काठमाडौं : नेपालमा कोरोना भाइरसको संक्रमणबाट हालसम्म ४२ जनाको मृत्यु भएको छ । मृतकमध्ये अधिकांश दीर्घरोगी र बढी उमेर समुहका छन् । तर, यस वर्ष कोरोना भाइरसबाट भन्दा बाढी पहिरोबाट दोब्बरभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।
स्वास्थ्य मन्त्रालयको आजको तथ्यांक सम्म हेर्दा ४२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । जुन बाढी पहिरोबाट मृत्यु हुने संख्या भन्दा आधाभन्दा कम हो । गृह मन्त्रालयका अनुसार ३० जेठमा मनसुन शुरु भएयता एक सय १४ जनाको बाढी पहिरोबाट मृत्यु भएको छ । ४८ जना वेपत्ता छन् । वैशाख देखि गणना गर्ने हो भने बाढी पहिरोबाट एक सय १९ जनाको मृत्यु भइसकेको छ । ४९ जना वेपत्ता छन् ।
मानवीय क्षतिका दृष्टिले कोरोनाभन्दा बाढीपहिरोबाट बढी क्षति भएको छ । तर, कोरोना रोथामका लागि झण्डै चार महिना लकडाउन गर्दा खरबौं नोक्शान भएको छ । लकडाउनलाई कतिपयले उपयोगी नभएको भनेका छन् । नेपाली काँग्रेसले लकडाउनको उपलब्धि सुन्य भनेको छ ।