जनकपुरधाम, कात्तिक १८ गते । नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य एवं मधेश पत्रकार महासंघ मधेश प्रदेशका निवर्तमान अध्यक्ष पत्रकार राजेशकुमार कर्णमाथि आक्रमण गर्ने पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा महोत्तरी जिल्ला जलेश्वर नगरपालिका लोचना निवासी हाल जनकपुरधाम उपमहानगरपालिका ४ कटैया चौरीमा बस्दै आएका ३५ वर्षिय कृष्ण राय रहेका छन् ।
सोमवार सांझ पत्रकार कर्ण कटैयाचौरीस्थित आफ्नो निजी निवासबाट करीब डेढ/दुई सय मीटर अगाडि वाकिंगका लागि निस्केको बेला रक्सी खाएर मातिएका उनकै छिमेकी रहेका रायले घाँटी निमोठने प्रयास गर्दै निर्घात रुपमा कुटपिट गरेका थिए ।
ज्यान मार्ने उद्देश्यले नै घाँटी निमोठन प्रयास गरेको र म घटना स्थलबाट ज्यान जाेगाउन नभागेको भए ज्यान बच्न सक्ने थिएन पिडित पत्रकार कर्णले बताए । उनले भने राय मेरो छिमेकी रहेको भन्ने मलाई थाहा पनि थिएन, उनलाई त चिन्नु त कुरै छैन । एक्कासी आएर घाँटी निमोठ्दै मुक्का घुस्साले धमाधम प्रहार गरेको थियो ।
कुटपिटबाट पत्रकार कर्णको आँखा तल घाव भएको छ भने शरीरको अन्य भागमा समेत चोट लागेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । घटना भए लगतै सिसिटीभीको फुटेजको सहयोगमा आरोपित रायलाई प्रहरीले पक्राउ गरेका थिए । घटनाकाे प्रकृति हेर्दा रायलाई एक अर्कासंग चिनजान नरहेकाे अवस्थामा आक्रमण गर्नु भनेकाे रायलाई कसैले प्रयाेग गरी पत्रकारमाथि आक्रमण गराएकाे हाे । घटनाकाे सत्यतथ्य छानबीन गरि याेजनाकारलाई समेत नियन्त्रणमा लिई कारवाही गर्न पत्रकारहरूले माग गरेका छन् ।
प्रहरी नियन्त्रणमा रहेका आरोपित रायविरुद्ध प्रहरीले म्याद थप गरी अभद्र व्यवहारको मुद्दा चलाउने तयारी गरेको छ । पत्रकार महासंघसंग आबद्ध पत्रकारको टोलीको एक डेलीगेशन गएपछि जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी रुगमबहादुर कुँवरले घटनाको सत्यतथ्य छानबीन गरी आरोपितलाई कानून बमोजिम कारवाही अघि बढाउने प्रतिबद्धता जनाएका थिए ।
यता पत्रकारसँग आबद्ध मधेशी पत्रकार समाज धनुषा, नेपाल पत्रकार महासंघ धनुषा, प्रेस युनियन र प्रेस चौतारी लगायतका संघ संस्थाहरुले घटनाको भत्र्सना गर्दै दोषीमाथि कडाभन्दा कडा कारवाहीसहित पत्रकाहरुको सुरक्षाको माग गरेका छन् ।



