वीरगन्ज : वीरगन्जमा थप २ कोरोना संक्रमितको मृत्यु भएको छ । नारायणी अस्थायी कोरोना अस्पतालका संयोजक डा. उदयनारायण सिंहले वीरगञ्जमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको पुष्टि गरेका हुन् ।

नारायणी अस्थायी कोरोना अस्पतालमा ६ दिनदेखि उपचाररत ६८ वर्षीय कोरोना संक्रमितको बुधबार उपचारका क्रममा मृत्यु भएको उनले बताए । अर्का एक जना ६० वर्षीय पुरुषको नेशनल मेडिकल कलेजमा उपचारका क्रममा हिजो मृत्यु भएकोमा उनको आज मात्र कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको डा. सिंहले जानकारी दिए ।

‘मिर्गौला पीडित रहेका उनी हिजो मात्रै अस्पतालमा भर्ना भएका थिए, हिजो नै उपचारका क्रममा उनको मृत्यु भएको हो , डा. सिंहले खबरहबसँग भने, ‘उनको हिजै स्वाब संकलन गरी कोरोना परीक्षण गरिएकोमा आज रिपोर्ट पोजेटिभ आएको हो ।’ कोरोनाले मृत्यु भएका ६८ वर्षीय पुरुष वीरगन्ज महानगरपालिका–७ रेशमकोठी निवासी हुन् । उनको आज बिहान मृत्यु भएको डा. सिंहले बताए ।

वीरगन्जको एड्भान्स मेडिकेयर हस्पिटलमा उपचारका लागि भर्ना भएका उनी मुटु रोगी रहेको र स्वासप्रश्‍वासमा समस्या देखिएपछि स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना देखिएको थियो । कोरोना पोजिटिभ देखिएपछि गत साउन ८ मा एड्भान्स मेडिकेयरबाट कोरोना अस्पताल रेफर गरिएको थियो ।

अस्पतालले थप २ जनाको कोरोनाले मृत्यु भएको पुष्टि गरेसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ५१ पुगेको छ ।स्वास्थ्य मन्त्रालयले भने उनीहरु दुबै जनाको कोरोनाका कारण मृत्यु भएको पुष्टि गर्न बाँकी छ ।

२०७७ श्रावण १४, बुधबार २१:११मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय