गाेपाल बराल,
महोत्तरी, १ साउन ।

महोत्तरीको बर्दिबासमा आज बिहीबार आन्तरिक राजश्व कार्यालय सञ्चालनमा आएको छ । यहाँ यसअघि करदाता सेवा कार्यालय सञ्चालन हुँदै आएको थियो । कार्यक्षेत्र र सेवा विस्तार गरिदै नयाँ आर्थिक वर्ष २०८२/०८३ को प्रारम्भसँगै आज आन्तरिक राजश्व कार्यालयको सेवा शुभारम्भ गरिएको हो ।

यसअघि महोत्तरीका बर्दिबास , गौशाला र धनुषाको मिथिला नगरपालिका क्षेत्रलाई सेवा दिदै आएको यहाँको करदाता सेवा कार्यालयलाई स्तरोन्नति गरी आन्तरिक राजश्व कार्यालय सञ्चालन गरिएको छ । यस कार्यालयले अब पहिले दिदै आएको सेवाक्षेत्रमा सर्लाही र सिन्धुली जिल्लालाई थप गरेको कार्यालय प्रमुख कर अधिकृत गेहेन्द्रप्रकाश गिरीले जानकारी दिनुभयो ।

करदाता सेवा कार्यालय हुँदा कर सङ्कलनमात्र गरिदै आइएको थियो । अब आन्तरिक राजश्व कार्यालय सञ्चालनमा आएपछि सेवाक्षेत्रमा कर परीक्षण, निरीक्षण र अनुसन्धनात्मक कामसमेत यहींबाटै हुने करअधिकृत गिरीले बताउनुभयो । नयाँ सेवासहितको कार्यालयको आज आन्तरिक राजश्व कार्यालय जनकपुरधामका प्रमुख कर अधिकृत आनन्दकुमार गुप्ताले शुभारम्भ गर्नुभयो ।

कार्यालयको सेवा शुभारम्भ कार्यक्रममा सर्लाहीका हरिवन, लालबन्दी र मलङ्गवा, सिन्धुलीको सिन्धुली , धनुषाको मिथिला र महोत्तरीका बर्दिबास र गौशाला उद्योग वाणिज्य सङ्घका अध्यक्षहरुले आन्तरिक राजश्व कार्यालय स्थापनाले यसभेगका करदातालाई सेवा लिन सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

सो अवसरमा बर्दिबास उद्योग वाणिज्य सङ्घका अध्यक्ष विष्णु खडकाले यो सेवा सञ्चालनका लागि गरिएका प्रयत्नमा सिन्धुली, सर्लाहीका उद्योग वाणिज्य सङ्घहरुले गरेका सहयोग स्मरण गर्नुभयो ।

बर्दिबासमा हाल भाडाको घरमा सञ्चालित कार्यालय अब दुई वर्षभित्रै आफ्‌नै भवनमा सर्ने कार्यालय प्रमुख गिरीले बताउनुभयो । कार्यालयको बर्दिबास–१४ स्थित पाँच कठ्ठा जग्गामा अत्याधुनिक सेवासुविधासहितको भवन निर्माण धमाधम भइरहेको छ । सात करोड २० लाखको टेण्डर व्यवस्थापनबाट निर्माण थालिएको १५ भन्दा बढी कोठाको तीनतले भवन एक वर्ष छ महिनाभित्र बनीसक्ने निर्माण कम्पनीसँग सम्झौता भएको गिरीको भनाइ छ ।


२०८२ श्रावण १, बिहीबार २०:४१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय