महोत्तरी : भारत बिहारको सीतामढीमा भेटिएका महोत्तरीको भंगहा नगरपालिका ८ धर्मपुरका सातजना किशोरीलाई परिवारको जिम्मा लगाइएको छ ।

महोत्तरी प्रहरीले बुधबार राति साढे १० बजे जलेश्वर ल्याएर उनीहरुलाई परिवारजनको जिम्मा लगाएको प्रदेश २ प्रहरी प्रमुख डिआइजी धीरजप्रताप सिंहले जानकारी दिए ।

बुधबार बिहान सीतामढीमा फेला परेका उनीहरुलाई भारतीय प्रहरीको सहयोगमा उद्धार गरिएको थियो । उनीहरुलाई प्रक्रिया पूरा गरी भारतीय प्रहरीले नेपाल प्रहरीलाई राति साढे ९ बजे जिम्मा लगाएको थियो । त्यसपछि उनीहरुलाई परिवारलाई जिम्मा लगाउने सहमति भएको थियो।

यद्यपी दोषी पत्ता लगाउन घटनाको अनुसन्धानमा तथा थप सोधपुछको लागि बालिकाहरूलाई राति राखेर आज बिहीबार परिवारजनसँग घर पठाइएको छ ।

भँगाहा नगरपालिका ८ धर्मपुराकी ११ वर्षीया अर्चना पासवान, १२ वर्षीया सिमा पासवान, १२ वर्षीया रञ्जना पासवान, १३ वर्षीया ज्योती पासवान, १३ वर्षीया रिया पासवान, १७ वर्षीया नगीना पासवान र २० वर्षीया अस्मिता पासवान मंगलबार दिउँसो घाँस लिन गएको बेलादेखि बेपत्ता भएकी थिइन् ।

सीतामढी प्रहरीले उद्धार गरेपछि किशोरीहरुले आफुहरु गायिका बन्न हिडेको बयान दिएका थिए । यसले उनीहरुलाई बाहिर लग्नमा कसैको संलग्नता भएको हुन सक्ने आशंका गरिएको छ । मंगलबार अबेर साँझसम्म घर नफर्केपछि घरपरिवारमा रुवाबासी भएको थियो भने गाउँले त्रसित भएका थिए ।

२०७७ चैत्र १९, बिहीबार १३:१८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय