
जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सबै नेपाली नागरिकले स्वतन्त्रताको अनुभूति गर्न पाउनुपर्ने बताएका छन् ।
७१ औं प्रजातन्त्र दिवसको अवसरमा आज मधेस भवनमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘यो मुलुक सबैका लागि हो, सबैले स्वतन्त्रताको अनुभूति गर्न पाउनुपर्छ । आफ्नो शासन आफैं गर्न पाउनुपर्छ । कसैमाथि थिचोमिचो हुनु हुँदैन ।’
मुख्यमन्त्री राउतले वर्तमान संविधानमा रहेका केहि त्रुटीलाई सच्याएर सबै नागरिकलाई सम्मान अधिकारको प्रत्याभुति गराउनुपर्ने पनि बताए ।
संविधानमा मतभेद रहेकै बेला देशमा अहिले सिर्जना भएको परिस्थितिले लोकतन्त्र, गणतन्त्र, संघीयता लगायतका उपलब्धी प्राप्त गर्न बलिदान दिने योद्धाहरु र उनका परिवारहरु चिन्तित बनाएको मुख्यमन्त्रीको भनाई छ ।
संसद विघटनप्रति लक्षित गर्दै मुख्यमन्त्री राउतले भने, ‘अहिले सबैको ध्यान सर्वोच्च अदालततिर छ । सम्मानित अदालतले नेपाली जनतालाई अहिलेको असहजता परिस्थित र भुमरीबाट निकास दिने विश्वास छ ।’
विशेष समारोह अघि प्रजातन्त्र दिवसको अवसरमा जनकपुरको जनकचोकबाट प्रभातफेरी निकालिएको थियो । तर त्यसमा प्रजा अर्थात् जनता भने सहभागी देखिएन । प्रदेश सरकारले नै गरको प्रभातफेरिमा मन्त्रीहरु पनि थिएनन् । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी मात्र प्रभातफेरीमा सहभागी भएका थिए ।
जनकचोकबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रभातफेरी पुगेपछिसभामा परिणत भएको थियो । सभामा प्रदेश प्रमुख तिलक परियार र मन्त्रीहरु सहभागी थिए ।