भूमिका उपाध्याय,
बर्दिबास, १८ कात्तिक ।
महोत्तरीको बर्दिबासमा युवा तथा किशोरकिशोरीले वालविवाहविरुद्धको सचेतना अभियानलाई सङ्गठित रुपमा अघि बढाउँदै छन् । मधेशकै सामाजिक समस्याका रुपमा रहेको बालविवाहविरुद्ध बर्दिबासका युवाले आज मङ्गलबार बर्दिबासको भोलावसन्तचोकमा सडक नाटक प्रस्तुत गरेका हुन् ।
‘युथ फर चेञ्ज’ सामाजिक संस्थामा आबद्ध युवाले ‘सेभ द चिल्ड्रेन’ को सिफ्ट अभियानको सहयोगमा बालविवाहविरुद्धको सचेतना अभियान बढाउँदैछन् । यसै अभियानअन्तर्गत आज सचेतनामूलक सडक नाटक प्रदर्शन गरेका हुन् ।
प्रदर्शित नाटकले बालविवाह सामाजिक र कानुनी रुपमा अपराध रहेको विषय रोचक ढङ्गले प्रस्तुत गरेका दर्शकको प्रतिकृया छ । मङ्गलबार साँझ सयौं दर्शकमाझ कलाकारहरुले बालविवाहले निम्त्याउने कानुनी सङ्कट, बालबालिकाको स्वास्थ्य र शारीरिक समस्या र यसले पार्ने सामाजिक समस्याको विषय रोचक ढङ्गले पस्केका जनता माध्यमिक विद्यालय बर्दिबास–२ को कक्षा १२ की छात्रा कृति महतोले बताउनुभयो । “नाटकको विषय वस्तुले मन छोयो, अब म पनि आफ्नो वरीपरी बालविवाहविरुद्ध अभियान चलाउँछु ।”

बालविवाहविरुद्धको अभियानमा जुटेका ‘युथ फर चेञ्ज’ का युवाले सडक नाटकको अतिरिक्त विभिन्न रचनात्मक कार्यक्रम सञ्चालन गर्दै आएका छन् । आफूहरुको यो अभियानमा सरिकताले समाजका लागि केहीनकेही सकारात्मक योगदान दिएको अनुभूति मिल्ने गरेको ‘युथ फर चेञ्ज’ मा आबद्ध प्रतिमा पौडेलको भनाइ छ ।
युवाहरुको यो अभियानले खासगरी मधेशमा रहेको बालविवाहको अवस्था न्यूनिकरणमा सहयोग पुग्ने मधेश प्रदेशसभाका सदस्य शारदादेवी थापाको भनाइ छ । थापाले युवाको यो अभियानमा समाजका सबैपक्षको सहयोगका लागि अपिल पनि गर्नुभयो ।

‘युथ फर चेञ्ज’ ले बालविवाहविरुद्ध सचेतना अभियानकै क्रममा भोलि बुधबार साइकल र्याली आयोजना गरेको छ । आज नाटक प्रदर्शनका क्रममा पाएको साथसहयोगजस्तै साइकल र्यालीमा पनि समाजका सबैपक्षको सहभागिताका लागि अभियानका संयोजक मनिश चौधरीले अनुरोध गर्नुभएको छ ।




