उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयले बोर्ड गठनको तयारी अघि बढेको जनाएको छ” नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घ मधेश प्रदेशका अध्यक्ष हिरालाल गौतम भन्नुहुन्छ “यसले हामीलाई उत्साहित बनाएको छ, अब प्रदेशका धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्वका ठाउँहरुमा योजनाबद्ध काम थालिने विश्वास जागेको छ ।” बोर्डको गठनसँगै पर्यटन प्रबर्सार्थक क्षेत्रमा सरकारले थाल्ने योजनाबद्ध काममा महासङ्घ सँगसाथ उभिने गौतमको प्रतिबद्धता छ ।
प्रदेशका पूर्व सप्तरीदेखि पश्चिम पर्सासम्मका आठवटै जिल्लामा पर्यटन विकासका प्रचुर सम्भावना रहेको महासङ्घको ठम्याइ छ । “प्रदेशका आठवटै जिल्लामा देशविदेशसम्म प्रसिद्धि पाएका धार्मिकस्थल छन् , यिनको पहिचानका प्रारम्भिक चरणका काम पनि भएका छन् , अब योजनाबद्ध काम थालनीको आवश्यकता छ” सर्लाहीका होटल तथा पर्यटन व्यवसायी एबं महासङ्घका प्रदेश महासचिब वैकुण्ठ सापकोटा भन्नुहुन्छ, “हाम्रो भूगोल (मधेश) को मिथिला संस्कृति अतिथि सत्कारमा विश्वमाझ कहलिएको छ, यो परिचय र यहाँ हुने योजनाबद्ध कामले पर्यटन प्रबर्द्धनले गति लिने छ ।”
प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सकिल अली मिञाँले होटल तथा पर्यटन व्यवसायीबीच पर्यटन ऐन बनेको र अब नियमावली बनाउने काममा जुटेको बताउनु भएपछि उत्साह बढेको महासङ्घले जनाएको छ । “मन्त्री मिञाँले सार्वजनिक रुपमै ऐन बनेको , नियमावली बन्ने काम अघि बढेको र यो सकिनासाथ बोर्ड गठन हुने बताउनु भएको छ” मन्त्री मिञाँको भनाइ उद्धृत् गर्दै महासङ्घका प्रदेश कोषाध्यक्ष तथा बर्दिबासका होटल तथा पर्यटन व्यवसायी दानबहादुर थापा भन्नुहुन्छ, “प्रदेश सरकारको यो तत्परताले हामी व्यवसायीलाई ऊर्जा दिएको छ ।”
महासङ्घले आफूहरुले एक वर्षअघि घोषणा गरेको ‘घुमौ मधेश, बुझौ मधेश’ नारालाई प्रदेश सरकारले अपनत्व लिएर हौसला दिएको जनाएको छ । “हामीले गत वर्ष नै यो नारा घोषणा गरेर जिल्लाजिल्लाका पर्यटकीय स्थलको अवलोकनको शृङ्खला थालेका हौ, अहिलेसम्म छ जिल्लामा सम्पन्न अवलोकन शृङ्खलामा मन्त्री, मन्त्रालयका सचिब , प्रदेशसभा सचिवालयका अधिकारी र सम्बद्ध जिल्लाका प्रशासनिक निकायका प्रमुखहरुको बलियो साथ पाएका छौ” महासङ्घका प्रदेश अध्यक्ष गौतम फेरि भन्नुहुन्छ, “हामीले तय गरेको नारा ‘घुमौ मधेश, बुझौ मधेश’लाई प्रदेश सरकारले आफ्नो कार्यक्रममा गाभेपछि व्यवसायीहरुको उत्साह बढेको छ ।”
महासङ्घले ‘घुमौ मधेश, बुझौ मधेश’ अन्तर्गत मधेश सरकारका मन्त्री, विभिन्न निकायका पदाधिकारी, सरोकारवाला र सञ्चारकर्मीसहितको जिल्लाजिल्लाको अवलोकन कार्यक्रम केही महिनाको फरकमा आयोजना गर्दै आएको छ । “हामीले गतवर्ष बाराबाट सुरु गरेको अवलोकन शृङ्खलाअन्तर्गत महाेत्तरी, रौतहट, सिरहा, बारा, सर्लाही र सप्तरीमा सम्पन्न गरेका छौ” महासचिब सापकोटा भन्नुहुन्छ, “प्रत्येक शृङ्खलामा उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रीको साथ पाएका छौ ।” अब पहिलोचरणको शृङ्खला धनुषा र पर्साको अवलोकनपछि सकिने र अर्को चरण प्रवेश गर्ने होटल तथा पर्यटन व्यवसायीको योजना छ । जिल्लाजिल्लाका अवलोकन शृङ्खलामा स्थानीय सम्भावना, भइरहेका कामबारे जानकारी र एकअर्को ठाउँका साँस्कृतिक परम्परा तथा चाडपर्वबारे बुझ्ने राम्रो अवसर पाइएको अहिलेसम्म सम्पन्न छ वटै शृङ्खलामा सहभागी महोत्तरीका पत्रकार विशाल बस्नेतको प्रतिकृया छ ।
यसैगरी महासङ्घका गतिविधिले मन्त्रालयका काममा र पर्यटन प्रबर्द्धनका क्षेत्रको चासो वृद्धिमा सघाउ पुर्याएको मन्त्री मिञाँको ठहर छ । “होटल तथा पर्यटन व्यवसायीले रचनात्मक र सिर्जनात्मक अभियान बढाउँदै हुनुहुन्छ” पत्रकारकाे जिज्ञासामा मिञाँले भन्नुभयो, “यसले जहाँजहाँ अवलोकन शृङ्खला सम्पन्न भएका छन्, त्यहाँका धार्मिक, पुरातात्विक र ऐतिहासिक स्थलबारे आम चासो बढेको छ ।” महासङ्घका सिर्जनात्मक यी काममा मन्त्रालय साथ रहेको उहाँले बताउनुभयो । महासङ्घका प्रतिनिधिले भनेजस्तै पर्यटन ऐन बनी सकेको र अहिले नियमावली बनाउने तयारीमा मन्त्रालय रहेको उहाँको भनाइ छ । “ऐन बन्यो, नियमावली बन्ने क्रममा छ, यसलगत्तै पर्यटन बोर्ड गठन गरिन्छ” मिञाँले भन्नुभयो । प्रदेशका धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्वका ठाउँहरुमा योजनाबद्ध काम थालिएका उहाँले बताउनुभयो । बोर्ड गठन भएपछि पर्यटनक्षेत्रका कामको समन्वय अझ प्रभावकारी हुने मिञाँको भनाइ छ ।