विराटनगर । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी सांसद विष्णु तुम्बाहाङ्फेले प्रदेश १ मा ४६ प्रतिशतभन्दा धेरै आदिवासी जनजाति रहेको तर उनीहरूको भाषा संरक्षण गर्न सरकारले ४६ रुपैयाँ पनि नछुट्याएको बताएकी छन् ।
प्रदेशसभाको बुधबारको बैठकको विशेष समयमा उनले भनिन्, “हाम्रो प्रदेशलाई बहुजातीय प्रदेश भनिन्छ । आदिवासी जनजाति ४६ प्रतिशतभन्दा बढी छन् तर उनीहरूको भाषालिपि संरक्षणका लागि सरकार ४६ रुपैयाँ पनि छुट्याउँदैन ।” उनले तेह्रथुममा डोजर आतंक चलाइएको भन्दै जेठ २६ गते पाँचथरको फेदाप २ मा चिहान (समाधीस्थल) भत्काइएको भन्दै त्यसको पुनर्निर्माणको गर्न मागसमेत गरिन्
“आदिवासी याक्थुम लिम्बूहरूको चिहान नै मन्दिर हो । हिन्दु मन्दिर भत्काएजस्तै हो । भौतिक शरीर मरेर गए पनि जीवितआत्मा चिहानघर नै हो भन्ने मान्यता छ,” सांसद तुम्बाहाङ्फेले भनिन्, “बसपार्क बनाउन समाधीस्थल भत्काउनु संविधानविपरीतको काम हो । समुदायको संस्कृति र सम्यताको संरक्षण अनि संवर्द्धन गर्ने भनिएको छ । सम्मानित अदालतले समेत संरक्षित क्षेत्र नहटाउनु भन्ने आदेश भएको छ । कुनै पनि जाति समुदायको मानव सभ्यता जोगाउनुको साटो तोड्ने कार्य भएको छ ।” उनले बसपार्क नै आवश्यक भएको भए थुप्रै डाँडापाखा रहेकाले अन्यत्रै छनोट गरेर निर्माण गर्न आग्रह गरिन् ।
नेकपाका सांसद वसन्तकुमार बानियाँले प्रदेश सरकारले कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको तर अहिले कृषकले मल नपाएर हैरानी भएको बताए । “बाली लगाउने बेलामा मल छैन । यस्तो अवस्थाको अन्त्य गरियोस् । कागजमा लेखेर उत्पादन बढ्दैन,” उनले भने । उनले बजेटको अन्तिम कार्यान्वयन हुने बेलामा पूर्वाधारका क्षेत्रमा जनताले दुःख पाएको बताए । कमिसन प्रतिशत नपाए बजेटै पास नगर्ने परिपाटी रहेको भन्दै उनले त्यस्ता कर्मचारीलाई कारबाही गर्न माग गरे ।
बाल शिक्षक र विद्यालयका शिक्षक न्यूनतम तलबमा काम गरिरहेकाले उनीहरूको समस्या सम्बोधन गर्न माग गरे । तराई विषालु सर्पको टोकाइबाट मृत्यु हुने क्रम गर्मीमा बढ्ने गरेको र झापा पनि यसबाट प्रभावित हुने गरेकाले कचनकवलमा सर्पदंश उपचार केन्द्र स्थापना गर्न ध्यानाकर्षण गरे ।
नेकपा मोहनकुमार खड्काले भारत र तेस्रो देशबाट घर फर्कनेलाई व्यवस्थित गर्ने काम भइरहेको तर होल्डिङ सेन्टरले व्यवस्थित नगर्दा गाउँ–गाउँसम्म संक्रमण पुग्ने भय रहेको बताए । “२ नम्बर प्रदेशको होल्डिङ सेन्टरबाट जिल्ला पठाइँदा बेवारिसे नपठाइयोस् । ओखलढुंगा पठाउँदा घुर्मी पठाइयोस् । आफन्तले लगेको हुँदाले अरू सम्पर्कमा रहेकाहरूको पनि परीक्षण गर्नुपर्ने भएको छ,” उनले भने, “तेस्रो देशबाट आउने काठमाडौंबाट सोझै चतरा ल्याइन्छ । काठमाडौंबाट तीन–चार घण्टामा सोलु, ओखलढुंगा र खोटाङ पुग्न सकिन्छ । ती क्षेत्रका सम्बन्धित क्वारेन्टिनमै पठाइयोस् । हर्कपुरसम्म प्रशासनले भारतबाट आउनेलाई होल्डिङ सेन्टरसम्म लगियोस् । चतरा ल्याएपछि न गाडी पाउने न आफन्तको सम्पर्क हुनेले समस्या भएको छ ।”
नेकपाका सर्वध्वज साँवा लिम्बू देशमा कोरोनाका कारण विभिन्न क्षेत्रमा तनाव सिर्जना भएको बताए । उनले भने, “पछिल्लो समयमा हामी हामीबीचै लडाइँ हुन थालेको छ । नपढेको फी (शुल्क) पर्दैन र घर भाडा तिर्न पर्दैन भन्दै सरकारले भनिदियो अहिले स्थानीय र विद्यालय सञ्चालकबीच झगडा भएको छ ।” उनले स्पष्ट कार्यक्रम बनाएर मात्र यस्ता घोषणा गर्न सरकारलाई सुझाए ।