
काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप ५७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ६० हजार ४०० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबारको तथ्यांकअनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ४० हजार ६८१ रहेको छ ।
यसअघि सोमबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५९ हजार ८३० थियो । पछिल्लो २४ घण्टामा थप ३१६८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख १८ हजार ८४३ पुगेको छ ।
उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। यसअघि सोमबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख १५ हजार६७५ रहेको थियो ।
नेपालमा पछिल्लो २४ घण्टामा थप १४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ८७६ पुगेको छ ।