बर्दिबास (महाेत्तरी), ३१ असार ।

साउने बाेलबम मेला नजिकिदै गर्दा महाेत्तरीका शिवालय रङ्गराेगन गरेर झकिझकाउ बनाइँदै छन् । शिव भक्ति र आराधनाको महिना साउन लाग्न केही दिन बाँकी छँदैदेखि यहाँका शिवालय परिसर सरसफाइ र रङ्गराेगन गर्दै झकिझकाउ बनाइँदैछन् ।

यसपालि साउन साैरमास गणनाले पर्सि शुक्रबार सुरु हुँदैछ । चन्द्रमास गणनाले भदाै १२ गते साउने पूर्णिमासँगै साउन सकिने छ ।
साउने मेलाका लागि अहिले जिल्लाकाे बर्दिबास-५ काे चुरेकाछकाे पाहाडी थुम्कामा अवस्थित टुटेश्वरनाथ महादेव मन्दिर परिसर सरसफाइ र रङ्गराेगनले चम्केकाे छ ।

मधेशकाे कैलास र नेपालकाे बाबाधाम उपनामले चिनिने याे शिवालय परिसरमा एक महिने मेला (धार्मिक जात्रा) का लागि धमाधम पसल राखिने ‘स्टल’ बनाइएका छन् । मन्दिर रहेकाे पाहाडी थुम्कादेखि फेदीसम्मका सिढीहरु , रुख बुट्यान र ढुङ्गासमेत् कलात्मक तवरले रङ्ग्याइँदा शिवालय र यसकाे परिसर अत्यन्त मनाेरम देखिएकाे दर्शककाे प्रतिकृया छ । ‘आहा ! गर्दा त हुँदाे रहेछ नि !’ मन्दिर परिसर पुग्नुभएका सिरहाकाे क

र्जन्हाका गाेविन्द काफ्लेले भन्नुभयाे, ‘मन्दिर परिसरमा गरिएका कामले यहाँकाे परिवेश नै रमाइलाे बनेकाे छ ।’
साैरमास र चन्द्रमास गणनाले साउनभरि लाग्ने मेला यसपालि भदाै १२ गते साउन पूर्णिमासम्म रहने टुटेश्वरनाथ महादेव मन्दिर संरक्षण समितिका अध्यक्ष राजाराम यादव बताउनुहुन्छ ।

टुटेश्वरनाथमा वर्षभरि नै श्रद्धालुकाे आउजाउ भइरहेपनि साउनभरि , महाशिवरात्री र बालाचतुर्दशी यहाँका विशेष मेलाका अवसर हुन् । यहाँ साउनमा मात्रै २० लाख श्रद्धालुले दर्शन गर्ने गरेका पुजारी सिरी रायकाे भनाइ छ । साउनकाे पनि साेमबारचाहिँ ठूलाे मेला लाग्ने गरेकाे उहाँले बताउनुभयाे । याे शिवालय त्रेता युगदेखि नै रहेकाे विश्वास गरिन्छ । त्रेता युगमा विदेहराज शिरध्वज जनकका भाइ कुशध्वजकी छाेरी माण्डवी सखीहरुसाथ विहार गर्न यहाँ आउने गरेकी यहाँका बासिन्दा बताउँछन् । माण्डवीले नुहाउनेहुँदा नदीकाे नाम नै माण्डवीगङ्गा रहेकाे बर्दिबास-५ का वडाध्यक्ष काहारमान स्याङ्वा बताउनुहुन्छ ।
पछि पूर्वपश्चिम राजमार्ग बन्नेबेला बाेलीचालीबाटै नदीकाे नाम ‘मडहा’ बनेकाे पाका व्यक्ति सम्झन्छन् ।

यसैगरी द्वापर युगमा पाण्डव वनबासमा रहेका अर्जुनले शिवकाे तपस्या गरेका र यहीं किरात रुप शिवकाे दर्शन पाएर पाशुपतास्त्र प्राप्त गरेका कथा बुढापाका बताउँछन् ।

प्राचीन महत्व बाेकेकाे याे शिवालयसँगै जाेडेर चुरेकाछ र पर्वत श्रेणीका धेरै ठाउँ पर्यटकीय सम्भावनाका रहेका नेपाल हाेटल तथा पर्यटन व्यवसायी सङ्घ महाेत्तरीका अध्यक्ष गुञ्जबहादुर कार्कीकाे भनाइ छ ।


‘टुटेश्वरधामसँगै चुरे पाहाडी शृङ्खलाका बर्दिबास नगरक्षेत्रका थुप्रै ठाउँ पर्यटकीय सम्भावना बाेकेका छन्’ कार्की भन्नुहुन्छ, ‘भइरहेका पाैराणिक, ऐेतिहासिक , पुरातात्विक र साँस्कृतिक महत्वकाे परिचयलाई हामीले व्यवस्थित प्रचारमा जाेड्न सकेका छैनाै, यसकाे मुख्य संयाेजन स्थानीयतहले गर्नुपर्छ ।’ बर्दिबासका चुरे क्षेत्रका टुटेश्वरनाथ, पञ्चधुरा माइस्थान, राईमण्डलधाम, चनाैटेडाँडा, साेलीघाेप्टेडाँडा, बेसारेडाँडा, इन्द्रेश्वरधाम, कालापानी उद्यान, गिद्धबास र पाषाण युगकालीन हतियार कारखाना र कैयाै वनभाेजस्थल अति महत्वका पर्यटकीय गन्तव्य रहेका उहाँकाे भनाइ छ ।


अहिले साउने मेलाकाे तयारीमा टुटेश्वरनाथ महादेव मन्दिर संरक्षण समितिले कामलाई व्यवस्थित रुपले अघि बढाएकाे छ । अहिलेकाे समितिकाे कामले ‘मधेशकाे कैलास’ टुटेश्वरनाथबारे सबैतिरबाट चासाे बढ्ने टुटेश्वरबासीकाे आस छ ।
साउने मेला व्यवस्थित गरिन सुरक्षा प्रबन्धका लागि सुरक्षा निकायसँग समन्वय भइरहेकाे समितिले जनाएकाे छ । यसपालि टाढाटाढाका श्रद्धालुले साउने मेलामा सहभागिता जनाउने खबर दिइरहेका समितिका अध्यक्ष यादवले बताउनुभयाे ।

 

 

 


२०८३ असार ३१, बुधबार १८:५५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय