कमलेश ठाकुर 

जनकपुरधाम :  शनिवार भगवान राम र माता सीताको विवाह भएको सम्झनामा जनकपुरधाममा प्रतीकात्मक रुपमा विवाहपञ्चमी मनाइएको छ । त्रेता युगमा मंसिर शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको रामायणमा उल्लेख छ । मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा विशेष समारोहबीच भगवान राम र सीताको विवाह विधिपूर्वक सम्पन्न गरियो। कोरोना भाइरसको महामारीले जनकपुरधाममा विगतका वर्षहरू जस्तो उल्लास यसवर्ष देखिएन ।

गोस्वामी तुलसी दासले रामायणमा वणर्न गरे अनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेको छन्। रामायणमा उल्लेख भए अनुसार त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखिएको शिव धनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीन टुक्रा पारेको बताइन्छ । शिव धनुषलाई भाँचेपछि मार्गशीर्ष शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह सम्पन्न भएको धार्मिक ग्रन्थमा उल्लेख छ ।

रामायणअनुसार जनकपुरधामको रङ्गभूमिमा आयोजना गरिएको स्वयंवरमा ५६ कोटी देवीदेवताको उपस्थिति रहेको विश्वास गरिन्छ । सीतालाई छोरी-बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता सशरीर नभए पनि अदृश्य रूपमा हुने विश्वासले हर्षोल्लासका साथ प्रतिछाया जन्तीको आगमनदेखि विहेसम्ममा सहभागी हुन्छन्। महोत्सव मनाउने क्रममा मिथिलाको संस्कृतिअनुसार नगर दर्शन, मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह विधि सम्पन्न भएको छ ।

पौराणिक मान्यताअनुरूप राम मन्दिरबाट बाजागाजा, झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेष रूपमा निर्मित डोला सिंहासनमा राखी रङ्गभूमिमा पुर्‍यायो। त्यस्तै जानकी मन्दिरबाट सीतालाई विशेष सुसज्जित डोलामा राखी रङ्गभूमिमा लगियो। रङ्गभूमिमा स्वयंवर विधि, परीक्षणको वैवाहिक विधि सम्पन्न भएपछि सीता-रामलाई जानकी मन्दिरमा लगेपछि मिथिला संस्कृतिअनुसार विवाह सम्पन्न भयो। यस अवसरमा निस्केको भगवान राम-सीताको डोला शोभायात्रामा हजारौं भक्तजन, श्रद्धालु सहभागी भएका थिए । शोभा यात्राले नगर परिक्रमा गरेपछि घण्टौंसम्म सडक जाम भएको थियो। टुडे एक्सप्रेस दैनिकले यो खबर प्रकाशन गरेको छ ।

२०७७ पुष ५, आईतवार ०८:१४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय