
सुनसरी : केन्द्रीय सशस्त्र प्रहरी परिवार महिला संघ र प्रदेश नम्बर १ स्थित सशस्त्र प्रहरी परिवार महिला संघको आयोजनामा सुनसरीको हरिनगर- ६ घुस्कीस्थित कस्मिया मदरसामा दुई दिने निःशुल्क स्वास्थ्य शिविर संचालन भएको छ ।
नेपाल एपीएफ अस्पताल बलम्बु काठमाडौं र सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४ गण सुनसरीको सहयोगमा माघ २९ र ३० गते सो शिविर संचालन भएको हो ।
एपीएफ अस्पतालबाट खटिएकी सशस्त्र प्रहरी उपरीक्षक डा. मिना कुँवर जोशीको कमाण्डमा रहेका २२ जना स्वास्थ्यकर्मीबाट जेनेरल फिजिसियन, नाक, कान, घाँटी, आँखा र स्त्री तथा प्रशुती रोग सम्बन्धी स्वास्थ्य जाँच गरिएको थियो ।
उक्त शिविरमा १ सय ८६ जना पुरुष र ३ सय २८ जना महिला गरी ५ सय १४ जनाको स्वास्थ्य जाँच गर्नुको साथै निःशुल्क रुपमा औषधी वितरण गरिएको महिला संघले जनाएको छ ।
कार्यक्रममा हरिनगर गाँउपालिका अध्यक्ष गफार अन्सारी, सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारीहरु, सशस्त्र प्रहरी बल, नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीका बाहिनीपति बंशीराज दाहाल, एपीएफ अधिकृत तथा जवान लगायत स्थानीय भद्रभलादमीहरुको उपस्थिति रहेको थियो ।
केन्द्रीय सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष सरिता कणेल खनालले उक्त स्वास्थ्य शिविरको माघ २९ गते उद्घाटन गरेकी थिइन ।