जनकपुरधामः उत्कृष्ठ मेडिकल कलेजको रुपमा छनोट गरिएको केही वर्ष नबित्दै जानकी मेडिकल कलेजमा संकटको बादल छाएको छ । कर्मचारीलाई तलव खुवाउन र नियमित पठन-पाठन तथा परिक्षा सञ्चालन गर्न नसकेपछि मेडिकल कलेज धाराशाही भएको छ ।
त्रिबिसंग सम्बन्धन लिएर सञ्चालित मेडिकल कलेजले कर्मचारीलाई ६ महिना देखि तलव खुवाउन सकेको छैन् । तलव र ६ वर्षको सञ्चय कोष र दशैं खर्च रकम माग्दै एक महिना देखि आन्दोलनमा छन् । मागको वेवास्ता पछि आन्दोलित कर्मचारीहरु आमरण अनसनमा बसेका छन् ।
समयमा तलव दिन नसकेको जानकी मेडिकल कलेजका कर्मचारीको निरन्तर आन्दोलनले पटक-पटक परिक्षा समेत स्थगित भएको छ । जानकी मेडिकल कलेज तथा शिक्षण अस्पतालको निरन्तर आन्दोलनले कलेजको भविष्यमाथि प्रश्न चिन्ह उठेको छ । विगत ६ वर्षको सञ्चयकोष र ६ महिना देखिको तलव नपाएको भन्दै डेढ महिनादेखि १ सय १५ आन्दोनरत छन् ।

रकम अभावले कष्टकर जीवन यापन गर्न बाध्य भएको छौं, कर्मचारी हकहित संरक्षण संघर्ष समितिका अध्यक्ष उमेश यादवले भने, ‘सञ्चालकले कलेज र अस्पतालबाट भएको आम्दानी व्यक्तिगत व्यवसायमा लागनी गर्छ, हामीलाई भने काम गरेको तलवको लागि महिनौ कुराउँछ, त्यो पनि आन्दोलन दबाब नदिएसम्म दिन मान्दैन् ।’ कर्मचारी र चिकित्सकले पाउनुपर्ने तलव, सुविधा र सञ्चय कोषको रकम १ अर्ब हुन लाग्दा पनि सञ्चालकले कलेजलाई व्यक्तिगत व्यवसायको श्रोत बनाएको कर्मचारीको आरोप छ ।

यसरी छायो संकटको बादल
२०७५ सम्म चार वर्षमा पाँच पटक सञ्चालक फेरेको धनुषा स्थित जानकी मेडिकल कलेजको अवस्था दयनीय छ । वर्षैपिच्छे सञ्चालक समिति फेरिने विकृतीले कलेजको पठनपाठन स्तरहिन हुनुको साथै शिक्षण अस्पतालको बेथितिले कलेजमा विद्यार्थी भर्ना हुन नमानेको त्यहाँका कर्मचारीहरु बताउँछन् । अन्य मेडिकल कलेजमा निर्धारित समय अगावै तोकिएको कोटा पूरा हुन्छ, तर यहाँ विद्यार्थी भर्नाका लागि पटक-पटक म्याद थप्दा पनि कक्षाकोठा रित्तै हुन्छ ।

‘केहीवर्ष अघिसम्म तोकिएको भन्दा बढी शुल्क तिरेर पनि एमबिबिएस गर्न आउने विद्यार्थीको चाप थामिनसक्नु हुन्थ्यो’ कलेजको प्रशासन फाँटका एक कर्मचारीले अन्नपूणर्संग भने, ‘केही वर्षदेखि घटाएर उपलब्ध कोटामा समेत विद्यार्थीको दरखास्त आइपुगेन ।’ खस्किरहेको कलेजको स्तर सुधार्न कयौं सञ्चालक समिति फेरियो तर, जति पटक सञ्चालक फेरियो त्यति नै कलेज व्यवस्थापन जर्जर हुँदै गयो ।
‘चार वर्ष अगाडिसम्म तोकिएको भन्दा बढी शुल्क तिरेर पनि यहाँ एमबिबिएस गर्न आउने विद्यार्थीको चाप थामिनसक्नु हुन्थ्यो । यस वर्ष उपलब्ध कोटा बमोजिम पनि विद्यार्थीको दरखास्त आइपुगेन ।’

वि.सं. २०६० मा जनकपुरका डा. रामानन्दन सिन्हाको नेतृत्वमा सञ्चालन गरिएको कलेजमा पठनपाठन नभएको भन्दै विद्यार्थीले सामूहिक रुपमै सञ्चालक विरुद्ध ठगी मुद्दा दायर गरे । कलेजले अग्रिम शुल्क लिएर शर्तबमोजिम विद्यार्थीलाई पठनपाठन गराउन नसकेपछि उनीहरु महिनौ सम्म आन्दोन गरे । अन्त्यमा सञ्चालक समितिका सदस्यलाई स्थानीय प्रशासनले थुनेर विद्यार्थीलाई क्षतिपूर्ति उपलब्ध गराएको थियो ।
ठगी मुद्दामा मुख्य नाइकेको आरोपमा जिल्ला प्रहरी कार्यालयको थुनामै बसेर कारबाही भोगेका तत्कालीन कलेजका प्रबन्ध निर्देशक उपेन्द्र प्रसाद (ओपी) पाण्डे चार वर्षपछि फेरि फर्किए । ठगी मुद्दापछि तत्कालीन अवस्थामा ५० प्रतिशत शेयर बेचेर कलेजबाट बाहिरिएका उनी अहिले सिंगो कलेज आफ्नै नाउँमा फर्काएका छन् ।

तलव भत्ता दिन नसक्दा कर्मचारी आन्दोलनको चपेटमा परेका तत्कालीन सञ्चालक हरिमान लामाले एक वर्ष नपुग्दै कलेज बेच्यो । सिन्हाको मृत्युपछि उपेन्द्र प्रसाद (ओपि) पाण्डेले कलेजलाई पहिलेको भन्दा उत्कृष्ट ढंगले सञ्चालन गर्न आफु फर्केर आएको जिकिर गरे । स्थापना कालदेखि कलेजमा रहेको ५० प्रतिशत शेयर विश्वासकै भरमा उधारो बेचेको बताउने पाण्डेले अहिले पूरै कलेज आफ्नो नाउँमा ल्याएको छ ।
वक्यौता तलब, सञ्चय कोष सहित शिक्षण अस्पतालको स्तर सुधारका लागि आन्दोलनको अगुवाइ गरिरहेका संघर्ष समितिका सदस्य कुलदिप साहले पाण्डेको पुनर्आगमनले कलेज व्यवस्थापनमा सुधारकोे विश्वास व्यर्थ गएको छ । ‘सञ्चालक समितिमा को आए र को गए भन्दा पनि जेएमसी हरेक दृष्टिकोणले स्तरीय हुनुपर्ने हाम्रो धारणा हो’ उनले भने, ‘हाम्रो जेएमसी, राम्रो जेएमसी नाराको साथ अघि बढेका हामीले सञ्चालकको राम्रो साथ पाएनौं । मुलुककै नमूना कलेज बनाउने अठोट अधुरो छ ।’

‘सुरुवाती चरणमा कलेजको पहिचान निकै राम्रो बन्यो । बीचमा प्राविधिक समस्याको कारण धरापमा परेकै हो,’ पाण्डेले भने, ‘कर्मचारीसंग भएको सम्झौता चाँडै कार्यान्वयन गर्ने बताउदै ‘कोभिडले विद्यार्थीबाट शुल्क उठन नसक्दा कर्मचारीको केही महिनाको तलब बाँकी छ । यो अस्पताल भित्रको आपसी कुरा हो ।’ ‘पठन-पाठन हुनेबित्तिकै विद्यार्थीबाट शुल्क उठाएर कर्मचारीको हरहिसाब तिरिदिन्छौं ।’

 

२०७७ कार्तिक २३, आईतवार ०९:२५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय