जनकपुरधाम:  संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयबाट उपसचिव धर्मानन्द जोशी धनुषाको जनकपुरधाम उप-महानगरपालिका सरुवा भए । जोशी एक महिना नपुग्दै मेयर लालकिशोर साह र उनी बीच बिवाद सुरु भयो । दुई महिना नहुँदै उनी त्यहाँबाट सरुवा गराएर जान चाहे । यसको जानकारी संघीय मन्त्रालयलाई गराएर सरुवा भई प्रदेश नं. ३ पुगे । उनी भन्छन, ‘मेयर साबले कानून बाहिर गएर काम गर्न दबाब दिनुभयो । र म कानून बाहिर जान चाहिन, त्यसैले म त्यहाँ धेरै समय टिक्न सकिन् ।’

जनकपुर उप-महानगरपालिकाका मेयर साहले कानून बाहिर गई निजी सुरक्षाकर्मी, उनको छोरा, भान्जा, नजिकका नेता कार्यकर्ताले होटेलमा खर्च गरेको बिल फछर्यौट गर्न दबाब दिएको गुनासो पोख्छन् । उनले भने, ‘मेयर साहबले चढ्ने गाडी दुर्घटनामा परेपछि मेरै गाडी चढनु सम्म त ठीकै थियो, तर मलाई नै चढनबाट बञ्चित गर्नु तथा कानून विपरित काम गर्न बारम्बारको दबाब थेग्न नसकेर सरुवा गराए ।’
सो अघि गत फाल्गुन महिनामा उप-महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएर हाजिर भएकी सिता परियारले पनि मानसिक दबाब खेप्न नसकी ६ महिना नवित्दै सरुवा गराए । मेयरले चढ्ने गरेको गाडी दुर्घटनामा परेर क्याच्याक कुचुक्क हुँदा मर्मत सम्भारमा लाग्ने ४० लाख खर्चको पेश्की रकम निकाल्ने विषयमा कार्यकक्षमै घम्साघम्सी भएको थियो । नगरपालिकाका एक उच्चस्थ कर्मचारीले भने, ‘अवैद्यानिक तवरले रकम निकासा गर्ने विषयमा मेयर र हाकिम साब बीच चर्काचर्की भएको थियो, सोही बखत हाकीम साबले मेयरको कोठाबाट निस्कदै ढोकामा लाति हान्दै रकम निकासा नगर्ने अडि कसेर काठमाण्डौं गएपनि पुनः फर्किएर आएनन् ।’

पछिल्लो तीन महिना देखि उप-महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत विहीन छन् । पछिल्लो पटक उद्योग मन्त्रालयबाट सरुवा भएर आएका उप-सचिव विनोद कुमार खड्का हाजिर भएका छैनन् । उनको सरुवाको दुई महिना पूगेपनि नगर प्रमुखसँग हुने मतभेदले उपमहानगरमा कोही पनि कर्मचारी टिक्ने गरेका छैनन् । यसअघिका प्रमुख प्रशासकीय अधिकृत गोपाल प्रसाद रेग्मी मुश्किलले तीन महिना बसे । अषाढ मसान्त सकिए लगत्तै विदामा गएका उनी फर्किएर कार्यालयमा हाजिर भएनन् । रेग्मी श्रावणमा सरुवा गराएर गइसकेपछि उप-महानगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर नहुँदै सरुवा गराए ।

मेयरको हठी स्वभाव र क्षुद्र व्यवहारले आएका कर्मचारी महिना दिनपनि टिक्दैनन् । एक कर्मचारीले भने, ‘यहाँ कर्मचारीलाई टिक्नै गाह्रो छ, मेयरले भनेको जसले मान्छ, उ टिक्न सक्छ, जसले मान्दैन उ यहाँबाट सजिलै सरुवा गराएर वा मेयरले नै सोर्स फोर्स लाएर सरुवा गराईदिन्छ ।’

जनकपुरधाम उप-महानगरकी उपप्रमुख रिता कुमारी मिश्रले सरुवा भएर आएका प्रमुख प्रशासकिय अधिकृत हाजिरै नभई सरुवा भएको स्विकारिन । उनले भनिन्, ‘सरुवा भएर प्रमुख प्रशासकीय अधिकृत आएको मैले जानकारी पाएँ तर उहाँसंग मेरो भेट पनि भएको छैन, फेरी सरुवा भएर गईसकेको भनेर सुने ।’ खडका स्थानीय सरकार गठन भएको ३ वर्षमा १२ औँ प्रशासकिय अधिकृतको रुपमा आउन लागेका थिए तर उनी हाजिर नहुँदै सरुवा गराईसकेको श्रोतको दाबी छ । रोचक त के भने, कोही पनि ६ महिना बढी टिकेनन् ।
उप-महानगरपालिकाको चुनाव ताका बद्रि सुवेदीपछि क्रमशः मदन घिमिरे, उमेश ढुंगाना, प्रदिप साह, सीता परियार, धर्मानन्द जोशी, मिहिलाल यादव, उमेश बस्नेत (हाजिर नभएको) गोपाल प्रसाद रेग्मी र अहिले आएर विनोद कुमार खडका हाजिर नभएरै सरुवा गराएका छन् । हाललाई पुनः शिक्षाका उपसचिव मेहिलाल यादवलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिई कामकाज भैरहेको छ ।
नगर प्रमुख साहले प्रशासनिक काममा गर्ने हस्तक्षेप, गैर कानुनी भुक्तानीका लागि दिने दबाव तथा दुव्र्यबहारको घटना सुन्ने बितिक्कै कर्मचारीहरु आउन नमान्ने र आएपनि कार्यालय प्रमुख बस्न नमान्ने वडा नं. ४ का अध्यक्ष सुदर्शन सिंहको भनाई छ ।


२०७७ कार्तिक २६, बुधबार १३:२८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय