बर्दिबास : मधेश प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दनसिंह क्षेत्रीले सहकारी संस्थाहरुले महिला सशक्तिकरणका क्षेत्रमा महत्वपूर्ण योगदान दिएका बताउनु भएको छ । आज शुक्रबार महोत्तरीको बर्दिबासमा एकीकृत बचत तथा ऋण सहकारी संस्थाको छैठौं साधारणसभामा उद्घाटन मन्तव्य दिदै उहाँले सहकारी आन्दोलनले महिलालाई सङ्गठित गर्ने , प्रशिक्षित गर्ने र आयआर्जनका क्षेत्रमा प्रोत्साहन गरेर सशक्तिकरणमा योगदान दिएका उल्लेख गर्नुभयो ।

पछिल्ला वर्षहरुमा केही सहकारी संस्थामा बचतकर्ताका रकम अपचलन गर्ने प्रवृति मौलाएको प्रसङ्ग उक्काउँदै यस्ताविरुद्ध कार्वाहीमा मोलाहिजा नहुने स्पष्ट पार्नुभयो । “अहिले बचतकर्ताको रकम अपचलन गर्नेहरु धमाधम कार्वाही प्रकृयामा छन्‌” उहाँले भन्नुभयो , “त्यसैले सहकारीलाई नीति, नियमअनुसार चलाउनोस् , सरकार तपाईँहरुको साथ रहने छ ।” प्रदेश सरकारले सहकारी शिक्षाको कार्यक्रम बनाएको उल्लेख गर्दै उहाँले अब अभियानका रुपमा प्रशिक्षण चलाइने स्पष्ट पार्नुभयो ।

एक फरक राजनीतिक प्रसङ्ग उप्काउँदै मन्त्री क्षत्रीले अहिलेको निर्वाचनपद्धति त्रुटिपूर्ण रहेको उल्लेख गर्दै राजनीतिक दलहरुले आपसी सहमतिमा सम्बिधान संशोधन गरेर समय सापेक्ष बनाउन पर्ने सुझाव दिनुभयो । “प्रतिनिधित्वमा समानुपातिक , समावेसी सबै रहोस् , तर यसका लागि निर्वाचन क्षेत्र नै छुट्याएर प्रत्यक्ष निर्वाचनबाटै प्रतिनिधित्वको व्यवस्था गरिन पर्छ ।”

कार्यक्रममा राष्ट्रिय सहकारी विभागका प्रदेश प्रमुख वासुदेव भट्ट, राष्ट्रिय सहकारी सञ्चालक शारदा दाहाल र जिल्ला सहकारी सङ्घ लिमिटेडका अध्यक्ष गगनदेव यादव एबं बर्दिबास नगर कार्यपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत राममणि अधिकारीसहितले सहकारी क्षेत्रले अहिले खेप्नु परेका समस्याबारे प्रदेश तथा सङ्घीय सरकारको ध्यानाकर्षण गराउनुभयो ।

साधारणसभाले आर्थिक वर्ष २०८२/०८३ का लागि १८ करोड पाँच लाख ६० हजार ३८० को अनुमानित आयव्ययको बजेट पारित गरेको छ । कार्यक्रम संस्थाका अध्यक्ष उत्तमकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो । विक्रम सम्वत् २०७७ साल असार २३ गते स्थापना भएको यो संस्थामा एक हजार ८१६ पुरुष र एक हजार ३८० महिलासहित तीन हजार १९६ सदस्य रहेका कार्यक्रममा जानकारी दिइएको छ ।

 


२०८२ भाद्र २०, शुक्रबार २०:४५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय