धरान : कोरोनाको महामारीबीच सुनसरीको धरान उपमहानगरपालिकामा अवैध रुपमा खोला उत्खनन् गरेर नदीजन्य पदार्थ ढुङ्गा, गिटी र बालुवा निकासी गर्न सुरु गरिएको छ। धरान उपमहानगरपालिकाको नियम विपरित यहाँको सेउती, सर्दु र शेहरा खोालामा ठेक्का लगाएर अवैध उत्खनन गरेर नदीजन्य पदार्थको निकासी सुरु गरिएको छ।

लकडाउनको मौका छोपी धरान उपमहानगरले खोला उत्खनन गर्ने ठेक्का लगाए पश्चात ठेकेदारले तोकिए भन्दा बढी खोला उत्खनन गरेर नदीजन्य पदार्थको तस्करी गरेका छन्। वनजङ्गल मासिने र बस्तीलाई असर गर्ने गरी खोलामा स्काभेटर प्रयोग गर्न सरकारले प्रतिबन्ध लगाएको भए पनी राष्ट्रपति चुरे संरक्षण क्षेत्रमा पर्ने सेउती, सर्दु र शेहरा खोलामा दर्जनौ स्काभेटर प्रयोग गरी नदीजन्य पदार्थको उत्खनन थालिएको छ।

सरकारले सर्वसाधारणलाई घरबाट बाहिर निस्कन र सवारी साधन पूर्ण रुपमा संचालन गर्न प्रतिबन्ध लगाएको अवस्थामा खोलाको ठेक्का पाएका बराहक्षेत्रका अर्जुनसिंह भण्डारी र इटहरीका भीम पौडेलले ३ सय भन्दा बढी कामदार, एक दर्जन स्काभेटर र एक सय भन्दा बढी टिपरमा नदीजन्य पदार्थको निकासी गरिरहेका छन्। प्राकृतिक विपत्तिसँगै खोला उत्खननमा भएको भीडभाडले कोरोनाको जोखिम बढेको धरान उपमहानगरपालिकाका १८ का वडाअध्यक्ष प्रविण राईले बताए। उनले बिना सवारी पासका सवारीसाधन र सयौंको संख्यामा कामदार भेला गरेर गरिएको खोला उत्खनन तत्काल बन्द गर्न माग गरेका छन्।

धरान उपमहानगरपालिकाले ५ करोड रुपैयाँमा धरानको शेहरा खोलाको दुई मिटर गहिराई र सर्दु र सेउतीको डेड मिटर गहिराईमा खोला उत्खनन गर्न ठेक्का लगाएको कर अधिकृत खगेन्द्र खतिवडाले बताएका छन्। तर, ठेकेदार भीम पौडेल र अर्जुनसिंह भण्डारीले ठेक्का सम्झौता भन्दा बढी ४ मिटरसम्म खोला उत्खनन गरी नदीजन्य पदार्थको तस्करी गरिएको धरान ६ का भुपाल राईले बताएका छन्। उनले धरानका खोला वर्षेनी ठेक्का लगाई नदीजन्य पदार्थको उत्खनन गरिए पनि खोला नियन्त्रणको काम भने नगरिएको बताए।

सरकारले सार्वजनिकस्थलहरु बाटो, पुल, वन जङ्गल क्षेत्रको पाँच सय मिटर वरपर खोला उत्खनन गर्न प्रतिबन्ध लगाएको भए पनी धरान उपमहानगरपालिकाका मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारीले नियम विपरित खोला उत्खननको ठेक्का लगाएको धरान उपमहानगरपालिका ५ का वडाअध्यक्ष सन्तोष लिम्बुले बताए।

धरानका दर्जनौ सुकुम्वासी बस्तीलाई जोखिम पुर्याउने गरी खोला उत्खननको ठेक्का लगाउदा वर्षातको समयमा सयौँ सकुम्वासी सर्वसाधारणका घर बाढीले बगाउने गरेको उनको आरोप छ।

उपमहानगरपालिकाले अवैध रुपमा खोला ठेक्का लगाएको भन्दै बुधवार धरान ५ का वडा अध्यक्ष सन्तोष लिम्बु र धरान १८ का वडाअध्यक्ष प्रविण राईको नेतृत्वमा गएका स्थानिय बासिन्दाले सेउती खोलामा उत्खनन बन्द गराएका थिए। तर, ठेकेदार भण्डारी र पौडेलले प्रहरी बोलाएर पुनः खोला उत्खनन सुरु गरेका छन्।

इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले सेउती र शेहरा खोलामा दुई पक्षबीच झडप भयो भनेपछि शान्ति सुरक्षाका लागि खोलामा प्रहरी परिचालन गरेको बताए। धरान उपमहानगरपालिकाका मेयर तिलक राईले नियम अनुसार नै खोलामा नदीजन्य पदार्थको उत्खनन गर्न ठेक्का लगाइएको बताए। उनले सम्झौता विपरित ठेकेदारले खोला उत्खनन बढी गरिएको पाइएको ठेकेदारलाई दण्ड जरिवाना र अन्य कारवाही गर्ने प्रतिबद्धता जनाएका छन्। अन्नपुर्णपोष्टबाट

२०७८ जेष्ठ १२, बुधबार १९:४९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय