नेपालवाणी डटकम
जनकपुरधाम, माघ ।

मधेश प्रदेशको स्थायी राजधानी जनकपुरधाम १४ मुजेलिया स्थित प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा माघ ११ गते आईतवार दिनको ठीक ११ः२५ बज्दै थियो । ओपीडीमा चेकजाँचका लागि टिकट लिने तथा चेकजाँचको लागि मानिसको थोरै भीडभाड लागेको थियो । अस्पतालमा केही तल्लो तहका चिकित्सक बाहेक प्रमुख चिकित्सक थिएनन् । १० बजेदेखि डाक्टर कुरिरहेका बिरामी दिउँसो १ बजेसम्म कुरिरहे तर, चिकित्सक आइपुगेनन् । कविराज, एकजना वैद्य र केही करारका कर्मचारीहरु र कार्यालय सहयोगीको भरमा कार्यालय सञ्चालित थियो । तर कार्यालय प्रमुख डा. महारुद्र कुमार ठाकुर कार्यालयमा थिएनन् । उनको हाजिर भने १० बजे नै बनिसकेको थियो ।

यस्तै सोमवार दिनको ठीक १२ बजे पनि अवस्था उस्तै थियो । प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालयका प्रमुख डा. ठाकुरको हाजिर भएपनि उनी कार्यालयमा उपस्थित थिएनन् । मंगलवार दिनको १ बजेर ३० मिनेट जादा समेत कार्यालयमा उनको हाजिर भएको देखिए पनि उनी कार्यालयमा देखिएनन् । उनी दैनिकजसो सधै विहानको १० बजे आउने र हाजिर गरेर जाने तथा पुनः कार्यालय समाप्त हुने समयमा कार्यालयमा उपस्थित भएर हाजिर गर्ने उनको नियमित डियुटी हुने गरेको पाईएको छ ।

मधेशको प्रदेश स्तरीय कार्यालय प्रमुख डा. महारुद्र कुमार ठाकुर सरकारीमा हाजिर गरेर उनले जनकपुरधाम उप–महानगरपालिका ६ बाह्रविघा स्थित उनले सञ्चालन गरेको क्लिनिक जानकी अल्ट्रासाउण्ड एण्ड ईमेजिङ्ग सेन्टरमा बस्ने गरेको पाईएको छ । डा. ठाकुरले दैनिक रुपमै सरकारीमा हाजिर गरेर नीजि क्लिनिकमा डयूटी बजाएर तलव भत्ता पडकाउने गरेको प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालयका कर्मचारीहरुले नाम नबताउने शर्तमा बताए ।

कर्मचारीहरुलाई सोधपुछ गर्दा हाकिम साब दैनिकी रुपमा आउनु त हुन्छ, तर बस्नुहुन्न । विहान १० बजे देखि साढे १०–११ मा आउनुहुन्छ हाजिर गरेर विरामी भए १–२ विरामी हेरेर जानुहुन्छ, फेरी ३–४ बजे आउनुहुन्छ र हाजिर गरेर जानुहुन्छ आफ्नो क्लिनिकमा !’ उनी यतिमै रोकिएनन थप्दै भने, ‘सर ! मधेश प्रदेश सरकारको ८ जिल्लामा विगत दुईबर्ष देखि स्वर्णविन्दु प्राशन लगायतका धेरै कार्यक्रम सञ्चालनमा छ, तर हाम्रो कार्यालयमा बजेट आउँछ तर बजेट फ्रिज हुने गरेको छ । यसपालि पनि मधेश प्रदेश सरकारको रेडबुकमा उक्त कार्यक्रममा बजेट आएको छ, तर कार्यक्रम सञ्चालनमा छैन् । जबकी बाँकी ७ जिल्लामा कार्यक्रम द्रुत गतिमा सञ्चालन भैरहेको छ । संघ सरकारको नरदेवी आयुर्वेद चिकित्सालयमा दरबन्दी रहेका डा.महारुद्र कुमार ठाकुर प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, जनकपुरको प्रमुखको रुपमा जिम्मेवारी पाएको बिगत दुई बर्ष देखि कार्यालयको अन्य कार्यक्रमहरुको बजेट पनि फ्रिज हुदै आएको बुझ्नमा आएको छ ।

संघीय सरकारको कर्मचारी रहेका डा. महारुद्र कुमार ठाकुर यसअघि पनि जनकपुर आयुर्वेद औषधालयको प्रमुख हुँदा हाजिर गरेर नीजि क्लिनिकमा काम गरेको समाचाहरु प्रकाशन प्रसारण भएको थियो । ठाकुरको दरबन्दी नरदेवी आयुर्वेद चिकित्सालय, नरदेवी काठमाण्डौंमा रहेपनि पाँच–छौ वर्ष देखि उनी काजमा मधेशमा रहेका छन् । जबकी संघीय सरकारको कर्मचारी काजमा बढीमा तीन वर्ष मात्र बस्न पाउने प्रावधान छ । तर डा. ठाकुरले मधेश प्रदेश सरकारलाई रिझाएर पाँच वर्ष देखि मधेश प्रदेशमा आफ्नो जारो गाडेर बसेका छन् । जब कि प्रदेश अन्तर्गत रिक्त रहेको पद लोकसेवा आयोगद्वारा पदपुर्ति गर्ने कानुनी व्यवस्था रहेको छ । आफ्ना पत्नीको नाममा सञ्चालन गरेको इमेजिङ सेन्टरमा कार्यरत महारुद्र आयुर्वेद चिकित्सक हुन् । उनी रेडियोलोजी विषयमा एमडीसमेत उत्तीर्ण नगरेको र नेपाल मेडिकल काउन्सिलबाट इजाजत नै नलिई भिडियो एक्स–रेसम्बन्धी काम गरिरहेको जनकपुरधामका विभिन्न अल्ट्रासाउण्ड सेन्टरमा कार्यरत रेडियोलोजिस्टले आरोप लगाएका छन् ।


२०८२ माघ १८, आईतवार २०:२७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय