भूमिका उपाध्याय,
बर्दिबास, ११ मङ्सिर ।
महोत्तरीको बर्दिबास–२ स्थित जनता माध्यमिक विद्यालयले पूर्वविद्यार्थीको भेला आयोजना गरेको छ । विद्यालय व्यवस्थापन समिति, बर्दिबास नगरपालिका – २ नम्बर वडा समिति र विद्यालय प्रशासनले यही मङ्सिर १९ गते शनिबार पूर्वविद्यार्थी भेला आयोजना गरिएको शुक्रबार पत्रकार सम्मेलन आयोजना गरेर जानकारी दिएका हुन् ।
विगतमा विद्यालयमा अध्ययन गरी अहिले देश/विदेशका विभिन्न क्षेत्रमा कार्यरत अग्रज पुस्ताको अनुभव आदानप्रदान गराइ पुरानो मित्रवत सम्बन्धलाई नविकरण गरिनु यो भेलाको उद्देश्य रहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । पत्रकार सम्मेलनमा विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत् रहनुभएका बर्दिबास–२ का वडाध्यक्ष धीरेन्द्रकुमार सिंहले प्रारम्भिक शिक्षाको उज्यालो दिने आफ्नो पहिलो विद्यालयप्रति चासो र लगाव बढाउन पूर्वविद्यार्थीमा भेलाले सहयोग गर्ने अपेक्षा लिइएको बताउनुभयो । पूर्वविद्यार्थीबाट आर्जित सीप, ज्ञान र दक्षताले अहिले विद्यालयको शैक्षिक प्रगतिमा योगदान हुनसक्ने सम्भावनालाई भेलाबाट सहयोग पुग्ने विश्वास लिइएको सिंहको भनाइ छ ।
“म पनि यसै विद्यालयको पूर्वविद्यार्थी हुँ , कति साथी सम्झनामा छन् , कति विस्मृत भएका छन्” सिंहले भन्नुभयो, “भेलाले हामीलाई एकाकार गराउने र फेरि एकपटक आफ्नो प्रारम्भिक शिक्षाको थलो यो विद्यालयको हितप्रति दायित्ववोध गराउनु भेलाको मुख्य ध्येय हो ।”
पत्रकार सम्मेलनमा विद्यालयका प्रधानाध्यापक तोपबहादुर ज्यू ठकुरीले पूर्वविद्यार्थी भेला विद्यालयको शैक्षिक सुधारका लागि निर्माण गरिने भावी योजनाका लागि सुझाव प्राप्त गर्न एक अभूतपूर्व अवसर बन्ने अपेक्षा लिइएको बताउनुभयो ।
विक्रम सम्वत् २०१६ सालमा स्व. निरबहादुर हमालले स्थापना गर्नुभएको यो विद्यालयले माध्यमिक तहको पठनपाठन २०३७ सालदेखि सुरु गरेको देखिन्छ । विद्यालयबाट २०३९ सालमा पहिलो एसएलसी समूह सेन्टप भएको हो । भेलाले विद्यालयको सर्वाङ्गिण हितका लागि पूर्वविद्यार्थी समाज गठन गरेर संस्थागत पहलकदमी बढाइने अपेक्षा लिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
पूर्वविद्यार्थी भेलामा सरिक हुन विद्यालय प्रशासन, विद्यालय व्यवस्थापन समिति र बर्दिबास–२ वडा कार्यालयले सबै पूर्वविद्यार्थीसँग सार्वजनिक अनुरोध गरेको छ । “हामीले भेलामा सहभागिताका लागि पूर्वविद्यार्थीहरुलाई सार्वजनिक अपिल गरेका छौं , जो यस विद्यालयका पूर्वविद्यार्थी हुनुहुन्छ, यो भेलामा सहभागी भइदिनोस् भन्ने अनुरोध छ” विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सिंहको सबैसँग अपिल छ । भेलाका लागि व्यक्तिव्यक्तिलाई पत्राचार गर्न अहिले सम्भव नभएको हुँदा सबैसँग सविनय उपस्थितिका लागि सार्वजनिक अपिल गरिएको सिंहले स्पष्ट पार्नुभयो ।
भेला यही मङ्सिर १९ गते शनिबार बिहान ११ बजे विद्यालय परिसरमै आयोजना हुने विद्यालय प्रशासनले जनाएको छ ।




