वीरगन्ज : वीरगन्जमा ८ दिनअघि मृत्यु भइसकेका एक व्यक्तिमा कोरोना भाइरस संक्रमण देखिएको पुष्टि भएको छ । गत जेठ ४ गते वीरगन्जस्थित नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचारको क्रमममा मृत्यु भएका एक व्यक्तिको स्वाब परीक्षणको रिपोर्टमा कोरोना पोजिटिभ देखिएको हो । उनको दाहसंस्कार समेत गरिसकिएको छ ।
ती वृद्धको स्वाब परीक्षण गर्दा कोरोना पोजिटिभ आएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले जनाए । उपचारको क्रममा वृद्धको मृत्यु भइसकेको जानकारी नेसनल मेडिकल कलेजले आफूलाई जानकारी नगराएको डा. उपाध्यायले बताए । ‘शंकास्पद देखिएपछि स्वाब लिइएको व्यक्तिको मृत्यु भएको जानकारी हामीलाई गराइएको छैन,’ कान्तिपुरसँग फोनमा डा.उपाध्यायले भने, ‘रिपोर्ट नेगेटिभ नआउन्जेलसम्म प्रत्येक शंकास्पद व्यक्तिलाई हामीले पोजिटिभ नै मानेर व्यवहार गर्नुपर्ने हुन्छ । स्वाब परीक्षणको नतिजा नआइन्जेल शव दिनु हुँदैन्थ्यो ।’
जेठ २ गते करिब साढे एक बजेको समयमा ती वृद्ध मेडिकल कलेजको आकस्मिक कक्षमा भर्ना भएका थिए । श्वासप्रश्वास, निमोनिया, क्षयरोगलगायतले ग्रस्त भएका ती वृद्ध सिकिस्त भएपछि चिकित्सकले उनलाई आईसीयूमा भर्ना गरे ।
श्वासप्रश्वास र निमोनिया भएकाले नारायणी अस्पतालबाट भीटीएम मगाएर उनको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो । उपचारकै क्रममा दुई दिनपछि जेठ ४ मा ती वृद्धको मृत्यु भयो । तर, मेडिकल कलेजले ती वृद्धको स्वाब परीक्षण नतिजा नआउँदै शव परिवारको जिम्मा लगाएको थियो ।
नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालका निर्देशक बसरुद्दीन अन्सारीले जेठ २ मा संकलन गरी परीक्षणका लागि पठाइएको स्वाबको नतिजा १० दिनपछि आएको बताए । ‘ती वृद्ध एकदम सिकिस्त थिए, अस्पतालमा आउनेबित्तिकै भेन्टिलेटरमा राखिएको थियो,’ कान्तिपुरसँग फोनमा उनले भने, ‘जेठ ४ मा उनको मृत्यु भयो, यत्रो दिन शव कहाँ राख्ने ?’ नारायणी अस्पतालकै प्रयोगशालामा स्वाबको रिपोर्ट शंकास्पद आएको जानकारी पाएको भए आफूहरुले शव परिवारको जिम्मा नलगाउने उनले बताए । स्रोतका अनुसार नारायणी अस्पतालबाट ती वृद्धको स्वाब परीक्षणमा शंकास्पद नतिजा देखिएको खबर आउनुअघि नै शव परिवारको जिम्मा लगाइसकिएको थियो ।
नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.उपाध्यायका अनुसार २ गते मेडिकल कलेजबाट आएको ती वृद्धको स्वाब जेठ ४ गते नारायणीको प्रयोगशालामा परीक्षण गरिएको थियो । ‘त्यसदिन रिपोर्ट शंकास्पद आएपछि दोस्रो पटक जेठ ५ मा पनि परीक्षण गरिएका थियो,’ उपाध्यायले भने, ‘दुई पटकको परीक्षणमा रिपोर्ट शंकास्पद आएपछि त्यसलाई रि–कन्फर्म गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाएका थियौं ।
’ उनका अनुसार टेकुको प्रयोगशलामा समेत उक्त स्वाब दुई पटक परीक्षण गरिएको थियो । ‘राष्ट्रिय जनस्वास्थ्य प्रयोगशलामा दुई पटकको परीक्षणमा उक्त स्वाब कोभिड–१९ पोजिटिभ पुष्टि भएको जानकारी आएको छ,’ डा. उपाध्यायले भने ।