रामईश्वर ठाकुर,
सीतापुर (महोत्तरी), २४ मङ्सिर ।

महोत्तरीको भङ्गाहा–५ सीतापुर बजारस्थित कुमारी बैंक शाखामा सेवाग्राहीको सास्ती छ । बैंक सेवा लिन पुग्ने सेवाग्राही कर्मचारीको बेवास्ता र हाकिमगिरीले काम नभइ घर फर्कन वाध्य छन् । भङ्गाहा नगर क्षेत्रमा एउटामात्र बैंक हुँदा सेवाग्राहीको चापसँगै कर्मचारीको हेपाहापन बढेको सेवाग्राही बताउँछन् ।

“बैंकमा आफन्तको रकम जम्मा गरी दिन एक घण्टा बढी लाइनमा बसे, एक घण्टापछि त बैंकका नगद जम्मा र भुक्तानी फाँटका कर्मचारीले हपारेर पठाए” मङ्गलबार सेवा लिन पुगेका एक सर्वसाधारणले गुनासो गर्दै भने, “हामी सोझासाझाको सुनवाइ नै हुँदैन ।” बैंकको यो शाखामा सेवाग्राही बैंक सेवाका लागि अन्त जाने ठाउँ नभएपछि कर्मचारीको मनमानी बढेको सेवाग्राही बताउँछन् ।

बैंकमा सर्वसाधारणले सास्ती पाएको गुनासो बढेपनि बैंक प्रशासन भने बेखबर देखिन्छ । बैंकका नगद जम्मा र भुक्तानी फाँटकै कर्मचारी विकासकुमार साहसँग सेवाग्राहीको गुनासोबारे जिज्ञासा राख्दा उहाँले ‘सबैको कामको ठेक्का हाम्रो हुँदैन’ भन्दै ठाडो जवाफ दिनुभयो ।

भङ्गाहा नगरक्षेत्रका नौ वडाभित्रका ५० जति टोलबस्ती छन् । यी सबैको बैंक सेवाको ठाउँ सीतापुर बजारस्थित कुमारी बैंक शाखा नै हो । बैंकस्थलबाट नगरका बस्तीहरु १५ किलोमिटरसम्मको दुरीका छन् । दैनिक श्रम गरेर जीवन यापन गर्ने श्रमिकले एउटै सामान्य कामले बैंकमा कैयन दिन धाउनु परेको गुनासो गरेका छन् ।

अब क्रमशः सामान्य लेनदेनदेखि सरकारी कामहरुमा पनि लिनेदिने प्रणाली बैंकबाटै गरिने चलन बढ्दै जाँदा बैंकको सेवाग्राहीप्रतिको बेवास्ताले सर्वसाधारणको हैरानी बढेको छ । बैंकको सेवालाई सेवाग्राहीमुखी बनाउँदै कर्मचारी विनम्र हुन पर्नेमा यहाँको व्यवहार हेपाहा बन्दै गएको तिर अनुगमनकारी यसै बैंकको निकाय , स्थानीयतह र स्थानीय प्रशासनले पहलकदमी लिइ दिन पर्ने सर्वसाधारणको माग छ ।


२०८२ मंसिर २४, बुधबार १२:४३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय