अनिल कुमार साह
जनकपुरधाम, कार्तिक ।

धनुषाको पूर्व पश्चिम राजमार्गमा एक यात्रुवाहक बसले अटोरिक्सालाई ठक्कर दिदा चार जनाको मृत्यु भएको छ । धनुषाो उत्तरी क्षेत्र पश्चिम राजमार्ग अन्तर्गत बीरेन्द्रबजारमा यात्रुबाहक बसले अटोरिक्सालाई ठक्कर दिँदा एक महिला सहित चार जनाको मृत्यु भएको छ भने अन्य दुईजना गम्भीर घाइते भएका हुन् ।

मृत्यु हुनेहरुमा गणेशमान चारनाथ नगरपालिका १ भरतपुरका अन्दाजी ४० वर्षीय रिक्साचालक डम्बर राई, यात्रुहरु स्थानीय अन्दाजी ४० वर्षीय धनबहादु पुर्वछाने मगर, ३५ वर्षीय शम्भु पुर्वछाने मगर र ३५ वर्षीय निशा मगर रहेको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक लक्ष्मण तोसीले जानकारी दिए । दुर्घटनामा पर्नेमा रिक्सा चालक बाहेक अन्य सबै एकै परिवारको रहेको बुझिएको छ ।

शनिबार साँझ ७ बजे पूर्व–पश्चिम राजमार्ग अन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका १ वीरेन्द्रबजार स्थित बिराटनगरबाट धनगढी जाँदै गरेको सु प्र ०१–००१ ख ३२८८ नम्बरको बसले विपरी दिशाबाट आउँदै गरेको प्रदेश २–०१–००१ ह १२३० नम्बरको अटोलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा १४ वर्षका शीतल मगर र ९ वर्षका रोशन मगर गम्भीर घाइते भएका छन् । उनीहरूको जनकपुरधाम स्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे जिल्ला प्रहरी कार्यालय धनुषा र ईलाका प्रहरी कार्यालय ढल्केवर तथा प्रहरी चौकी बीरेन्द्रबजारको टोलीले अनुसन्धान गरिरहेको जनाएको छ ।

ठक्कर दिने बसका चालक लखिराम दनुवार थारुलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको छ । मृतकहरुको शव पोष्टमार्टमको लागि जनकपुरधाम मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थित प्रादेशिक अस्पताल पठाईएको छ ।


२०८२ कार्तिक १६, आईतवार ०९:०५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय