जनकपुरधाम : तात्कालिन भारतीय ब्रिटिश सरकारद्वारा नेपालमा काठ ढुवानीका लागि संचालन गरिएको रेल सेवाले दुई देश बीचको सामाजिक सद्भावको प्रमुख केन्द्र विन्दुको रुपमा मानिएको छ ।पछिल्लो दशकसम्म संचालनमा रहेका जयनगर—जनकपुर रेल सेवाबाट भारत नेपालका सीमावर्ती क्षेत्रमा मैत्रीपुर्ण वातावरणका साथसाथै सामाजिक सद्भावमा समेत अहम् भूमिका निर्वाह गर्दै आएको थियो ।

तर रेल सेवा बन्द भएपछि त्यसमा कमी देखिएको छ ।नेपालको एकमात्र रेलवे सेवाको रुपमा पहिचान बोकेका जयनगर जनकपुर रेल सेवा बन्द हुँदा भारतीय पर्यटकमा कमीका आउनुका साथै स्थानीयवासीको ओहोर दोहोरमा समेत असर परेको छ । रेल संचालनका बेला सीमावर्ती क्षेत्र मात्र होइन अन्य धनुषा सहित अन्य जिल्लावासी समेत सामान किनमेल गर्न आउने जाने गथ्र्यो ।

तर रेल बन्द भएपछि सडक मार्ग एक मात्र विकल्प हुँदा दुवैतर्फको आवागमनमा कमी आएको छ ।हुनत नेपालमा व्यवसायिक प्रयोजनका लागि वि.सं. १९८३ रक्सौल अमलेखगंज रेल सेवा संचालन भएको थियो । तर त्यो बढी समय चलन सकेन त्यसपछि वि.सं. १९९४ मा भारतको ब्रिटिश सरकारले काठ ढुवानी गर्ने उद्देश्यले सीमावर्ती क्षेत्र जयनगर—जनकपुर— बिजलपुरा रेल संचालन गरियो ।काठ ढुवानीको लागि संचालन गरिएको त्यो रेल सेवा सममयान्तर अनुसार परिवर्तन हुँदै मानिसको ओहोर दोहर गर्ने माध्यम नै बन्यो ।

जुन बेला नेपालका तराई क्षेत्रमा सडक मार्गको विकास हुन सकेको थिएन, त्यस बेला रेलमार्ग नै एकमात्र विकल्प थियो ।मानिस ढुवानी मात्र होइन तेश्रो मुलुकबाट आयात हुने सामाग्री समेत भारतीय बन्दरगाहबाट जयनगर हुँदै नेपालका विभिन्न क्षेत्रमा ल्याउने गरिन्थ्यो । जसले नेपालको अर्थतन्त्र र उद्योग व्यवसायलाई धान्ने पुलको काम गर्ने गरेको थियो ।जनकपुरधाम सहित तराई मधेशका विभिन्न जिल्लामा हुने उत्सव समारोहमा श्रद्धालु भक्तजन सहितका पर्यटकहरु समेत सोही रेलमार्ग हुँदै आउने गथ्र्यो ।

नेपालको तराई मधेश र भारतका सीमावर्ती क्षेत्रमा एकै मूलका मानिसहरु बसोबास गर्ने गरेको कारण आवात जावतले गर्दा सामाजिक सद्भाव संगै सांस्कृतिक एकरुपता समेत झल्किने गथ्र्यो ।नेपाल भारतबीच भौगोलिक समीप्यता भएकाले हावापानीको पनि समानता छ, एकअर्काको देशमा जान–आउन भिसाको आवश्यकता छैनस धर्म, संस्कृति, रहनसहन, रीतिरिवाज, आर्थिक–सामाजिक परिवेश, देवीदेवता लगायत अधिकांश कुरामा समानताले समाजिक सद्भाव बढेको हो ।नेपाल भारतबीच बेटीरोटीको सम्बन्ध भएको कारण दुवै देशका नागरिकबीच बिहेवारी र धार्मिक अनुष्ठान सहितका कार्यक्रम आयोजना हुने भएको कारण नेपालबाट भारत र भारतबाट नेपाल आवात गर्न रेलमार्गमा नै प्रयोग गरिन्थ्यो ।समय परिवेश अनुसार सडक मार्गको समेत विस्तार हुँदै गएपछि यो सम्बन्धमा प्रगाढता झन थपिदै गयो । तर रेल सेवा करीब ७ वर्षअघि बन्द भएपछि यसमा निकै कमी आएको छ । जनकपुर जयनगर रेल सेवा अहिले नेपाल रेलवेमा परिणत भइसकेको छ, तर अवस्थामा कुनै सुधार आएको छैन ।वि.सं. २०६८ मा रेल सेवा धारासायी हुँदै गएपछि पुनः भारत सरकारद्वारा नेरोगेजमा रहेको रेललाई ब्रोडगेजमा परिणत गर्ने कार्य गरियो ।

भारत सरकारको ७ सय करोडको लगानीमा जनकपुरदेखि बर्दिबाससम्म तीन चरणमा रेलसेवा विस्तारको कार्य भइरहेको छ ।जसमध्ये पहिलो चरणको जयनगर—जनकपुरधाम (कुर्था) सम्मको ३५ किलोमीटरको रेल लिंकदेखि पुर्वाधारसम्मको कार्य सम्पन्न भई भारतबाटै किनिएका दुई वटा रेलको परिक्षण समेत भइसकेको छ । तर संचालन कहिलेदेखि हुने व्यवस्थापन पुरा हुन नसक्दा अन्यौल भएको छ ।हुनत भारतको सहयोगमा नेपालका विभिन्न स्थानमा रेलमार्ग निर्माणको कार्य जारी रहेको छ । जसले नेपाल भारतको नागरिक नागरिकबीचको सम्बन्ध सहित आर्थिक विकासमा कोशेढुंगा साबित हुनेछ । निर्माणाधीन पूर्व–पश्चिम रेलमार्ग अन्तर्राष्ट्रिय रेलवे सञ्जालसम्म पु¥याउने लक्ष्य अन्तर्गत जनकपुर–जयनगर निर्माण भइसकेको छ । सुक्खा बन्दगाह विरगंजदेखि काठमाडौसम्मको विद्यूतिय रेलमार्गको सम्झौता भई निर्माण चरणमा रहेको छ ।पूर्वपश्चिम विद्युतीय रेलमार्ग पूरा भएको अवस्थामा २५० किमि प्रतिघण्टाको दरमा दौडने स्यान्डर्डगेज हुने र सडक यातायातबाट एक दिन लाग्ने यात्रा चार घण्टामै तय गर्न सकिन्छ ।

आवतजावत र ढुवानी छिटो हुन्छ ।पूर्व–पश्चिम रेलमार्ग बनाउन २०६७ साउनमै भारतीय कम्पनी राइट कन्सल्यान्ट्सले सम्भाव्यता अध्ययन गरेको थियो । यो सम्भाव्यता अध्ययनबाट नेपालमा रेल सम्भावना देखिएकाले नै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय गौरवको आयोजनाको सूचीमा यो आयोजनालाई दर्ज गराएका हुन् ।भारतले नेपाललाई अन्य मुलुकसँग रेलमार्ग मार्फत जोड्नका लागि पाँचवटा क्रस–बोर्डर रेलमार्ग निर्माण अघि बढाएको छ ।

भारतले उपलब्ध गराएको क्रस बोर्डर रेल जनकपुर–जयनगर, विराटनगर–जोगबनी, भैरहवा–नौतनवा, काँकडभिट्टा–जलपायुगुडी र नेपालगन्ज–रुपैडिया हो । यी सबै रुट भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भइरहेको नेपाल रेलवे विभागले जनाएको छ ।नेपालको यो रेलमार्गलाई ट्रान्स एसिया रेल वे नेटवर्कका २६ वटा देशसँग जोड्न सकिने विभागका रेलवे विभागको भनाई छ । उनका अनुसार यो रेलवे लाइनमा सिंगापुर, मलेसिया, थाइल्यान्ड, बर्मा, बंगलादेश, भारत र नेपाल आउँछन्। नेपालको पूर्वीभाग काँकडभिट्टाबाट नेपाल प्रवेश गर्ने यो रेलमार्ग पश्चिमबाट पुनः भारत हुँदै जान्छ । यही रेलमार्गको रुटले पाकिस्तान, आफगानिस्तान, इरान हुँदै टर्कीबाट युरोपसम्म पुग्नेछ ।

२०७७ माघ १७, शनिबार १४:०३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय